स्याङ्जाको फेदीखोला ४ गलेममा १९९६ सालमा जन्मिएका पूर्व मेजर डिलबहादुर गुरुङ सक्रिय समाजसेवीको रुपमा परिचित छन् । ३१ जनवरी १९८६ मा बृटिस गोर्खा आर्मीबाट निवृत्त भएदेखि उनले समाजसेवाको क्षेत्रमा पु¥याएको योगदानको फेहरिस्त निकै लामो छ । २ जनवरी १९५७ मा बृटिस आर्मीमा भर्ती भई २९ वर्षे फौजी जीवनपछि उनी गाउँको सेवामा जोडिए । वृद्ध उमेरमा पनि उनको जोस र जाँगर लोभलाग्दो छ । २०७७ सालमा राष्ट्रपतिबाट प्रबल जनसेवाश्री पदकबाट उनी शिक्षासेवीका रुपमा सम्मानित भए भने सामाजिक र शैक्षिक विकासमा योगदान पुर्याएको भनी उनलाई इटालीको रोमस्थित एक संस्थाले सन् २०१८ मा अन्तर्राष्ट्रिय स्वयंसेवा पुरस्कार प्रदान गरेको थियो । यस्तो सम्मान पाउने आफू एसियाकै पहिलो व्यक्ति भएको उनले बताए ।
सैनिक जीवनको क्रममा उनले रोयल मेम्बर अफ द भिक्टोरिया अर्डर (एमभीओ) पदक पनि पाए । २०६५ सालमा उनले राष्ट्रिय शिक्षा पुरस्कार पनि पाए । उनको जीवनीबारेमा फेदीखोलाका विद्यालयमा कक्षा ७ मा पढाइसमेत हुने गरेको छ । प्रदेश सरकारले प्रदान गर्ने गण्डकी रत्न सम्मानका लागि समेत उनी अन्तिम ८ मा छानिएका थिए । निस्वार्थ र कर्मशील व्यक्तित्वका रुपमा रहेका गुरुङ हाल सर्केटारी गलेम पञ्चासे ग्रामीण सडक उपभोक्ता समिति र गलेम राँपु गुरुङ समाजको अध्यक्ष तथा बृहत फेदीखोला पोखरा समाजका सल्लाहकार पनि हुन् । पिता बखतबहादुर र माता कन्याकुमारी (गौरा) बाट जन्मिएका उनका श्रीमती मायादेवी, सुपत्रहरु देवीप्रसाद र नलेन्द्र (दीपक) तथा सुपुत्रीहरु मीना, तारा र शिला रहेका छन् । हालसम्म ४ दर्जनभन्दा बढी मानसम्मानबाट सम्मानित गुरुङसँग आदर्श समाज प्रतिनिधि रुपनारायण ढकालले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :
सडकले गलेम भिर छिचोलेपछि सबैतिरबाट ठूलो प्रशंसा पाउनुभयो, बाटो खन्दाको संघर्षलाई कसरी सम्झनुहुन्छ ?
हामीले निकै मेहनत र कठिनले गलेम भिर काटेर बाटोलाई अगाडि बढायौं । यो निकै ठूलो र डरलाग्दो भिर हो । बाटो खन्न क्रममा एस्काभेटर र डोजरहरु पनि पुरिए । पहिला बाटो नबन्दै यो भिर ओहोरदोहोरको क्रममा केही गाउँलेले ज्यान पनि गुमाउन पुगे । स्थानीय गलेमवासी, गण्डकी प्रदेश सरकार, सहरी विकास मन्त्रालय, फेदीखोला गाउँपालिका, वैदेशिक रोजगारमा रहेका यस क्षेत्रका गाउँले र इटालीको भिस्पे नामक संस्थालगायतको सहयोगमा हामीले बाटो बनाएका हौं । २ हजार ६ सय मिटर लामो भीर खण्डका लागि मात्र करिब २ करोड रुपैयाँ खर्च भएको छ । २०५४ सालमा नै यो सडक खन्न सुरु गरिए पनि गलेम खण्ड भने २०६८ सालमा खन्न सुरु गरी २०७६ भदौमा उद्घाटन गरिएको हो । सिद्धार्थ राजमार्गअन्तर्गत फेदीखोला १ सर्केटारीबाट गलेम हुँदै बाटोले पञ्चासे छोएको छ । २१ किलोमिटर यो बाटोलाई हामीले सर्केटारी गलेम पञ्चासे ग्रामीण सडक नामकरण गरेका छौं । भिरको बाटो हुँदै अहिले पनि ठूला खालका बसहरु चल्न सक्दैनन् । यसको स्तरोन्नति गर्नुपर्ने आवश्यकता छ । सुरुको केही भागमात्र पिच भएको छ । त्यसैले स्तरोन्नति र पिचका लागि हामी गण्डकी प्रदेश सरकासँग अनुरोध गर्न चाहन्छौं ।
गलेम भिरलाई केन्द्रित गरी गाउँमा पर्यटन विकासको योजना पनि बन्दै छन् कि ?
