पोखरा । नयाँ संरचनाको राज्य व्यवस्थाले पहिलो कार्यकाल लगभग पूरा गरेको छ । संघीय संरचनाकै कारण बनेको प्रदेश सरकार र प्रदेशसभामा समानुपातिक प्रतिनिधित्व बढेको छ । तर ५ वर्षको कार्यकाल बिताएर फर्कँदै गर्दा निर्णायक तहमा भूमिका नभएको गुनासो महिला सांसदहरुले गरेका छन् । पार्टीको ह्वीपबाट आफूहरु स्वतन्त्र हुन नसकेकोमा सबै जना चिन्तित छन् । त्यसमाथि आफूहरु संसदमै रहँदा पनि महिला अधिकारका मुद्दामा आवाज उठाउन नसकेको र आफ्नै भूमिका खोस्न नसकेको उनीहरुले बताए ।
गण्डकी प्रदेशसभा उपसभामुख सिर्जना शर्मासँग हिजो संसदमा छिर्दाको जस्तो उत्साह निस्किँदा छैन । पद सम्मानित भए पनि भूमिकाविहीन रहेको उनको अनुभव छ । ‘उपसभामुख भनेको सभामुख नभएको बेला सभामुखको काम गर्ने हो । सभामुख बिरामी भए, राजीनामा दिए वा दिसापिसाब लागेमात्रै उपसभामुखको पालो आउने रहेछ,’ उनले भनिन्, ‘मैले प्रार्थना गरेको त होइन, तर सभामुख बिरामी हुनुभयो र मात्रै मैले संसद चलाउन पाएँ । तैपनि विधेयक प्रमाणीकरण गर्ने अधिकार उपसभामुखलाई दिइएको छैन । यो संशोधन हुनैपर्छ ।’
महिलालाई उपसभामुखमात्रै सीमित गर्दा हुने पीडाबोध पुरुषले पनि गर्नुपर्ने र त्यसका लागि अब महिलालाई सभामुख र पुरुषलाई उपसभामुख बनाउनुपर्ने उनको तर्क छ । कानुन निर्माण तहमा आफूहरु भए पनि अहिले स्थानीय तहको निर्वाचनमा महिला उपस्थिति दयनीय भएकोमा उनको दुखेसो छ । ‘महिलाको उपस्थिति वडा सदस्यमा मात्रै सीमित भयो । तोकिएको क्लस्टरबाट महिलालाई माथि उठ्न दिइएन । हुँदाहुँदा अहिले त गठबन्धनका कारण उपप्रमुख पनि पुरुषले हडपेका छन्,’ उनले भनिन्, ‘अब गठबन्धन भए पनि प्रमुख र उपप्रमुख फरक लिङ्गको हुनैपर्ने व्यवस्था संविधानमा लेखिनुपर्छ । संविधानमा किटान नहुँदासम्म महिलाले अधिकार नपाउने भए ।’
प्रदेश सांसद मीना गुरुङले आफूहरु सांसद भएर संसदमा आवाज उठाउँदा समेत आफूहरुले उठाएका विषयको सम्बोधन नभएको गुनासो गरिन् । ‘जनताका आवाज निरन्तर उठायौं । मन्त्रीहरुले कतिपय कुराका जवाफ पनि दिएनन्,’ उनले भनिन्, ‘विधान बनाउन आएका हामी परम्परागत धारणाहरु अझै चिर्न सकेनौं । दलको ह्वीपबाट उकासिन सकेनौं ।’
अर्की सांसद मित्रकुमारी गुरुङ सुवेदीले समानुपातिक र प्रत्यक्ष सांसदबीच नै विभेद रहेको बताएकी छिन् । ‘आफ्नो दलभित्रैबाट प्रत्यक्ष र समानुपातिक सांसदबीचको विभेद ब्यहोर्नुपर्यो । प्रत्यक्ष निर्वाचित भएर आएकाहरु छुट्टै ग्रहबाट आएको जस्तो गर्छन्,’ उनले भनिन्, ‘यो ५ वर्ष मुन्टो लुकाइलुकाइ बित्यो । सरकारले गलत गर्दा पनि पार्टीले कारबाही गर्ने डरले आवाज उठाउन सकेनौं । महिला सांसदहरु पनि एकताबद्ध हुन सकेनन्, त्यसैले पाउनुपर्ने धेरै अधिकार त्यसै खेर गयो ।’ उनले विधेयकमाथि आफूहरुले कहिलै छलफल गर्न नपाएको गुनासो गरेकी छिन् ।
नयाँ एजेन्डामा बहस चलाउनुपर्नेमा जोड
