लमजुङ, २ असोज । जव उनको छोरालाई कोरोना संक्रमण भयो, आइतकुमारी गुरुङ (६५) छाँगाबाट खसे झैं भइन् । उनले पति मंगले गुरुङ (७५) लाई सुनाइन् ।
एक्लो छोरो कोरोना लागेको सुनेपनि मंगले बेचैन भए । यो भदौ १५ गतेको कुरा हो । बृद्धबृद्धासहित परिवार नै कन्ट्याक्ट ट्रेसिङमा पर्यो । भदौ १७ गते परिवारका सवै सदस्यको पीसीआर परीक्षण भयो । २० गते रिपोर्ट आउँदा बृद्धाबृद्धा आफैं कोरोना संक्रमित भएछन् । साथमा बुहारी र नातिनी पनि । भर्खर साँढे ५ बर्षको नातीको भने रिपोर्ट नेगेटिभ आयो । अर्थात परिवारमा कोरोना संक्रमणबाट बालकमात्रै जोगिए ।
लमजुङमा कोरोना संक्रमितमध्ये मंगले हालसम्म सवैभन्दा बृद्ध हुन् । आइतकुमारी महिलामध्ये सवैभन्दा बृद्धा हुन् । ‘कहिल्यै नसुनेको यो रोगको खबर रेडियो, टिभिमा सुनेको हो । यो रोग लागेपछि बुढाबुढी त मोर्छ भन्ने सुनेको हो । रेडियो टिभीले कोरोनाबाट बुढाबुढीमात्रै मर्यो भनेर मन्थ्यो । म त आत्तिएँ । बुढालाई लौन के गर्ने होला भनें’ आइतकुमारीले भनिन्, ‘बुढाले केही हुँदैन । जे हुन्छ, हुन्छ नि भन्नुभो ।’ बिहान ११ बजेतिर खबर सुनेपनि परिवारैले खाना खाएनन् । नातिको रिपोर्ट आउन पनि ढिला गर्यो । ‘साँझ ६ बजेतिर एम्बुलेन्स आयो । हामी सवैलाई लग्यो । कहाँ पुर्यायो थाह छैन’ उनले भनिन्, ‘अस्पतालको पछाडीबाट लगिएछ । मरेको मान्छे राखेको ठाउँमा हिँड्दा डर लाग्यो । एउटा कोठामा लग्यो । कहाँ राखिएको रहेछ भन्ने कुरा भोलिमात्रै थाह भयो ।’
मंगले भारतीय भूपू हुन् । क्व्होलासोंथर गाउँपालिका ४, भुजुङका उनको परिवार एकदशकदेखि बेंसीसहर बस्छन् । कोरोना लागेको सुनेपछि उनले कहि नजाने, घरै बस्ने भने । सरकारी नियम मान्नुपर्ने भनेपछि उनी आइसोलेशन जान राजी भए । ‘छोरालाई कोरोना लाग्दा आधा शरीर छैन जस्तो लागेथ्यो । आफैंलाई कोरोना लाग्यो भन्दा बरु केही लागेन’ उनले पत्नीलाई भनेका थिए, ‘केही हुँदैन । यो लागेको मात्रै हो । केही फिकर नगर । सरकारले जहाँ लान्छ, त्यहीं जाने हो ।’
घरमा चोरी हुनसक्ने भन्दै आइतकुमारीले बाकासको पैसा पटुकामा बेरिन् । उनी आँसु खसाल्दै आइसोलेशन गइन् । ‘म मरें भने मलाई कसैले पनि छुँदैन । यो पैसा पनि जल्छ । मलाई एकदमै पीर लाग्यो’ उनले भनिन्, ‘छोराको मुख हेर्न नपाई मरिन्छ झैं लागेको थियो । तर, केही गरेन खोइ । भन्नेमात्रै रहेछ ।’ कोरोना लागेको बृद्धबृद्धाको मृत्यु भएको खबर उनले दिनहुँ टेलिभिजन र रेडियोबाट सुनेकी थिइन् । ‘कोरोना लागेको मान्छेलाई भुइँमा सुताएको टिभीमा देखेको थिएँ । रेडियोले पनि त्यस्तै त्यस्तै भनेको थियो । म त बिरामी मान्छे । भुइँमा राख्यो भने म त मरिन्छ भन्ने सोंचे’ उनले भनिन्, ‘ओड्ने ओछ्याउने आफूले पनि लगेको थिएँ । एउटा कोठामा लगेर बुढाबुढीलाई राख्यो । २ वटा खाट रहेछ । सुत्नलाई समस्या भएन । खाना पनि मिठो नै थियो । बिहान र दिउँसो खाजा । बिहान र बेलुकी खाना । यसरी त घरमा पनि खाएका थिएन ।’
परिवारको माया छँदैछ । उनलाई आफूले पालेको २०/२२ वटा कुखुराको पनि माया लाग्यो । नातिलाई राख्न समस्या भयो । पछि उस्को छ्यामाले लाने निधो भयो । ‘मेरो कुखुरा जिउँदै रहेछ । छिमेकीले हेरिदिएछन् । पछि छोरो आएर हेरेको रहेछ’ उनले भनिन्, ‘अब नातीलाई भेट्न बाँकी छ । परिवार सवै एकै ठाउँमा भयो ।’
