पोखरा । बुल्गेरियाका अग्नियन पेट्रोभ अहिले मर्दी हिमाल बेस क्याम्पमा छन् । नोभेम्बर ३ मा नेपाल आएका उनी कन्चनजंघा क्षेत्र ३ सातासम्म घुमेर मर्दी पुगेका हुन् ।
अघिल्लो फेब्रुअरीदेखि उनले नेपाल घुम्ने योजना बनाएपनि कोरोनाका कारण रोकिए । ‘एक वर्षदेखि नेपाल घुम्ने योजना बनाएँ । त्यति नै बेला नेपालमा लकडाउन भयो,’ उनले भने, ‘म ग्रिसतिर लागें । जब नेपालमा लकडाउन खुल्यो, अनि यता आएको हुँ ।’ उनले बिमा गरेका छन् । हालैको पिसिआर रिपोर्ट साथमा छ । काठमाडौंमै क्वारेन्टाइन अवधि पार गरेपछि घुम्न निस्किएका हुन् उनी ।
कोरोनाकै बीचमा भारत, ग्रिस र बुल्गेरियासमेत पुगेका उनी नेपाल सबैभन्दा बढी सुरक्षित महसुस गर्छन् । तर नेपालमा स्वदेशी र विदेशी पर्यटकबीचमा गरिएको विभेद उनलाई मन परेको छैन । ‘नेपालीहरु स्वतन्त्र रुपमा हिडेका छन् । म उतैबाट पिसिआर रिपोर्ट लिएर आएको हुँ । यहाँका पर्यटकसँग पिसिआर रिपोर्ट छैन,’ उनले भने, ‘विदेशीलाई मात्रै पिसिआर त्यति न्यायपूर्ण र सुरक्षित कुरा होइन । आन्तरिक पर्यटकमा पनि यो लागु हुनुपर्छ ।’ नेपाल पर्यटन बोर्ड र अध्यागमन विभागमा बढी झन्झट ब्यहोर्नुपरेको उनको अनुभव छ ।
अहिले मर्दी हिमाल क्षेत्रमा दैनिक जसो विदेशी पर्यटक पुग्छन् । पोहोर परारजस्तो बाक्लो नभए पनि लकडाउन खुलेपछिका दिनमा फाट्टफुट्ट पर्यटक उक्लिन थालेका पर्यटन व्यवसायी तथा नेपाल पर्वतारोहण संघ गण्डकी सचिव सुदीप गौतमले बताए । ‘उत्साहजनक त छैन । तैपनि लामो समयपछि विदेशी होटलमा छिर्दा खुसी लागेको छ,’ उनले भने, ‘हामीले सबै स्वास्थ्य मापदण्डलाई ख्याल राखेर पाहुनाको सत्कार गरेका छौं । सुरक्षित सेवा दिएका छौं ।’
लकडाउन खुलेपछि राउन्ड अन्नपूर्णको मनाङमा पनि विस्तारै पर्यटक देखिन थालेका छन् । अरु क्षेत्र बन्द भएकोले गएका छैनन् । मनाङ र मर्दी हिमाल क्षेत्र मात्रै खुला गरिएको छ । त्यस क्षेत्रमा नेपालीसँगै विदेशी पर्यटकको चहलपहल सुरु भएको पर्यटन व्यवसायी बताउँछन् । मंसिरमा मात्रै अनुमति लिएर अन्नपूर्ण क्षेत्रमा ४३ जना विदेशी पर्यटकले भ्रमण गरेको तथ्यांक एक्याप सँग छ । चैतदेखि नै पर्यटकीय क्षेत्र सुनसान थिए । करिब ७ महिना सुनसान रहेको पर्यटन क्षेत्र गुल्जार नभए पनि ‘खाल धान्ने’ खालको छ ।
कात्तिकमा ५३ जना विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरे । अन्नपूर्णको थोराङ पास गर्न अहिले बन्देज छ । मुस्ताङमा गाउँलेले प्रवेश रोकेका छन् । त्यसैले मनाङबाट थोराङला पुगेर पर्यटक फर्किन्छन् । ‘पर्यटकको इन्क्वायरी धेरै छ । सबै देशको अध्यागमन खुल्यो र रुटमा बन्देज भएन भने इच्छुकहरु आउँछन्,’ एकयापका सूचना अधिकारी ऋषि बरालले भने, ‘बन्द रहेका रुटमा इलाका संरक्षण इकाईलाई भनेर खुलाउन एक्यापले आग्रह गरिरहेको छ । अब खुल्न थाल्छन् ।’
अधिकांश पर्यटकले मनाङबाट मुस्ताङ छिर्ने अनुमति मागेका छन् । तर एक्यापले दिएको छैन । ‘मनाङबाट थोरङ पासको अनुमति माग्नुहुन्छ । मुस्ताङको बन्देजले अनुमति दिन सकिएको छैन,’ उनले भने, ‘पुनहिल घोरेपानीमा धेरै जान खोज्नुहुन्छ । समुदायले नखुलाएसम्म पठाउन मिल्दैन ।’ घुम्न आएका पर्यटकहरुले पहिले नै होटल बुकिङ गर्नुपर्छ । त्यसकै आधारमा एक्यापले इजाजत दिने गरेको छ ।
अन्नपूर्ण पदमार्ग विश्वमै उत्कृष्टमध्ये एक हो । लकडाउनले थला परेको यो क्षेत्र स्वास्थ्य मापदण्ड अपनाउँदै खुलाउने प्रयास भइरहेको छ । अघिल्लो वर्ष यो पदमार्गमा १ लाख ८० हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका तथ्यांक छ । गएको जाडो याममा १८ हजारले पदयात्रा गरेका थिए ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१