सुदूरपश्चिममा बाढीपहिरोले १४ को मृत्यु

आदर्श समाज सम्वाददाता
कार्तिक ३, २०७८
sudar paschhim badhi

पोखरा ।  मनसुनपछि सुदूरपश्चिममा बाढी, पहिरोमा परि मृत्यु हुनेको संख्या १४ पुगेको छ। पछिल्लोपटक बैतडीको शिवनाथ गाउँपालिकामा पहिराले घर बगाउँदा तीनजनाको मृत्यु भएको छ।

वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा तीनजनाको मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए। मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्की छन्।

यस्तै डोटीमा घर भत्किँदा ९ जनाको मृत्यु भएको छ। सोमबार राति जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखका बीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर दुईजना मृत्यु भएको इलाका प्रहरी कार्यालय डोटीले जनाएको छ।

मृत्यु हुनेहरुमा वीरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडा रहेको प्रहरीले जनाएको छ। यस्तै पहिरोमा परि डोटीकै जोरायलमा ६ र शिखरमा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। विस्तृत विवरण भने आउन बाँकी छ।

डडेल्धुरामा घरमाथिबाट आएको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक बिक्रम चन्दका अनुसार हालसम्म एकजनाको मृत्यु भएको जानकारी आएको छ । यसैगरी डडेल्धुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ।

गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको हो। घर नजिकै रहेको खोलाबाट पाइपमा खानेपानी फर्काउने बेलामा माथिबाट आएको पहिरोसहितको भेलले बगाउँदा उनको मृत्यु भएको स्थानीयले बताएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width