पोखरा महानगरपालिकाबाट ‘नगरपिता’ र ‘नगरमाता’ को सम्मान

आदर्श समाज सम्वाददाता
असाेज १६, २०७७
samman

पोखरा, १६ असाेज । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस अवसरमा पोखरा महानगरपालिकाले दुई जना ज्येष्ठ नागरिकलाई बिहीबार सम्मान गरेको छ । सम्मानित हुनेमा पोखराका १०७ वर्षीया कलावती गिरि र १०४ वर्षीय तेजबहादुर गुरुङ छन् ।

पोखरा ११ रानीपौवाका गुरुङलाई पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र पोखरा २४ की गिरीलाई पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले उनीहरुकै घर पुगेर १० हजार १ सय २५, फूलमाला र दोसल्ला ओढाएर सम्मान गरे ।

महानगरले प्रत्येक वर्ष ज्येष्ठ नागरिकमध्ये पुरुष र महिलालाई नगरपिता र नगरआमाको रुपमा सम्मान गर्दै आएको छ ।

कार्यक्रममा मेयर जिसीले खानपानमा ख्याल गर्ने हो भने आयु बढ्ने बताए । उनले सम्मानले सकारात्मक सोच विकास गराउने बताए । ज्येष्ठ नागरिकको मनमा चोट पुग्ने काम कसैले पनि गर्न नहुने र उनीहरुलई सम्मानपूर्वक बाँच्ने वातावरण मिलाउनु पर्ने मेयर जिसीको भनाइ थियो ।

उपप्रमुख गुरुङले ज्येष्ठ नागरिकलाई माया, सद्भाव र सम्मान व्यक्त गर्नुपर्ने बताइन् । ज्येष्ठ नागरिकलाई परिवारका सदस्यले दुःख कष्ट नदिई पालनपोषण गर्नुपर्नेमा सुझाव दिइन् ।

महानगरले ज्येष्ठ नागरिकको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै यस आर्थिक वर्षबाट पोखरा महानगरपालिकाभित्र सार्वजनिक यातायात भाडा निःशुल्क गर्ने गरी २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

पोखरा २४ का वडाध्यक्ष ओमप्रसाद सुवेदीले आफ्नै वडाको ज्येष्ठ नागरिकलाई सम्मान गर्न पाउनु खुसद् भएको बताए । कार्यपालिका सदस्य सन्तु सुवेदीले ज्येष्ठ नागरिकलाई अपमान र हेयको दृष्टिले हेर्न नहुने बताए ।

पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलाको अध्यक्षतमा भएको कार्यक्रममा नगर सदस्य तीर्था गुरुङ र पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाका अधिकृत गीता न्यौपाने निरौनाले ज्येष्ठ नागरिकबारे बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width