यो भिरलाई पर्यटनसँग जोडेर गाउँलेले फाइदा लिन सक्ने अवस्था हामीले देखेका छौं । यही सोचअनुरुप हामी गुरुयोजना निर्माणमा पनि जुटेका छौं । भिरसँगैको चीलडाँडामा पार्क निर्माणको काम पनि भएको छ । पोखराको छोरेपाटन, भरतपोखरीलगायत सहरको दक्षिण र पश्चिम भेकका बासिन्दालाई पञ्चासे पुग्ने छोटो बाटो पनि यो मार्ग हुन सक्ने हामीले देखेका छौं । यसलाई खन्ने समयमा नै हामीले यस क्षेत्रको समग्र पर्यटकीय सम्भावनालाई समेत मध्यनजर गर्दै काम अगाडि बढाएका हौं । गाउँ पुग्ने राम्रो बाटो, पानी र बिजुलीको उचित व्यवस्था भएपछि विदेश जाने र गाउँ रित्तिने क्रममा पनि कमी आउने हाम्रो आकलन हो । मुख्य कुरा त सरकारले गाउँमै रोजगारीको अवसरहरु सिर्जना गर्न सके गाउँलाई रित्तिनबाट जोगाउन सकिन्थ्यो । म त अहिले पनि कहिले पोखरा त कहिले गाउँ गरिरहेकै हुन्छु । खेतीपाती र कृषिकर्म पनि सक्दो गरिएकै छ ।
रोयल मेम्बर अफ द भिक्टोरिया अर्डर (एमभीओ), राष्ट्रिय शिक्षा पुरस्कार पाएका गुरुङको जीवनी फेदीखोलाका विद्यालय पठनपाठन हुन्छ
फौजबाट निवृत्त भएपछि सम्पूर्ण जीवन समाजसेवामा नै खर्चंदै हुनुहुन्छ, यस क्षेत्रमा के कस्ता कामहरु गर्नुभयो ?
समाजसेवासँग मेरो सानै उमेरदेखिको लगाब हो । मेरी आमा कन्याकुमारी (गैरा) गुरुङमा भएको समाजसेवाको भावनाबाट म प्रभावित हुन पुगें । म आमाको प्रेरणाले समाजसेवामा लागें । २०१४ सालमा स्थापना भएको गाउँको शीतला माविमा म २०५५ सालबाट अहिलेसम्म पनि व्यवस्थापन समितिको अध्यक्षको रुपमा कार्यरत छु । मेरा काइँला बुबा बलबहादुर गुरुङ पछि उक्त विद्यालयको व्यवस्थापनको जिम्मा मैले लिन पुगें । पहिला आमाले पनि यस विद्यालयको समितिमा सदस्यको रुपमा काम गर्नुभएको हो । यस विद्यालयमा १० कोठाको नयाँ भवन निर्माणको काम बृटिस वेलफेयरको १८ लाखको लगानीमा सम्पन्न गरिएको छ । शीतला माविको ८, ९ र १० कक्षा तथा कम्प्युटर भवन, शिशु कक्षा, साइन्स ल्याबलगायत स्थापना गर्न अध्यक्षको रुपमा काम गरेँ । यसका लागि इटालीको इन्टरभिटा नामक संस्थाले १ करोड १७ लाख रुपैयाँ सहयोग गरेको थियो । अर्को कुरा गलेम भिरमा सडक बन्नु पूर्व गोरेटो बाटोको सुधारको लागि पनि मैले काम गरेको थिएँ । बृटिस वेलफेयरको सहयोगमा गाउँमा विभिन्न ४ खानेपानी आयोजनाहरु सञ्चालन गरी गाउँलेलाई पानीको सुविधा पनि पुर्याइएको छ । बेलायतबाट आएका साथीहरु तथा आर्मी एप्रेन्टिक्स कलेजदेखि आएको २ लाख ४९ हजार रुपैयाँको लागतमा स्टोर र सरस्वती मन्दिर निर्माणको काम पनि भएको छ । विद्यालयमा २०६४ सालदेखि निशुल्क पोसाक वितरण, कम्प्युटर सुविधा, विज्ञान सामग्री, पुस्तकालयको सुविधा, पर्खाल निर्माण तथा खानेपानी र शौचालयको व्यवस्था जस्ता कामहरु समेत मैले अगाडि बढाएँ ।