सांसद ललितकला गुरुङले महिलाको ३३ प्रतिशत सहभागीता सुनिश्चित गरिए पनि सरकार र कार्यकारी तहमा त्यसको कार्यान्वयन हुन नसकेको बताइन् । ‘गएको दिनको पछुतो र आउने दिनको आश गरेरै अहिलेसम्म बित्यो । ३३ प्रतिशतका मुद्दा उठाएर हामी यहाँ आयौं तर सरकारमा ३३ प्रतिशत पुग्न सकेन,’ उनले भनिन्, ‘हामी सबैसँग दलको काँडेतार छ । मनमा लागेको कुरा पनि बोल्न पाइँदैन । अब महिलाको उपस्थितिका लागि बाध्यकारी व्यवस्था ल्याउनैपर्छ ।’ गएको ५ वर्ष अनुभव संगालेरै बितेको उनको भनाइ छ ।
अर्की सांसद प्रभा कोइराला पनि पार्टीको सिन्डिकेट तोडेर महिलाहरु बाहिर आउन नसकेको बताउँछिन् । ‘हामी सांसद भए पनि स्वतन्त्र हुन सकेका छैनौं । पार्टीका एजेन्डा बोल्नुपर्छ नत्र कारबाही हुन्छ भन्ने डर भैरह्यो,’ उनी भन्छिन्, ‘सांसद भएर पनि बोल्न नपाउने हो भने मेरो स्वतन्त्रता खै ? अवसर पाउन पनि नेता र पार्टी सकारात्मक हुनैपर्ने रहेछ ।’ आफूहरु मुख्यमन्त्री चलाउन सक्ने क्षमता भए पनि मन्त्रीसमेत नपाएको गुनासो उनको छ । ‘सात सदस्यीय मन्त्रिमन्डल हुँदा पनि एकमात्र महिला मन्त्री भए । १२ सदस्यीय मन्त्रिपरिषद्मा पनि उही एक जना महिला मन्त्री हुनुहुन्छ,’ अघि भन्छिन्, ‘मुख्यमन्त्री बन्ने महत्वाकांक्षा लिएर आएका हामीहरु मन्त्रीमा पनि चाबी लाग्यो ।’
प्रतिनिधिसभा सांसद आशा विक महिला र समानुपातिक सांसदहरुलाई संसदको गेटबाटै विभेद सुरु हुने अनुभव सुनाउँछिन् । ‘विभेद संसदको गेटबाटै सुरु हुन्छ । गाडी चढेर आएका सांसदलाई पुलिसले सेलुट हान्छ, हामी हिंडेर आउनेहरुलाई चिन्दा पनि चिन्दैन,’ उनले भनिन्, ‘कर्मचारीदेखि मन्त्रालय हुँदै कुनै योजना अर्थमा पुर्याएर निस्किन्छौं । एकैछिनमा प्रत्यक्ष सांसदका पिएले फेसबुकमा आफ्ना सांसदले योजना पारेको भनेर प्रचार गर्छन् । साह्रै मन दुख्छ ।’
महिला, दलित र पैसा नभएकाले चुनाव जित्दैनन् भनेर पार्टीले प्रत्यक्षमा टिकट नदिएको भन्दै उनले टिकट दिए चुनाव जितेर देखाउने दाबी गरिन् । अर्की सांसद लक्ष्मी चौधरी समानुपातिक सांसदले धेरै नै अपहेलना खेप्नुपरेको गुनासो गर्छिन् ।
सांसद विद्या भट्टराई हालसम्मको प्रगतिलाई संस्थागत गर्दै नयाँ एजेन्डामा बहस चलाउनुपर्ने बताउँछिन् । ‘अब ३३ प्रतिशत सहभागिता अनिवार्य जस्तै भैसक्यो । सबैले स्वीकार गरेको विषय हो,’ उनले भनिन्, ‘अब नेतृत्व तहको बहस चलाउनुपर्छ । पाएका उपलब्धि संस्थागत गर्दै थप उपलब्धिका लागि प्रयास गरौं ।’ उनले महिला पनि प्रतिस्पर्धा गरेर आउन सक्छन् भन्ने उदाहरण आगामी निर्वाचनबाट पुष्टी गर्नुपर्ने बताइन् । कानुन निर्माण र संशोधनमा महिलाको भूमिका पुरुषभन्दा बढी रहेको उनले सुनाइन् । प्रतिनिधिसभा र प्रदेशसभाबाट बिदा हुँदै गरेका महिला सांसदहरुबीच मंगलबार गण्डकी प्रदेशसभामा अनुभव साटासाट गरिएको हो । वेस्ट मिनिस्टर फाउन्डेसन फर डेमोक्रेसी नामक संस्थाले उनीहरुलाई एकै ठाउँमा राखेर छलफल गराएको हो । कार्यक्रमको सहजीकरण गरेकी अधिवक्ता कुन्जनी परियार ‘प्यासी’ ले सांसदबीच अनुभव आदानप्रदानबाट आगामी दिनमा भूमिका स्पष्ट हुने र नतिजा निकाल्न सकिने बताइन् ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१