क्रिकेटमा नेपाल च्याम्पियन, एशिया कपमा प्रवेश

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०८०
nepali cricket

पोखरा । नेपालले एसिसी प्रिमियर कपको उपाधि जित्दै एशिया कपमा पनि स्थान बनाउन सफल भएको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार युएईलाई ७ विकेटले हराउँदै नेपालले एसिसी प्रिमियर कपको उपाधि जितेको हो ।

११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्न सफल भयो । नेपालको जितमा गुल्शन झाले अविजित ६७ रन बनाउँदा भीम सार्की ३६ रनमा नटआउट रहे ।

युएईले अघिल्लो दिन २७.३ ओभरमा १०६ रन जोडेकोमा वर्षाले खेल रोकिएको थियो । उसले थप ११ रनबाहेक अन्य रन जोड्न सकेन । खराब मौषमका कारण सोमबार २ पटकसम्म खेल रोकिएको थियो ।  मंगलबार यूएई ३३.१ ओभरमा अलआउट भएको थियो।

कसिलो बलिङ गर्दै यूएईलाई दबाबमा राखेको नेपाल ब्याटिङ गर्दा आफू पनि दबाबमा प‍रेको थियो । ओसिलो पिचमा घरेलु टिमले दोस्रो ओभरमै ओपनर कुशल भुर्तेललाई गुमाएको थियो।

एक रन जोडेका कुशललाई रोहन मुस्ताफाले एलीबीडब्लु धरापमा पारेका थिए। सातौ ओभरको पहिलो बलमा नेपालका अर्का ओपनर आशिफ शेख आउट भए। आयान अफ्जल खानको बलमा एलबीडब्लू आउट हुनुअघि आशिफले १० बलमा ८ रन बनाएका थिए।

कप्तान रोहित पौडेल एक रनमै समेटिएपछि फेरि अप्ठ्यारोमा प‍रेको थियो । मुस्ताफाको धरिलो बलिङले निरन्तरता पाएपछि नेपाल सम्हालिन सकिरहेको थिएन ।

१० ओभरको समाप्तिमा नेपाल २४.३ को स्थितिमा थियो तर तेस्रो नम्बरमा ब्याटिङ गर्न पुगेका गुल्शनले विस्तारै इनिङ्स सम्हाले । भीमले उनलाई साथ दिएपछि नेपालको विजय उन्मुख भएको हो ।

नेपालको जितसँगै समर्थकहरुले विजय उत्सव मनाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width