पितृ तार्न कागबेनीमा श्रद्धालुको भीड – फोटो फिचर

सुशील बाबु थकाली
असाेज २७, २०८०
kagbenidham (1)

मुस्ताङ । कागबेनीधाम शनिबार श्रद्धालु भक्तजनले भरिभराउ रह्यो । सोह्रश्राद्ध अवसर पारेर शुक्रबार नै मुस्ताङ प्रवेश गरेका श्रद्धालु भक्तजनको घुइँचोले कागबेनीधाममा शनिबार भ्याइनभ्याइ भयो । वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी धाममा सोह्रश्राद्धको अवसर पारेर धार्मिक पूजापाठसँगै पितृहरुको लागि पिण्ड तर्पण गरिन्छ । वर्षको अन्तिम महिना चैतेदसै र दसैको अगावै औंसीको दिनमा हुने सोह्रश्राद्ध विशेषगरी हिन्दु धर्मावलम्बीहरुको विशेष दिन हो ।

दामोदर कुण्ड र मुक्तिनाथबाट बगेर आएको पवित्र २ नदीको संगममा रहेको कागबेनीधाममा यतिबेला देशैभरबाट पितृहरुको सम्झनामा पिण्ड तर्पण र पूजाआजा गर्ने गरिन्छ । गत साल कागबेनी धाममा सोह्रश्राद्धको दिन यति धेरै भिडभाड थिएन । यसपटक भने हजारौंको संख्यामा धर्मावलम्बीले पूजाआजका साथै पिण्ड दिएको कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिले बताएको छ ।

‘यति धेरै भीडभाड हुन्छ होला भनेर हामीले कल्पना पनि गरेका थिएनौं,’ कागबेनी मन्दिर तथा श्राद्ध स्थल व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी गुरुङले भने । उनका अनुसार यो भीडले अझ सशक्त भएर कागबेनी धामको पुनर्निर्माणमा लाग्न प्रेरित गरेको छ ।

बाढीले क्षतिग्रस्त कागबेनीमा पोहोरभन्दा यसपालि श्रद्धालुको भीड

गत २८ साउनमा कागबेनीमा गएको भीषण बाढीका कारण सोह्र श्राद्धको बेला व्यवस्थापनमा सकस भए पनि समिति लगातार खटिएको गुरुङले बताए । सारा विश्वले चिनेको चर्चित धार्मिक तथा पर्यटकीय स्थल कागबेनीमा यतिबेला धर्मावलम्बीलाई बस्न र खानको समस्या देखिए पनि समितिले कुनै समस्या हुन नदिएको अध्यक्ष गुरुङले बताए ।

कागबेनीको प्रवेशद्वारदेखि श्राद्धस्थलसम्म चारपाङ्ग्रे गाडी र श्रद्धालु भक्तजनहरुको भीड र धार्मिक आस्थाले सरोकारवाला निकायलाई झक्झकाएको देखिन्छ । समग्र मुस्ताङको पहिचान र पर्यटनको हिसाबले महत्वपूर्ण मानिएको कागबेनीमा यति चाँडै धार्मिक पर्यटकले भरिन्छ भनेर कसैले पनि कल्पनासम्म गरेका थिएनन् ।

गत १९ भदौमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र १७ असोजमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायतको टोलीले कागबेनीको बाढीग्रस्त क्षेत्रको स्थलगत अनुगमन गरिसकेको अवस्था छ । तर, अहिलेको वर्तमान अवस्थामा कागबेनीलाई पुनर्निर्माण मात्रै नभै यसको लागि चाँडोभन्दा चाँडो उचित व्यवस्थापनमा संघ र प्रदेश सरकारले ध्यान दिन जरुरी रहेको अध्यक्ष गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width