आइसोलेशनमा बस्दा आइतकुमारीलाई मरिन्छ कि भन्ने मनमा लागिरह्यो । उनी दमका विरामी हुन् । केही बर्षयता हाडजोर्ने समस्या छ । चिसोको समय उनलाई निकै समस्या हुन्छ । किड्नीको पनि समस्या छ । मंगलेमा दम, खोकी र मुटुको समस्या छ । ‘घरमा केही भएको थिएन । अस्पतालमा बस्न गएपछि टाउको दुख्ने समस्या आयो । जीवनजल मागेर खाएँ । अर्पणाको बाबा (पूर्णचन्द्र घिमिरे) ले के–के आयुर्वेदेकि औषधी ल्याइदियो । डाक्टरहरुले पनि सिटामोल र खोकीको औषधी दियो’ उनले भनिन्, ‘बेसार र अदुवापानी बनाएर दिनभरी खान्थें । दिनमा ३ पटक बाफ लिन्थें । अरु ठूलो औषधी उपचार परेन । कोरोना निको भयो । कोरोना लागेपछि मरिन्छ भन्ने त हल्लामात्रै रहेछ ।’ आयुर्वेदिक औषधी भने नचिनेकोले सवै खाना नसकेको उनले सुनाइन् ।
बिहीबार साँझ कोरोनामुक्त भएको खबर सुनेपछि ल्याइसकेको खाना पनि मंगलेले खाएनन् । उनी खुसीले गद्गद् भए । ‘मनमा पीर लिनु हुन्न भने पनि मान्छे न हो, पीर त आइहाल्छ नि । श्रीमती छ, परिवार छ’ उनले भने, ‘मलाई केही हुँदैन भनेर बसेँ, दुखबिमार केही भएन । अलि खलि रुघा भने लाग्यो ।’ घरेलु मदिरा र चुरोटका अम्मली उनले अस्पतालमा खान पाएनन् । ‘खान त मन थियो । सरकारले खाना नदिँदो रहेछ । त्यही बेसार र अदुवापानी खाएर बसियो । कोरोना कता भाग्यो, बाग्यो ।’
पछिल्लो पीसीआर लिँदा उनले घाँटी दुखेको महसुस गरे । भदौ ३० गते पीसीआर गरिएको थियो । ‘घाँटीमा सिन्का हालेर घोचिदिँदा घाँटी दुख्यो । अरु त केही भएन’ उनले भने । टाउको दुखेपछि उनले भदौ १० गते घरमा सिटामोल खाएको बताए । अस्पतालमा खोकीको औषधी खाएका थिए । ‘औषधी भने पनि जे भनेपनि आयुर्वेदिक खाएँ । बेसार र अदुवापानी खाएँ । अरु केही खाएन’ उनले भने । आइतकुमारीलाई भने पछिल्लो पीसीआरका लागि थ्रोट स्वाब लगेको राती निन्द्रा लागेन । ‘जाँचेर त लग्यो । नेगेटी (नेगटिभ) आउने हो कि पोजेटी (पोजेटिभ) आउने हो भनेर चिन्ता लाग्यो । रातभरी सुत्न सकेन । फेरि यहीं बस्नुपर्ने हो कि झैं लाग्यो । यहीं बस्नु परेपनि बसौंला । अहिलेसम्म बिरामी भएको छैन क्यारे भन्ने सोंचे’ उनले भनिन्, ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले महिलाका लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल र पुरुषका लागि बेंसीसहरको सहजी र सुन्दरबजारमा आइसोलेशन निर्माण गरिएको बताए । बृद्ध र स्वास्थ्यमा समस्या भएका बृद्धबृद्धालाई संगै अस्पतालमा राखिएको उनले बताए । लमजुङ जिल्ला सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बृद्धबृद्धालाई नियमित स्वास्थ्य जानकारी र सोधपुछ गरि उनीहरुको समस्या अनुसार औषधी दिइएको बताए । स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले मंगले जिल्लामै सवैभन्दा जेठो कोरोना संक्रमित भएको बताए । महिलामा उनकी पत्नी आइतकुमारी सवैभन्दा बढी उमेरका कोरोना संक्रमित भएको बताए । ‘कोरानाले दीर्घ रोगी र बृद्धबृद्धालाई समस्यामा पारेको देखिँदै आएको छ । यी दम्पत्तीलाई कोरोनाले खासै प्रभाव पारेको देखिएन । उहाँहरुले सहज तरिकाले कोरोना जित्नुभो’ उनले भने । उनका अनुसार लमजुङमा ३ सय ७१ जना संक्रमित छन् । यसमा महिला ६५ छन् । २ सय ५६ जना पुरुष छन् । कोरोना संक्रमितमध्ये १ सय ७२ जना निको भइसकेका छन् । निको हुनेमा महिला महिला ३० र पुरुष १ सय ४२ जना छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१