नेपालमा कोरोनाबाट कुल ३४ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
असार २०, २०७७
Corona_dark

पोखरा, २० असार । नेपालमा हालसम्म कोरोना भाइरस (कोभिड–१९) का कारण ३४ जनाको मृत्यु भएको छ । शनिबार गोरखा र रुपन्देहीका २ जना पुरुषसँगै मृत्यु हुनेको संख्या ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाएको हो ।

गोरखाको पालुङटार ७ निवासी ४४ वर्षीय पुरुषको गोरखा अस्पतालमा उपचार क्रममा शनिबार मृत्यु भएको हो ।

निमोनियाका बिरामी समेत रहेका ती पुरुषको शुक्रबार कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएपछि उनलाई राति ९ बजेर ५५ मिनेटमा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएकोमा शनिबार बिहान मृत्यु भएको अस्पतालका नि. मेडिकल सूपरिटेण्डेन्ट डा. नवीन थापाले जनाए । संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हानेको छ ।

उता, रुपन्देही देवदेहका ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । देवहदका पुरुष क्षयरोगको उपचारका लागि १४ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा उनको १७ गते निधन भयो । त्यसको भोलिपल्ट उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हानेको छ

यसैगरी, कोभिड–१९ बाट सङ्क्रमितको संख्या १५ हजार ४ सय ९१ जना पुगेको छ । गत २४ घण्टामा २ सय ३२ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गएको २४ घण्टामा २३ वटा प्रयोगशालामा चार हजार ५० जनाको आरटिपिसिआर विधिबाट नमूना परीक्षण भएको जानकारी दिए । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको संख्या ३३ हजार १ सय २५ छ ।

त्यसैगरी आइसोलेशनमा रहेकाको संख्या ९ हजार ४२ छ । कोभिड–१९ बाट सङ्क्रमित मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ सय ७२ छ । हालसम्म डिस्चार्ज हुने ६ हजार ४ सय १५ पुगेका छन् ।
सार्क देशहरुमध्ये कोरोना परीक्षण दर प्रति १० लाख जनसंख्यामा नेपाल अफगानिस्तान, पाकिस्तान, भारत, श्रीलङ्का र बङ्गलादेश अगाडि रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width