युवा नेता एवं व्यवसायी सन्तोष बास्तोला नेपाली कांग्रेस पोखरा– १२ को वडाध्यक्षको उम्मेदवारको रुपमा दलको तर्फबाट टुंगो लगाइएका छन् । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको कार्यकर्ताको रुपमा २०६३ सालबाट राजनीतिमा सक्रिय बास्तोला वडा १२ मा मात्र नभई पोखरा नगरकै लोकप्रिय नेताका रुपमा पनि चिनिन्छन् । स्थानीय चापापानीका बास्तोला हाल नेपाली कांग्रेस वडा १२ को सभापतिको रुपमा सक्रिय छन् । उनी अटोमोबाइल्स, पर्यटन, रियल स्टेट र कृषि क्षेत्रसँग समेत जोडिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा बास्तोलासँग आदर्श समाज प्रतिनिधिले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :
सर्वप्रथमतः कसको प्रेरणाले राजनीतिक क्षेत्रमा प्रवेश गर्नुभयो? यसबारे बताइदिनुस् ।
जिन्दगीमा सबैकुरा सोचेजस्तो नहुने रहेछ । सुरुमा राजनीतिमा लाग्छु भन्ने कुनै पूर्वयोजना नभए पनि १५ वर्षअघि म नेपाल विद्यार्थी संघसँग आबद्ध हुन पुगें । त्यसपछि पोखरा इन्जिनियरिङ कलेजमा इकाइ सचिवको रुपमा चयन भएर विद्यार्थी राजनीतिलाई अगाडि बढाएँ । दुई वर्ष सचिवको रुपमा काम गरेपछि २०६६ देखि २०६८ साल विचमा क्षेत्र नम्बर २ को नेविसंघ सभापतिको जिम्मेवारी पनि पूरा गरें । यही क्रममा पोखरा विश्वविद्यालय केन्द्रीय तदर्थ समिति उपसभापतिको भूमिकामा रहने अवसर प्राप्त भयो । यसबीचमा म आन्दोलन र संघर्षका कार्यक्रममा सक्रिय रुपमा लागि नै रहें । मैले प्रहरीको कुटाइ खाएको छु । जेल पनि परें । वाइसिएलको कुटाइ खाएर घाइते नै भएँ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिको रुपमा समेत काम गरें । १४ औं महाधिवेशनको क्रममा वडाको सभापतिमा चुनिएँ । प्रेरणा र सक्रियताको क्रम यसैगरी नै अगाडि बढ्न पुग्यो ।
प्रतिस्पर्धाका हिसाबले आसन्न चुनावलाई कसरी लिनुभएको छ ?
चुनाव एउटा लोकतान्त्रिक प्रक्रिया हो । यहाँ प्रतिस्पर्धा त हुन्छ नै तर पनि मैले यसलाई स्वाभाविक रुपमा लिएको छ । म आफैं पनि युवा भएका कारण यसलाई मैले प्लस प्वाइन्टका रुपमा बुझेको छु । वडा नम्बर १२ मा निकै पहिलादेखि नै कांग्रेसको विरासत सशक्त रहेको छ । विपक्षी दलहरुका थुप्रै क्रस भोट पनि मैले प्राप्त गर्ने देखेको छु । त्यो भन्दा पनि वडा १२ कांग्रेसको गढ नै हो । तर पनि सबैभन्दा पहिला मतदाता चेतनशील हुनुपर्छ । उम्मेदवारको योग्यता, विगत र वर्तमान पनि हेरिनुपर्छ । भविष्यमा गएर उ महानगर नै हाँक्न सक्ने क्षमताको छ, छैन, त्यो पनि हेर्न म मतदातालाई आह्वान गर्न चाहन्छु । अर्को कुरा म अविवाहित पनि हुँ । म विकास र जनताका लागि समय पनि दिन सक्छु । र, विजेता भएपछि म पोखराको सबैभन्दा कान्छो वडाध्यक्ष पनि हुनेछु । त्यसैगरी केन्द्रीय नेतृत्वगणसँग पनि मेरो राम्रो सम्बन्ध र सम्पर्क त छ नै ।
वडाध्यक्षको रुपमा उम्मेदवारी दिंदै हुनुहुन्छ, तपाईंका भावी योजना कस्ता रहने छन्?
सर्वप्रथम म के भन्न चाहन्छु भने वडा १२ मा तीन वटा राम्रा सरकारी विद्यालय छन् । अमरसिंह मावि, शीतलादेवी मावि र सरस्वती निमावि । यीमध्ये अघिल्ला दुई विद्यालयले नेपाल टपको पुरस्कार पनि पाएका हुन् । यी विद्यालय नेपालकै नमूना र अब्बलमध्ये मानिन्छन् तर सरस्वती चाहिं त्यसका लागि संघर्ष गर्दै छ । यसका लागि हाम्रो सहयोग रहनेछ । यो विद्यालयलाई बाल मन्दिर र सरकारी मन्टेसरीको रुपमा विकास गर्ने मेरो योजना छ । यसैगरी सरकारी विद्यालयहरुमा छात्राहरुलाई निशुल्क सेनेटरी प्याड उपलब्ध गराउने योजना पनि मैले अगाडि बढाउनेछु । म अध्यक्षमा चुनिएपछि सरकारी बजेटमात्र कुरेर बस्ने छैन । स्वदेशी तथा विदेशी गैरसरकारी संस्थाहरुसँग समन्वय गरेर बजेट आउने व्यवस्था मिलाउने छु । पूर्वाधारहरुको विकास, वातावरण संरक्षण र सरसफाईको उचित प्रबन्ध, सामाजिक विकास र गुणस्तरीय सेवा, सुलभ र सहज स्वास्थ्य सुविधा प्रदान जस्ता विषयलाई हामीले हाम्रो घोषणापत्रमा पनि समेटेका छौं । यसैगरी महिला, युवा, रोजगारी तथा उद्यमशीलता र कृषि तथा खाद्यान्नका पक्षलाई पनि घोषणापत्रमा ध्यान दिइएको छ ।
चुनावलाई जोडेर गठबन्धनको कुरा पनि आएको छ । तालमेल कसरी अगाडि बढ्दै छ, तपाईंको वडामा?
केन्द्रले भनेपछि गठबन्धन गर्ने निर्णयलाई मान्नै पर्यो तर यो वडामा गठबन्धन नहुने भएको छ । अवस्था र आवश्यकताको आधारमा गठबन्धन गर्ने भन्ने दलको निर्णयका कारण पनि यो बाध्यकारी रहेन, त्यसैले यो वडामा गठबन्धन हुन्न । तर पनि वडा नम्बर १२ का मतदाताले मलाई विश्वास गरेर भोट दिनु हुनेछ । युवा हुनु आफैंमा लोकप्रियताको कडी पनि हो । मेरो छबि स्वच्छ छ । र, मेरो उद्देश्य खासमा शून्य भ्रष्टाचार हो । चुनाव भनेपछि खर्च त हुन्छ नै । तर पनि मितव्ययिता अपनाएर म खर्च गर्नेछु । आवश्यक खर्च गरे पनि निर्वाचन आयोगले तोकेको सिमाभित्र रहेर नै खर्च व्यवस्थापन गर्नेछु चुनावमा पनि । अन्ततः अन्य दलका उम्मेदवा भन्दा मैले नै बढी भोट पाउने छु ।
वडा नम्बर १२ मा विकास कार्यलाई कसरी अघि बढाउनुहुन्छ?
स्थानीय तह पुनः संरचनाको क्रममा यो वडामा कुनै पनि वडा गाभिने अवस्था बनेन । त्यही भएर पनि यो वडा सानो छ । सानो क्षेत्रमा विकास गर्न पनि सहज हुन्छ नै । वडाका विकास कार्य र प्रदान गरिने सेवामा नयाँपन दिने मेरो सोच छ । छिटो र प्रविधिमैत्री सेवा मैले वडावासीलाई प्रदान गर्नेछु । जन्म र मृत्यु दर्ता, नागरिकताका सिफारिस हुन् वा अन्य वडाबाट प्रदान गरिने सेवामध्ये आधा भन्दा बढी सेवा म नागरिकको घरमै पुगेर दिने व्यवस्था मिलाउने छु । वृद्ध भत्ता, अपांग भत्ता हुन् वा एकल महिला भत्ता म घरमै पुगेर दिने व्यवस्था गर्ने छु । वडा नम्बर १२ पर्यटकीय आकर्षणको क्षेत्र पनि हो । यहाँ रहेको माटेपानी गुम्बा, भद्रकाली मन्दिर र शीतलादेवी मन्दिरलगायत अन्य धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा मेरो भूमिका रहने छ । यिनमा हरेक दिन सरसफाइ गर्ने र पर्यटकीय हिसाबले समेत प्रवद्र्धन गर्ने सोच मेरो छ । पोखरामा लामो समयदेखि लोक संस्कृतिको संरक्षणमा लागेको हरिश्चन्द्र नाट्य समूहको प्रयासलाई कदर गर्दै यसको संरक्षण र यसलाई थप सक्रिय बनाउन पहल पनि मैले गर्ने छु ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१