आदर्श समाज (सामाजिक संस्था) को यात्रा

आदर्श समाज सम्वाददाता
माघ २३, २०७२

माछापुच्छ्रेको काख र सुन्दरनगरी पोखरामा अवस्थित सामाजिक क्रियाकलापमा अग्रसर सु-परिचित संस्थाको नाम होः आदर्श समाज। पोखरा-१२, रानीपौवा, पुरानोधारा चोकमा रहेको यो संस्थाको अहिले रजत वर्ष चलिरहेको छ।

मानिस सामाजिक प्राणी हो। उ समाजमा बस्न र बाँच्छ। उसले आफ्ना आवश्यकता समाजबाट मात्र पूरा गर्न सक्छ। व्यक्ति-व्यक्ति मिलेर संस्थाको परिकल्पना गरिन्छ। त्यसपछि समाज गठन, दर्ता, सञ्चालन प्रक्रियाबाट अघि बढ्छ। सोही क्रममा २०४६ सालक अन्त्यतिर पनि भेला, बैठक, जमघट भएर बस्न दिइदैनथ्यो। त्यस्तो संघर्षकालीन समयमा पनि पोखरा-११ र १२ कासामाजिक भावनाको विकासले प्रेरित केही व्यक्तिको एक समूह गठनको थालनी भयो। त्यस बेलाको समूह गठनको उदेश्य भनेको विवाह, व्रतबन्ध, काजकिरियाको अर्थात् अर्को भाषामा जिउँदोको जन्ती मर्दाको मलामीका साथै दुःख, सुखमा साथ दिनका लागि थियो। सोही कार्यका लागि संस्थापक सदस्यहरूले २०४७ साल पुस ७ गते २५ जनाको भेलाले ‘आदर्श समाज’ नामाकरण गरी २०४७ माघ २१ गते जिल्ला प्रशासन कार्यालय कास्की र २०५८ सालमा समाज कल्याण परिषद् काठमाण्डौमा विधिवत रूपमा दर्ता गरे। कार्यसमितिको दुर्इ वर्षको कार्यकाल राख्दै संस्थालाई नेतृत्वदायी भूमिका निर्वाह गर्नका लागि संस्थापक अध्यक्ष भीमप्रसाद कोइराला र त्यसपछिका अध्यक्षहरू होमनाथ कोइराला, सूर्यनाथ कोइराला, शम्भुराज बास्तोला, राधेश्याम कोइराला र चन्द्रनाथ कोइरालाले निरन्तरता दिए। त्यसपछि म आफैंलाई त्यो जिम्मेवारी लिने सुअवसर प्राप्त भयो। यसैगरी कृष्णप्रसाद कोइरालाले पनि अध्यक्षको जिम्मेवारी बहन गर्दै त्यो जिम्मेवारी शिवप्रसाद कोइरालालाई हस्तान्तरण गरेका छन्।

मलाई लाग्छ कुनै पनि संस्था जन्माउन सजिलो हुन्छ, हुर्काउन, बढाउन, संस्थागत गर्न त्यत्तिकै गाह्रो छ। स्थापनाकालदेखि आजसम्म आइपुग्दा विभिन्न आरोह-अवरोह पार गर्दै सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै २५ औं वसन्त तथा रजत वर्ष बिदाइ गर्ने तरखरमा जुटेको छ। संस्थामा डाक्टर, इन्जिनियर, प्राध्यापक, प्राविधिक, शिक्षक, व्यापारी, कर्मचारी, गृहिणी, कृषक, विद्यार्थी आदि सम्मिलित छन्। आजसम्म संस्थामा आजीवन सदस्य ४१ जना र साधारण सदस्य ३८ जना गरी  ७९ सदस्य हरदम क्रियाशील छन्।

संस्थाको उद्देश्यमा समाजमा रहेका विकृति, विसंगति, कुरीति एवं अन्धविश्वासलाई हटाउँदै, व्यक्तित्व विकाससँगै नेतृत्व विकास गरी सामाजिक रुपान्तरण र क्रियाकलापमा अग्रणी भूमिका निर्वाह गर्ने, हरेक सांस्कृतिक, धार्मिक, नैतिक, आर्थिक, शैक्षिक, सामाजिक र सहयोगात्मक भावनाले अगाडि बढ्ने विषयहरू थप भएका छन्। र, सोही अनुसार संस्था अगाडि बढेको छ।

स्थापना कालदेखि हालसम्म यस संस्थाले सामाजिक, आर्थिक, नैतिक, भौतिक, सांस्कृतिक, शैक्षिक, सामाजिकलगायत विभिन्न पक्षबाट समाजमा योगदान पुर्‍याउँदै आएको छ। समाज विद्यमान विसंगति हटाउने खालका कार्यक्रमको आयोजना गर्ने, पर्व तथा संस्कृतिको जगेर्ना गर्नका लागि खुल्ला तीजगीत प्रतियोगिता, फागु -होली) खेल्ने कार्यक्रम, कृष्णजन्माष्टमीको उपलक्ष्यमा झाँकीर्‍यालीको आयोजना, विभिन्न अवसर पारेर शुभकामना आदानप्रदान, विभिन्न विधामा सम्मान, मार्गर्दर्शन, पारिवारिक वनभोज, वाषिर्कोत्सवमा वृद्धाश्रम, विद्याश्रम, आश्रम, अनाथ असहायलाई आर्थिक तथा जिन्सी सहयोग, विभिन्न मठ, मन्दिर, घाट, विद्यालयको निर्माणार्थ लगाइएका महायज्ञमा आर्थिक सहयोग, रक्तदान, सदस्यता विस्तार, समाजका परिवारका किरियापुत्रीलाई आवश्यक सहयोग गर्ने र सदस्यका बीचमा आएकासमस्याको न्यायिक छानबिनका साथै विभिन्न सीपमूलक, शिक्षामूलक तालिम वाषिर्क कार्यक्रमकै रूपमा चलिरहेका छन्। यसले संस्था-संस्थाबीचको अन्तरसम्बन्ध प्रगाढ बनाउनका लागि अहिलेसम्म पोखरा वृद्धाश्रम, राष्ट्रिय परोपकार महासंघ, राधाकृष्ण वृद्धाश्रम, लेखनाथको आजीवन सदस्यता गैर-सरकारी संस्था महासंघको सदस्यता, पोखरा चिसाखोला वेदविद्याश्रमको अक्षयकोष दाता, पुरानोधारा विशेश्वर महादेवको अक्षयकोष दाताको रूपमा पनि रहेको छ।

सदस्यबाट सङ्कलित रकमबाट रानीपौवा, पुरानोधारामा निर्माण भएको दुर्इतले पक्की भवनमा कार्यालय स्थापना गरी सेवा प्रदान गरिदै आएको छ भने हाल संस्थाका सदस्यका लागि मात्र नभइ छरछिमेकमा समेत आवश्यक देखिएको संस्कार सदन निर्माण गर्नका लागि करिब दुर्इ आना जग्गा खरिद गरिएको छ। उक्त जग्गामा संस्कार सदनका लागि ट्रस निर्माण भइसकेको छ।

संस्थाको इतिहासलाई हेर्ने हो भने पूर्वार्द्धमा संस्था गठन, विधान निर्माण, दर्ता प्रक्रिया, सदस्यता विस्तार, आयस्रोतको खोजी, भवन निर्माणका लागि जग्गाको खोजीमा रहृयो भने मध्यतिर भवन निर्माण गरी आन्तरिक व्यवस्थापन, विभिन्न कार्यक्रमको आयोजना गर्नुका साथै वर्तमानमा समाजलाई आर्थिक, सामाजिक, भौतिक, सांस्कृतिक, धार्मिक, नैतिक, शैक्षिक क्रियाकलाप र गतिविधिमा अग्रसर हुँदै बहुआयामिक ढंगबाट अगाडि बढेको छ। कुनै पनि संस्थालाई अगाडि बढाउन आर्थिक पक्षको महत्वपूर्ण भूमिका हुन्छ। नियमित आम्दानीको स्रोत नभएता पनि जेजति क्रियाकलाप हुने गर्दछन्, ती सबै सदस्यहरूको स्वेच्छिक सहयोग, श्रमदानबाट नै सम्भव भएको छ। त्यसका लागि छिमेकी तथा शुभचिन्तकहरूको सकारात्मक सोच तथा कार्यबाट हामीलाई प्रेरणा र हौसला मिलेको छ।

