दुर्इ फन्को नाच्नेले दुनो सोझयाए, जिन्दगीभर नाच्ने हेरेको हेर्‍यै

आदर्श समाज सम्वाददाता
फागुन २१, २०७२

२००७ सालमा १५ वर्षको उमेर टेक्दा नटेक्दै पोखरा पार्दीका हिरामणि सुवेदीले राज्यद्रोहको अभियोगमा जेल जानुपर्ला भनेर सोच्नु पनि भएको थिएन। हुन त उहाँ आफैं राज्यद्रोहको आन्दोलमा सहभागी हुनुभएन। तर, उहाँको परिवारले राज्यद्रोहमा संलग्न व्यक्तिलाई भात खुवाएको बहानामा हिरामणि र उनकी आमालाई प्रहरीले पक्राउ गर्‍यो।

त्यसबेला कास्की, लमजुङ, र तनहुँको सदरमुकाम कास्की भएको हुनाले श्रीकान्त, श्रीभद्र लगायतका नेताले कास्कीलाई केन्द्र बनाएर राजनीति गर्नुहुन्थ्यो। त्यही कुराको चाल पाएर प्रहरीले उहाँको घरमा छापा मारेको थियो।  २००७ सालमा श्रीकान्त र श्रीभद्र पक्राउ परेपछि हिरामणी र उहाँकी आमालाई पनि प्रहरीले राज्यद्रोहकै अभियोगमा पक्राउ ग‍र्‍यो।

राणा शासकले महिला र ब्राहृमणलाई जेल हाल्न र कुटपिट गर्न हुन्न भन्ने सोच राखेकोले हिरामणि र उहाँकी आमा धेरैदिन जेल बस्नुपरेन। हिरामणिकी आमाले पनि ‘यिनीहरु मेरा घरमा बस्छन तर के के गर्छन म जान्दिन, भाइका नाताले मैले खान दिएकी हुँ’ भनेर बयान दिनुभयो। त्यसैगरी उहाँले पनि ‘म त विद्यार्थी हो, मलाई केही पनि थाहा छैन, मामाहरु घरमा आएर बस्नुहुन्छ अरु मलाई केही पनि थाहा छैन’ भनेपछि जर्नेल धर्म शमसेरले १५ वर्षको उमेरमा पनि राज्यद्रोहमा लाग्ने होइन भन्दै एक झापड हिर्काए। तर, आमा महिला भएको हुनाले र हिरामणिको उमेर नपुगेको हुनाले हप्ताको एकपटक हाजिर हुन आउने बाचासहित प्रहरीले हिरामणि र उहाँकी आमालाई प्रहरीले प्रहरीले छाडिदियो।

प्रहरीले देशद्रोहीको आरोपमा झापड हानेपछि हिरामणिलाई डटेर राजनीतिमा लाग्न झोक चल्यो। त्यसछि राजनीतिमा होमिएर उहाँले २०१४ सालमा ४२ दिन भद्र आन्दोलामा सक्रिय भएर लाग्नुभयो। त्यसपछि २०१५ सालमा भएको चुनावमा त आफ्नै घरमा पार्टीकार्यालय राखेर काम गर्नुभयो र पार्टीले जित्यो। त्यसपछिको महाधिवेशनमा उहाँ महाधिवेशन प्रतिनिधि हुनुभयो।

२०१६ सालपछि हिरामणि लगायतका नेताको कुनै गल्ती नहुँदा नहुँदै पनि काङ्ग्रेस भए भन्ने रिसमा तत्कालिन सरकारले उहाँहरुलाई सरकारले अनेक षडयन्त्र गरेर फसाउन खोज्यो। ‘हामीलाई काङ्ग्रेस भए भन्ने रिसले सरकार आफैले रातारात तार चोर्ने अनि हामीलाई आरोप लगाएर मुद्दा पनि लगाइयो-उहाँ भन्नुहुन्छ-‘चोरीको आरोपमा तारेख धाउँदाधाउँदै हामी भागेर भारतको कोलकत्तामा सुवर्णम्शेरलाई भेट्न ग‍यौं, प्रहरी जिल्लै प‍र्‍यो।’

समूहको प्रमुख भएर गोर्बर्द्धन शर्माको नेतृत्वमा कोलकत्ता गएको उहाँको टोलीले धेरै दुःख झेल्नुपर्‍यो। कोकत्ताको नरघटियागञ्ज नजिकै ढलको छेवैंमा एउटै कोठामा धेरैजना कोचिएर बस्ता धेरै समस्या भयो। सुवर्णमशेर एकदिन कोठामा आएपछि हप्तादिन नआउने हुनाले कोठामा खान लाउन धौ धौ हुन्थ्यो।

नरघटियागञ्जमा पाएको दुखबारे हिरामणि भन्नुहुन्छ-‘दाह्री बढेर मकैका जुँगाजस्तो भएपछि पत्ता किनेर ल्यायौं तर ऐना भएन, खाना खाने स्िटलको थाललाई खरानीले टिलिक्क टल्कायौं र त्यसैमा ऐना हेरेर दाह्री काट्यौं’-त्योबेलाको अवस्था सम्झँदै उहाँले भन्नुभयो-‘कोठै छेउको नरघटियागञ्जको त्यो डुङडुङती गन्हाउने ढल अनि हामी बसेको त्यो कोठामा त भैंसी पनि ब्याउँदैन।’

कोलकत्तामा तीन महिना बसेर नेपाल फर्किएका हिरामणिले भित्रभित्रै राजनीतिलाई जारी राख्नुभयो। २०३३ सालमा विपी पोखरा जानुभयो। विपीलाई स्वागत गर्न पुगेका हिरामणिलाई पञ्चहरुले पक्रेर पिटपाट पारे। केही दिनुको थुनापछि उहाँ छुट्नुभयो। २०४२ सालमा सत्याग्रहको आन्दोलनमा हिरामणिकै घरका पाँच जना सदस्य जेल जानुप‍र्‍यो। २०४६ सालको जनआन्दोलनमा पनि उहाँ ३३ दिन थुनिनुभयो।

२०४८ सालमा कास्की काङ्ग्रेसको उपसभापति भएका हिरामणि सुवेदी ०५१ सालमा जिल्ला सभापति र २०५७ सालमा किसान संघको केन्द्रीय सदस्य हुनुभयो। लामो समय विपी कोइरालाको संगत गरेका हिरामणीले विपीसँग कहिलेकाहीँ  गाई पाल्ने र खेतको कामले राजनीति गर्न फुसद नभएको बताउनुहुन्थ्यो। ‘प्रजातन्त्र आएपछि सबै नागरिकले सुख पाउँछन, सबैका घरमा गाई हुन्छन, सबैजनासँग मुरीकामुरी धान फल्ने खेत हुन्छन, सबैजना सुखी हुन्छन र रामराज्य नै प्राप्त गछौं’ विपीले यसरी सम्झाएपछि उहाँलाई पनि सबै नागरिकलाई अधिकार दिलाउन आन्दोलन गनैपर्छ भन्ने लाग्यो। त्यही भएर त ७० वर्षको उमेरमा पनि २०६२ र ०६३ सालको  आन्दोनलमा डटेर लाग्नुभयो।

नागरिकलाई हक अधिकार दिलाउन र नेपाललाई रामराज्य बनाउन सम्पूर्ण जीवन आन्दोलनमा बिताएका हिरामणि सुवेदीलाई अहिलेको काङ्ग्रेस र नेता देखेर भित्रभित्रै रिस उठ्छ। विपी कोइराला, गणेशमान सिंह, सुवर्णमशेर, कृष्णप्रसाद भट्टराई लगायतका सबै नेता पोखरा जाँदा उहाँकै घरमा बस्नुहुन्थ्यो र सुनौलो नेपालका कुरा गर्नुहुन्थ्यो।

तर, अहिले भने कांग्रेसका पुराना नेताको सबै सपना भताभङ्ग भएको उहाँको बुझाई छ। ‘हामी धनी छौं, अरुलाई पनि धनी बनाउनपर्छ भनेर लागेका थियौं, तर अहिले भने आफू धनी बन्ने अरुलाई गरिब बनाउने राजनीतिले चर्चा पाउन लाग्यो’-पुराना दिन सम्झँदै उहाँले दुखेको पोख्नुभयो-‘निश्वार्थ राजनितीका जमाना गैसकेछन्।’

नेपाली काङ्ग्रेसलाई नै जीवन ठानेर राजनीतिमा होमिएका हिरामणिलाई पोहोरसाल प्रजातन्त्र सेनानीको दर्जा दिनुबाहेक कसैले केही गरेको छैन। यति लामो समय राजनीति गरेर पनि ठूला पदमा किन जानुभएन त भन्ने प्रश्नमा गम्भीर हुँदै हिरामणि सुवेदी भन्नुहुन्छ-‘अरुलाई के दोष लाउनु र, समयअनुसार मैले नाच्न जानिन, कुनैकुनै मान्छे दुर्इ फन्का नाचेर दुनो सोझाउँछन तर मैले जिन्दगीभर नाचेर पनि दुनो सोझयाउन जानिँन्।’ काङ्ग्रेस पार्टीकार्यालयको आँगनमा मलिन अनुहार लगाउँदै हिरामणी सुवेदीले भन्नुभयो-‘सबै अन्याय अत्याचारको अन्त्य, भगवान कृष्ण भगवानले जुरक्क गोकुल उचालेझै गरेर प्रजातन्त्र आएपछि त समस्या समाधान हुन्छन भनेर ३० वर्षसम्म जेलनेल प्रवासको तपस्या ग‍र्‍यौं, तर अहिले आएर त हेरेको हेर्‍यै बनाए।’

अहिलेको महाधिवेशनको बारेमा उनको भनाइ छ-‘यो भोटेचेला लाग्नेलाई कसैले बोलाउनुपर्ने रहेनछ आफै उफ्र’दै, नाँच्दै आउने रहेछन्, आफूले पार्टीका गरेको त्यागलाई भुलेको गुनासो गर्दै हिरामणि भन्नुहुन्छ-‘मेरा चेलाहरुले पार्टीका पकड जमाएका छन् तर मलाई देखेको नदेख्यै गर्छन्।’

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै