पोखरामा बालन नाच

आदर्श समाज सम्वाददाता
भाद्र २२, २०८०
balan nach

पोखरा । संकटमा रहेको बालन नाच संरक्षण गर्ने उद्देश्यले पोखरामा श्रीकृष्ण लीला (बालन नाच) देखाइएको छ । भजन चुड्का संरक्षण प्रतिष्ठानको आयोजनामा पोखरा सभागृहमा भएको कार्यक्रममा बालन नाच कला प्रतिष्ठानका ६० जना कलाकारले प्रस्तुति राखेको आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद गौतमले बताए ।

प्रवेश निशुल्क रहेको यो कार्यक्रम हेर्न उल्लेख्य संख्यामा दर्शक सभागृह हलमा पुगेका थिए । भगवान् कृष्णको जन्मदेखि राक्षस कंशको अन्त्यसम्मको कथा कार्यक्रममा प्रस्तुत गर्दा दर्शकले श्रीकृष्ण लीलाबारे नजिकबाट बुझ्न पाएको आयोजकको दाबी छ । यसले नयाँ पुस्तामा संस्कृति हस्तान्तरण सहयोग मिल्ने आयोजकले जनायो ।

बालन हेर्न गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडादेखि प्रदेश सभा सदस्य प्रकाश बराल, गण्डकी प्रज्ञा प्रतिष्ठान सदस्यसचिव मनकुमार श्रेष्ठ, पोखरा प्रज्ञा प्रतिष्ठानका कावा कुलपति जीवन दाहाल, विश्व हिन्दु परिषद केन्द्रीय महासचिव जितेन्द्रसिंह समेतले धर्म संस्कृतिको संरक्षणमा कार्यक्रमले योगदान दिएको भन्दै कार्यक्रमको प्रशंसा गरे ।

कार्यक्रममा अग्रज गायिका सत्यदेवी बराललाई सम्मान समेत गरियो । कार्यक्रम संयोजक किरण दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कृष्णप्रसाद गौतमले गरेका थिए ।

कार्यक्रमलाई गण्डकी प्रज्ञा–प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानले सहयोग गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width