कोभिसिल्डको पत्तो छैन, भेरोसेल सकियो

धनबहादुर गुरुङ
श्रावण ३, २०७८
vaccine by bijay

पोखरा । कास्कीमा ४८ हजार ७० जनाले कोरोनाविरुद्ध कोभिसिल्ड खोपको पहिलो डोज लगाएका छन् । तीमध्ये १६ हजार ९ सय ९० ले मात्र दोस्रो डोज लगाएका छन् । बाँकी ३१ हजार ८० जनाले अझै दोस्रो डोजको खोप लगाउन बाँकी छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले कास्कीमा उपलब्ध गराएको ६ हजार ६ सय ९३ भायल खोलेर उक्त संख्यामा खोप लगाइएको हो । भारतले सहयोग स्वरुप उपलब्ध गराएको कोभिडसिल्ड खोप जिल्लाले ४ चरणमा पहिलो डोज र एक चरण मात्र दोस्रो लगाएको हो । अहिलेसम्म कास्कीमा आएका खोपमध्ये कोभिसिल्ड १ सय ५ भायल र भेरोसेल ५७ डोज बाँकी छ । जसमा १९ भायल कोभिसिल्ड खेर गएको हो । कोभिसिल्ड १ भायल खोलेपछि १० जनालाई लगाउन मिल्ने स्वास्थ्य कार्यालयका कास्कीका प्रमुख बाबुराम आचार्यले बताए । ‘कोभिसिल्ड १ भायल खोलेपछि ६ घण्टासम्म १० जनालाई लगाउन सकिन्छ, ६ घण्टापछि खेर जान्छ,’ उनले भने । कास्की माघ १५ देखि २४ सम्म कोभिडसिल्ड खोप लगाइएको थियो । त्यो समयमा ७ हजार १ सय ३३ जनाले खोपाएका थिए ।
पछि फागुन २ देखि १० सम्म दोस्रो चरणको खोप सुरु भयो । त्यो समयमा १० हजार ३ सय ११ जनाले लगाए । फागुन २३ देखि चैत १० सम्म तेस्रो चरणमा सबैभन्दा बढी २८ हजार ५ सय ५९ जनाले खोप लगाए । कोभिसिल्ड खोपको चौथो चरणमा आइपुग्दा मात्र दोस्रो डोज लगाउन थालियो । बैशाख ७ देखि १४ सम्म १ हप्ता चलेको अभियानमा पहिलो र दोस्रो चरणमा पहिलो डोज लगाएका १६ हजार ९ सय ९० जनाले कोभिसिल्डको दोस्रो डोज लगाए । फेरि पाँचौं चरणमा जेठ २५ देखि ३१ सम्म २ हजार ६७ जनाले पहिलो डोज लगाएका थिए । ‘पहिलो दोस्रो चरणमा लगाउने अधिकांशले दोस्रो डोज लगाएका छन्,’ आचार्यले भने, ‘फागुन २३ देखि पहिलो डोज लगाएका कसैले पनि दोस्रो चरणमा लगाएका छैनन् ।’ उनीहरुका लागि सरकारले व्यवस्था गर्ने वित्तिकै लगाइने बताए । दोस्रो डोजका लागि जापानबाट जुलाइ अन्तिमसम्म ल्याउने कुरा भइरहेको उनले जानकारी दिए ।
कोभिसिल्डको दोस्रो डोजको पर्खाइ भइरहँदा भेरोसेल नेपाल भित्रियो । कोभिसिल्ल आउने अत्तोपत्तो नभएको अवस्थामा नागरिक भेरोसेल लगाउन पाउनेमा ढुक्क थिए । कास्कीमा जेठ २७ मा चीनबाट आएको भेरोसेल खोपको पहिलो डोज लगाइएको थियो । उक्त खोप कास्कीका लागि ९ हजार ६ सय ३० प्राप्त भयो । सो खोप जिल्लाका ५ वटै पालिकालाई आवश्यकता आधारमा वितरण भयो । जसमध्ये पोखरा महानगरलाई ६ हजार ३ सय १७, रुपामा ४ सय ५, मादीमा ३ सय ६४, माछापुच्छ्रेमा ३ सय ७२, अन्नपूर्ण गाउँपालिकामा ४ सय १ डोज पठाइएको थियो । मणिपाल शिक्षण अस्पतालमा ५ सय, गण्डकी मेडिकल कलेजमा ५ सय, पत्रकारका लागि १ सय ९९, ट्यांकर चालक र सहचालकका लागि ५६ डोज, दोस्रो चरणका लागि ४ सय ५५ डोज पठाएको थियो । जसमा ४ वटा खेर गएको थियो भने ९ हजार ५ सय ६९ ले लगाएका थिए ।