अब समुदायमा आधारित आवश्यक कार्यक्रम सञ्चालन गर्नका लागि नियमित आम्दानीको स्रोत खोजी गर्नुपर्ने, सदस्यता थप गर्नुपर्ने, समाजमा दीर्घकालीन रूपमा टेवा पुग्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने, भइरहेका उल्लेखनीय कार्यलाई निरन्तरता दिइनुपर्ने, संस्कार कार्य गर्नका लागि भइरहेको जग्गामा अझ थप गरी व्यवस्थित भवन निर्माण गर्नुपर्ने देखिन्छ। संस्थाले शिशु अवस्थाबाट बाल्यकाल पूरा गरी यौवन कालसम्म आउँदा विभिन्न उतावचढाव पार गरेको छ।

यसले स्थापना कालदेखि हालसम्मका गतिविधि तथा क्रियाकलापलाई समेटेर रजत वर्षको पूर्व सन्ध्यामा ‘आदर्श दर्पण’ नामक स्मारिकासमेत प्रकाशन गरिसकेको छ। संस्था भावी दिनमा नयाँ सोच, विचार र योजनाका साथ हातमा हात मिलाउँदै सामाजिक कार्यमा अगाडि बढ्नेछ।

यसै सर्न्दर्भमा रजत वर्षको अवसरमा यही माघ २१ गतेदेखि २३ गतेसम्म त्रि-दिवसीय कार्यक्रम गरिँदै छ। जसअन्तर्गत २१ गते वडा नं. ११ र १२ का टोल विकास संस्थाका सदस्य तथा टोलका सदस्यको भेला गराइ फोहोर मैला व्यवस्थापन तथा वातावरणसम्बन्धी सचेतना र २२ गते बाल कल्याण प्रावि पोखरा-२४, दम्सादीका जेहेन्दार तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान,  झोला, पोशाक र स्टेसनरी गरिएको छ। २३ गते टोल समुदायलाई लक्षित गरी निःशुल्क रक्त ग्रुप, मधुमेह परीक्षण र प्राविधिक स्वास्थ्य सल्लाहका साथै सोही अवसरमा संस्थालाई यहाँसम्म ल्याई पुर्‍याउन योगदान दिने संस्थापक अध्यक्ष तथा सदस्यहरू, पूर्व अध्यक्षहरूलाई सम्मान गर्दै त्रि-दिवसीय कार्यक्रम समापन गर्ने तयारीमा जुटेका छौं।

अन्त्यमा, संस्थाद्वारा वाषिर्क रूपमा सञ्चालन हुँदै आएका उल्लेखनीय र प्रशंसनीय कार्यलाई अझै रचनात्मक र प्रभावकारी ढंगबाट सञ्चालन गर्दै टोल, समुदाय, क्षेत्र र राष्ट्रकै उदाहरणीय नमुना संस्थाका रूपमा पहिचान दिन सफल होस् र सच्चा आदर्श समाज भएर युगौयुग बाँचिरहोस् भन्दै २५ औं वसन्तमा रमेको अवसरमा संस्थाको उत्तरोत्तर प्रगतिले थप उचाई चुमोस् भन्ने शुभकामना व्यक्त गर्दछु।

(कोइराला आदर्श समाज -सामाजिक संस्था)का पूर्व अध्यक्ष हुन्।)

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width