गण्डकी प्रदेशमा १४ हजारले लिए कोभिसिल्ड

आदर्श समाज सम्वाददाता
माघ २०, २०७७
khop

फाइल तस्बिर

पोखरा । पहिलो चरणको कोभिड–१९ खोप (कोभिसिल्ड) अभियान अन्र्तगत गण्डकी प्रदेशमा १३ हजार ९ सय ९६ जनाले खोप लिएका छन् । कास्कीमा ४ सहित १४ वटा खोपकेन्द्रबाट खोप दिइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले बताए ।

प्रदेशका ११ वटै जिल्लामा सोमबारसम्म ८०.४४ प्रतिशतले खोप लिएको उनले जानकारी गराए । कोरोना विरुद्धको खोप लगाइसकेपछि कुनै पनि जटिल किसिमको अवान्छित घटना नभएको उनले भनाइ छ ।

गण्डकी प्रदेशमा पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र अस्पतालको फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीहरुलाई लगाउने योजना रहेको डा. शर्माले जानकारी दिए । गण्डकी प्रदेशको लागि ३९ हजार १ सय ३९ मात्रा भ्याक्सिन आएको छ ।

पहिलो मात्रा दिएको २८ दिन पछि दोस्रो मात्रा दिइने छ । प्रदेशमा १४ देखि १८ सम्म समय तोकिए पनि छुटेकाहरुका लागि भनेर २३ गतेसम्म खोप लगाइने डा. शर्माले जानकारी दिए । ‘हामीले १८ गतेसम्म लक्षित सबैलाई लगाउने भनेका थियौं,’ उनले भने, ‘छुटेकाहरुको लागि १९ देखि २३ सम्म थप गरेका छौं ।’

कास्कीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको गण्डकी हस्पिटल सहित मनिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कजेल र संक्रामक रोग नियन्त्रण अस्पताल, लेखनाथलाई खोप केन्द्र तोकिएको प्रदेशका अरु १० वटै जिल्लाका जिल्ला अस्पताललाई खोप केन्द्र तोकिएको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म १५ हजार २ सय २४ मा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये १४ हजार ५ सय ६८ निको भइसकेका छन् भने ४ सय ५७ सक्रिय संक्रमित छन् । प्रदेशमा कोरोना संक्रमणबाट १ सय ९९ जनाको मृत्यू भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width