कञ्चनपुर, २१ भदौ । प्रकृतिका कुचिकारका रूपमा चिनिने अति सङ्कटापन्न अवस्थामा रहेका गिद्ध जोगाउनका लागि सचेतनाका कार्यक्रम अगाडि बढाइएपछि कञ्चनपुरमा प्रतिवर्ष गिद्धको संख्यामा वृद्धि हुँदै जान थालेको छ । दुई दशकअघि कञ्चनपुरमा ३० देखि ४० को संख्यामा रहेका गिद्धको संख्या बढेर हाल २०० को हाराहारीमा पुगेको छ ।
एक्कासि संख्यामा निकै गिरावट आएपछि कारणको खोजी गर्दा पशुको उपचारमा प्रयोग हुने डाइक्लोफेनेक औषधिकै कारण गिद्ध मर्ने गरेको कुरा पत्ता लागेपछि यसविरुद्ध अभियान सञ्चालन गरिएको हो । अभियानको परिणामस्वरूप डाइक्लोफेनेक औषधिको प्रयोगमा प्रतिबन्धसँगै भारतबाट ल्याउने कार्यसमेत निरुत्साहित गरिएपछि गिद्धको संख्या विस्तारै बढन थालेको छ ।
पशुको दुखाइ कम गर्ने डाइक्लोफेनेक औषधिको प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाइएपछि गिद्धको संख्यामा वृद्धि हुँदै जान थालेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले बताए । ‘सन् २०१० मा कञ्चनपुरलाई डाइक्लोफेनेकमुक्त घोषणा गरिएसँगै हराउँदै गएका गिद्धको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ’, उनले भने, ‘लोप हुने अवस्थामा पुगेका गिद्ध पुरानै अवस्थामा फर्कन थालेका छन् ।’
उनका अनुसार डाइक्लोफेनेक प्रयोग गरेका पशुको मृत्युपछि गिद्धले सिनो खाँदा मुटु, मिर्गाैलालगायतमा असर पुग्न गई गिद्धको मृत्यु हुने गरेको थियो । ‘हाल पशुको दुखाई कम गर्ने डाइक्लोफेनेकको प्रयोग प्रतिबन्धित भएपछि गिद्ध संरक्षणमा टेवा पुगेको छ’, उनले भने । गिद्धले गुँड लगाउने र बस्न रुचाउने अग्ला सिमललगायतका रुखहरु काटिने मासिने क्रममा समेत कमी आएपछि गिद्ध जोगिएका हुन् ।
बासस्थान सुरक्षासँगै गिद्ध जोगाउनका लागि निकुञ्ज आसपासका क्षेत्रमा सचेतना कार्यक्रमलाई अगाडि बढाउन थालेपछि यसको प्रभावका कारण गिद्ध जोगिएको उनको भनाइ छ । नेपालमा नौ प्रजातिका गिद्ध पाइने गरेको भए पनि कञ्चनपुरमा भने सात प्रकारका गिद्ध मात्रै पाइने गरेका छन् । सानो खैरो, डङ्गर, सुनगिद्ध, सेतो, हिमाली, राजगिद्ध, र खैरो गिद्धलगायत कञ्चनपुर, कैलालीलगायतका क्षेत्रमा पाइने गरेका छन् ।
नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार सानो खैरो, डङ्गर गिद्ध अति सङ्कटापन्न अवस्थामा छन् । सुन गिद्ध र सेतो गिद्ध दुर्लभ गिद्धको सूचीमा रहेको छ । हिमाली, राज र खैरो गिद्ध सङ्कटको नजिक रहेका छन् । राज र हिमाली गिद्ध भने चिसो याममा मात्रै कञ्चनपुरमा देखापर्ने गरेको छ । यी दुई गिद्ध आगन्तुक गिद्धका रुपमा रहेका छन् । लामो ठुँडे गिद्ध भने यहाँ हालसम्म देखापरेको छैन । हाडफोर प्रजातिको गिद्ध पहाडी क्षेत्र र हिमाली क्षेत्रमा देखापर्ने गरेको छ ।
नेपालमा डङ्गर, सानो खैरो, खैरो, राज, हिमाली, सुन, सेतो, हाडफोर र लामोठुडे गरी नौ प्रजातिका गिद्ध पाइएको छ । विश्वमा २३ प्रजातिका गिद्ध पाइने गरेका छन् । गिद्धलाई अहिंस्रक मांशहारी चराका रुपमा लिइने गरिन्छ । मरेका जीवजन्तुलाई मात्रै आहारका रुपमा लिने भएकाले गिद्धलाई प्रकृतिको कुचिकारका रुपमा लिने गरिएको हो । चराविज्ञ डगौराले भने, ‘पर्यावरणीय चक्रलाई सन्तुलित राख्न गिद्धले मद्दत पुर्याउने गर्दछ ।’
धार्मिक आस्थाका रुपमा समेत गिद्धलाई लिइने गरिन्छ । हिन्दूधर्ममा शनिदेवको बाहनका रुपमा गिद्धलाई पूजा गरिँदै आएको छ । एक अध्ययनअनुसार गिद्धले औसतमा दैनिक २०० ग्राम जति सिनो खाने गर्दछ । वर्षमा गिद्धले एउटा मात्रै अण्डा पार्ने गर्दछ । भालेपोथी मिलेर अण्डा कोरल्ने, बच्चा हुर्काउने कार्य गर्ने गर्दछन् । कात्तिकदेखि जेठ महिनासम्म गिद्धले प्रजनन् गर्ने गर्दछन् ।
Related News
सम्बन्धित समाचार
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
मानव सेवा अश्रममा खाना खुवाइयो
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१