पहिलो डोज लगाएकालाई दोस्रो डोज र पहिलो डोज लगाउन बाँकी गरी १ लाख ४२ हजार ६ सय ५० डोज खोप प्रदेशमा आयो । तीमध्ये कास्कीका लागि ३६ हजार डोज छुट्टाइएको थियो । त्यही अनुसार स्वास्थ्य कार्यालयले ५ वटै पालिकालाई उपलब्ध गरायो । पोखरा महानगरमा ३० हजार डोज छुट्याएर असार ३० र ३१ गते लगाउने गरी १९ स्थान खोप केन्द्र तोकियो । २ दिन नै भद्रगोल व्यवस्थापनमै महानगरले खोप उपलब्ध गरायो । लक्षित वर्ग खोप लगाउनबाट वञ्चित रहेको गुनासो व्यापक आयो । बचेको केही खोप साउन १ र २ मा सीमित स्थानमा लगाउने गरी खोप केन्द्र तोकियो । १ गते लगाइयो तर २ गतेका लागि भेरोसेल नै पुगेन । अन्ततः दोस्रो दिन शनिबारको खोप कार्यक्रम नै स्थगित भयो ।
अन्तिम समयमा आएर स्वास्थ्य कार्यालयले खोप नपुगेको कारण देखाउँदै खोप कार्यक्रम स्थगित भएको जनायो । ‘हामीसँग पहिला आएकोमा थप गर्दा पनि धानेन । ४४ हजार ८ सय खोप व्यवस्थापन गरेका थियौं’ उनले भने, ‘कास्कीका लागि सुरुमा ३६ हजार आएको हो । त्यसले नपुगेपछि ५ हजार ८ सय ल्याइयो त्यसले पनि नपुगेपछि ३ हजार खोप ल्याएका हौं ।’
यता, महानगर भने १ दिनका लागि पुग्ने खोप भए पनि राम्रो व्यस्थापन गरेर जाने कुरा भएपछि स्थगित भएको बताउँछ । महानगरले आइतबार भने खोप लगाउने जानकारी दिएको छ । पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले बिहीबार र शुक्रबार केही भद्रगोल भएका कारण व्यवस्थापनमा ध्यान दिने गरी स्थगित भएको बताए । ‘हामीले भोलि (आइतबार) का सेसन चलाउने अवस्थामा त छौं,’ उनले भने, ‘हाम्रो टार्गेटेड ग्रुप सकिन्छ, त्यसपछि पनि आइरहला नि ।’
शनिबारका लागि महानगरभित्रका ८ स्थानमा खोप केन्द्र तोकिएको थियो । बिहानै सबै केन्द्रमा खोप लगाउने आशामा पुगेकाहरु निराश बन्दै घर फर्किए । खोप लगाउन कन्या क्याम्पस खोप केन्द्रमा पुगेकी पूनम लामिछानेले खोप नपाएपछि निराश बनिन् । बिहान हतार हतार गर्दै उनी नदीपुरस्थित कन्या क्याम्पस पुगेकी थिइन् । शनिबारको कार्यक्रम स्थगित भएको सूचना उनले खोप केन्द्र पुगेपछि मात्र थाहा पाएको बताइन् । पोखराको एक वित्तीय संस्थामा काम गर्ने उनले रातिसम्म एउटा सूचना बिहान अर्को सूचना दिँदा दुख पाएको गुनासो गरिन् ।
शुक्रबार र शनिबार १ डोज मात्र लगाए हुने जोन्सन एन्ड जोन्सन लगाउने सूचना प्रवाह भए पनि शुक्रबार भेरोसेल नै लगाइएको थियो । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख आचार्यले प्रदेशमा जोन्सन एन्ड जोन्सन खोप आए पनि कास्कीमा नआएको दाबी गर्छन् । उनका अनुसार आइतबारदेखि मात्र यो खोप लगाउन सुरु गरिनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै