कांग्रेस पोखरा महानगरका संस्थापक सभापति रेग्मीको स्मृति ग्रन्थ लोकार्पण

आदर्श समाज सम्वाददाता
माघ ९, २०७९
keshav raj regmi

पोखरा । नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले समितिका संस्थापक सभापति केशवराज रेग्मीको चौंथो पुण्यस्मृतिमा स्मृति ग्रन्थ लोकार्पण एवं सम्मान समारोह आयोजना गर्‍यो ।

समारोहमा केशवराज स्मृति प्रतिष्ठानद्वारा प्रकाशित ‘केशवराज रेग्मी स्मृति ग्रन्थ’ लोकार्पण गरियो । प्रजातन्त्र सेनानी भोजराज भण्डारीले सो स्मृति ग्रन्थको लोकार्पण गरेका थिए । स्मृति ग्रन्थमा ३९ जनाबाट लेखिएका नेपाली कांग्रेससम्बद्ध नेता तथा प्रजातन्त्र प्राप्तिका लागि केशवराज रेग्मीसँगै भद्र अवज्ञा आन्दोलन, पहिलो आम निर्वाचन, राजा महेन्द्रको निरंकुश कदमविरुद्ध मुकाविला गरिएका संस्मरणहरू रहेको छ । स्व. रेग्मीको योगदानबारे तत्कालीन नगर सचिव राजेन्द्रनिधि कोइरालाले प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रेस स्वन्त्रता सेनानी नारायण कार्कीलाई केशवराज स्मृति पुरस्कारबाट सम्मान गरिएको थियो । प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशि २५ हजार र सम्मानपत्र रहेको छ । स्व. केशवराजकी धर्मपत्नी हरिमाया रेग्मी र कमला रेग्मीले सो पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा पूर्व मन्त्री यज्ञबहादुर थापा, नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बराल, निवर्तमान सभापति कृष्ण केसी, क्षेत्र नम्बर १ का सभापति राजेन्द्रमणि लामिछाने, पोखरा २ का वडाध्यक्ष दिवसमान प्रधान, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, साहित्यकार तारा पाखे लगायतले मन्तव्य राखेका थिए ।

नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिका सभापति सुरेन्द्रमान बिजुक्छेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कमला रेग्मी र संचालन नगर समितिका सचिव गणेशबहादुर थापाले गरेका थिए । कार्यक्रम संयोजन प्रतिष्ठानका सचिव हेमराज रेग्मी र महानगरका प्रवक्ता धनञ्जय पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width