‘मजदुर दिवस मतलब छैन, कोरोना नबढोस्’

धनबहादुर गुरुङ
वैशाख १९, २०७८
May 1 Photo

पोखरा । सिराहाका वीरेन्द्र मण्डल शनिबार बिहानैदेखि काममा व्यस्त थिए । शनिबार बिहानैदेखि पोखरामा विद्युतसेवा अवरुद्ध थियो । मेटलको काममा लागेका उनलाई पोखरामा बिहानदेखिको लोडसेडिङले तनाव दिएको थियो । त्यसैमाथि ४ नबज्दै परेको पानी हावा र हुरीले तनाव दिएको थियो मण्डललाई । कामकै ध्याउन्नमा रहेका मण्डललाई आज मजदुर दिवस भनेर भन्दा नभन्दै मुर्मुरिन थाले । ‘हामी काम गरेर खानेलाई के को मजदुर दिवस, सिवस भन्ने ठूलाबडालाई मात्रै हो ।’ झोक्किए झैं भने ।

उनलाई चिन्ता हावाहुरी र कोरोनाकै थियो, मजदुर दिवसको कुनै प्रभाव थिएन

कुराकानीकै क्रममा केही समयको पछि भने मण्डलको रिस शान्त भयो, खुलेर कुरा राखे पनि । सिराहा बरियारपट्टी गाउँपालिका २ सोह्रपुरबाट पोखरा मजदुरी कामकै लागि पोखरा आएका हुन् उनी । २०७६ सालको भदौतिर कास्की आएका मण्डल त्यसपछि यतै यतै मजदुरीमा रमाइरहेका छन् । उनीसँगै काममा उनका गाउँका १५ जना मजदुर हुनाले पनि उनलाई न्यास्रो लागेन । शनिबार विश्व मजदुर दिवसका दिन पनि उनी पोखराको याम्दी र लामाचौर क्षेत्र जोड्ने गरी सेती नदी माथि निर्माणाधीन मोटरेबल पुल निर्माण कार्यमा होस्टेमा हैंसे गर्दै थिए ।

उनीहरु सबैको काम भनेको मेटल कटिङ, फर्मा, वेल्डिङ लगायतका हुन् । नदी छेवैमा आवासीय रुपमा बस्ने उनीहरु सबै शनिबार काममै मस्त थिए । पोखराको मौसम ४ नबज्दै कालो नीलो हुनासाथ उनीहरु सबैको अनुहारको चमकता हरायो । कारण थियो, आजको काम पूरा गर्न नसकिने भयो । अनुहारको कान्ति मलीन बनाउँदै मण्डल भने फलामका टुक्राटुक्री मिलाउनतर्फ लागे । उनलाई चिन्ता हावाहुरी र कोरोनाकै थियो, मजदुर दिवसको कुनै प्रभाव थिएन । सकेको पैसा कमाऊँ, उमेर ढल्केका बाबु आमालाई सुखसँग राख्छु भन्ने उनको सोचाइ हो ।

उनी सानै हुँदा जग्गा किन्ने र घर बनाउने नाममा परिवार ऋणमा डुबेपछि उनी पनि पढाइ छाडेर मजदुरीमा लागेका हुन् । ‘दाइको इच्छाले डेढ कठ्ठा जग्गा किनेर घर बनाएपछि १० लाख ऋण लायो’, उनले भने, ‘अनि मलाई पढ्नै मन लागेन, काम गर्न हिँडे ।’ गाउँमै मेलापातको काम गरिरहको बेला नाताले काका पर्ने १ जनाले उनलाई सिक्लेस जाने पुल बनाउने काममा मजदुरी गर्न ल्याए । काका पर्ने व्यक्ति पुल बनाउने काममा मेटलको ठेकदार हुन् । ती ठेकदारले मण्डलसँगै केही युवालाई आफ्नो साइटमा काम सहज हुने र उनीहरुले रोजगार पाउने विचारले कास्की ल्याएका थिए । उनी कास्कीतिर हानिएपछि उनका दाजु पनि खाडीतिर लागे । दाजुभाइले पैसा कमाउन थाले, बिस्तारै क्रण तिर्दै गए । गएको फागुनमा ऋण तिरेर सके । ‘दाइले कमाएकाले ऋण तिर्ने, मैले कमाएको घर खर्च चलाउने ग¥यौं,’ उनले भने, ‘अहिले १० लाखको सावा ब्याज नै तिरेर सक्यौं ।’ उनले मजदुरी गरेर दैनिक ८ सय कमाउँछन् ।

ऋण तिरेपछि अब त बचत गर्नुपर्छ भनेर सोचेको समयमै कोरोनाको कारण लकडाउन भयो । लकडाउन भएपछि उनी मारमा परे । काम ठप्प भयो, ठेकदारले दिएको पैसा पनि सकिएपछि गाह्रो परेको उनी सम्झन्छन् । असारमा पिसिआर गरेर नेगेटिभ देखिएपछि उनी सोह्रपुर हानिए । त्यसपछि स्थिति सामान्य भएपछि फेरि कास्की नै आए । पहिले काम गरेको पुलको काम सकिएपछि उनी याम्दी र लामाचौर जोड्ने गरी निर्माणाधीन मोटरेबल पुलको काममा लागेका हुन् । घर गएर बस्नुपर्दा उनलाई लगभग ५० हजार घाटा लाग्यो । ‘दैनिक ८ सयको दरले पनि महिनामा २४ हजार कमाउँथे,’ उनले भने, ‘त्यही हिसाबमा पनि ४८ हजार त मलाई घाटा नै भयो, घर जादा आउँदाको त कुरै छोडम् ।’

लाएको ऋण तिरेर सकिएकाले अबको कमाई जम्मा गरेर बुढाबुढी भएको आमाबाबुलाई सुखसँग पाल्ने उनको मुख्य उद्देश्य हो । बढिरहेको कोरोना र प्रशासनको निषेधाज्ञाले उनलाई पोहोरको जस्तै हातल हुने त हैन भन्ने पिरलोले सताउँछ । ‘हामीलाई मजदुर दिवसको मतलब छैन,’ उनले भने, ‘लकडाउन नहोस्, पोहोर दुख पाएको कहाँ भुलेको छु र ?’ सरकारले लकडाउन गरिहाल्यो भने उनी मान्ने पक्षमा छन् । उनी भन्छन्, ‘कामभन्दा पहिला ज्यान हो, ज्यान रहे पो काम गर्न पाइन्छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width