शीतला माविबाहेक अन्यत्र पनि यहाँले योगदान पुर्याउनुभएको छ, ती कामहरु स्मरण गराइदिनुस् न ।
सन् २००८ देखि २०२१ सम्म मैले असल छिमेकी सहयोग संघ नेपाल (गोनेसा) मा अध्यक्षको रुपमा रहेर काम गरें । गोनेसाको माध्यमबाट फेदीखोला– ४ गलेम र फेदीखोला बाङ्गेमा इटालीको भिसपे संस्थामार्फत् प्रसूतिगृह र हेल्थपोस्टको निर्माण गरिएको छ । यसैगरी फेदीखोला २ कालभैरव माविमा नेत्रहीनका लागि विद्यालय कोठा र आवास भवनको निर्माण पनि गराएको छु । तत्कालीन रुपा गाविसमा जर्मनी दाताको सहयोगमा ४ वर्षे कृषि विकास योजना सञ्चालनका लागि काम गरेको थिएँ । त्यस्तै २०७२ सालको भूकम्पबाट गोर्खाका केही पीडित विद्यालयमा शिशु कक्षा सञ्चालनका लागि भवन निर्माणमा सहयोग पुर्याएको थिएँ । पोखराका सुकुमवासी बस्तीका विद्यालयमा २६ शिशु कक्षा सञ्चालन र निशुुल्क पढाइ साथै खाना खाजाका लागि ५ सय जनालाई लाभ पुर्याइएको थियो । यस क्षेत्रका विभिन्न ६ विद्यालयमा अक्षयकोषको व्यवस्थासमेत मैले गराएको छु । यसैगरी आरुखर्क ७ देखि गलेम खाकगलेसम्म कच्ची मोटरबाटो निर्माणमा सक्रिय भएर लागें । गलेम १ आरुखर्क चिहानडाँडाको दाहसंस्कार गर्ने स्थान, शीतलादेवी मन्दिर राम्चे फेदीखोलाको जीर्णोद्वार, धर्मशाला, ठाँटी, खानेपानी, मन्दिर र चौतारा निर्माण तथा व्यवस्थाका लागि समेत म जुट्न पुगेँ ।
तपाईंको लाहुरे जीवन कस्तो रहन पुग्यो ?
अन्य व्यक्तिभन्दा भर्तीसम्बन्धी मेरो कथा अलि फरक छ । म विदेशमा रहँदा नै बृटिस गोर्खा आर्मीमा भर्ती हुन पुगेँ । मेरा फुपाजु क्याप्टेन सुनार गुरुङको पहलमा म हङकङ, मलेसिया र सिंगापुर पुगें । मेरो शिक्षादीक्षा त्यतै भयो । र, पछि मलेसियाबाट म भर्ती भएको हुँ । त्यतिबेला मलेसिया बेलायती साम्राज्यको अंग थियो । मलेसियामा गृहयुद्धको अवस्थाजस्तो भएपछि त्यसलाई नियन्त्रण गर्ने जिम्मेवारीमा रहेर मैले फौजमा काम गरेँ । फौजी जीवन उति संघर्षपूर्ण त रहेन तर दिएको जिम्मेवारी पूरा गर्न चुकिएन । घरसम्म खबरहरु आदानप्रदान चिठीमार्फत् हुन्थ्यो । चिठी घरसम्म पुग्नलाई कुनै समय त ६ महिनासम्म लाग्थ्यो । निवृत्त भएपछि पनि बृटिस वेलफेयर अफिसरको रुपमा ४ वर्ष र एआरओ वेलफेयर अफिसरको रुपमा ५ वर्ष मैले काम गरेको छु ।
Related News
सम्बन्धित समाचार
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जिबी राईको राहदानी रद्द भएन
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
hero news full width
मुख्य समाचार
सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१मन्त्रीपरिषदबाट १६ औँ पञ्चवर्षीय योजना पारित
जेठ १, २०८१गर्मीले भकाभक कुखुरा मर्दा मासु अचाक्ली महँगो
जेठ १, २०८१