पर्यटक लोभ्याउँदै अमलटारी मध्यवर्ती होमस्टे

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७६
4

नवलपुर जिल्लास्थित पूर्वी भागको कावासोतीमा ६ वर्षदेखि संचालित अमलटारी मध्यवर्ती होमस्टे देशभर चर्चित छ । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको अमलटारी गाउँमा थारु तथा बोटे समुदायको गरी २४ वटा होमस्टेहरु संचालित छन् । हजारौं स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा दिइसकेको यहाँको होमस्टेले स्थानीयको जीवनमा कायापलट ल्याएको त छ नै पर्यटकले समेत पर्यापर्यटनको आनन्द लिइरहेका छन् ।
विशेषगरी पर्यटकहरुले सफारी भन्नेबित्तिकै चितवन निकुञ्जलाई नै सम्झन्छन् तर चितवनभन्दा कोलाहलमुक्त अमलटारीको सामुदायिक वनमा विभिन्न प्रजातिका जीवहरु पाइन्छन् । होमस्टेले पर्यटकका लागि हात्ती सफारीदेखि जिप सफारी, जंगलवाक, नारायणी नदीमा डुंगा शयरदेखि थारु नाच देखाउने गर्छ । जिप सफारीबाट पर्यटकहरुले सिजन अनुसार जनावर तथा पक्षीहरु देख्ने गर्छन् । गर्मी चढ्न अझै बाँकी भएकोले वनभित्रका आहाल तथा पोखरीमा गैँडा देखिँदैनन् तर अबको केही सातामा गर्मी छल्न एकै ठाउँ धेरै गँैडाहरु देखिनेछन् । गर्मी शुरु हुँदै गर्दा साइबेरियाबाट हजारौं माइल पार गर्दै आएका चखेवाजस्ता पाहुना चराहरु अब आफ्नो बासस्थन फर्कने बेला भएको छ । बैशाख नलाग्दै नारायणी नदीमा हाल देखिने चखेवा तथा अन्य चराहरु साइबेरिया गइसक्ने छन् । मयुर, राजा हाँस तथा पाहुना चराहरु एकै ठाउँ चर्दै गरेको दुर्लभ दृश्य अहिले नवलपुरको मध्यवर्ती सामुदायिक जंगलका नदी किनारमा देखिन्छन् । नारायणी नदीको तिरमा घाम तापेको घडियालहोस् अथवा नदीमा डुबुल्की मारिरहेका पाहुना चरा, यस्ता दृष्यले पर्यटकको मन लोभ्याउँछ । एक बिहानै घरकै आगँनमा मयुरहरु नाचिरहेका समेत देखिन्छन् ।


विसं २०७० मा शुरु गरिएको यस होमस्टे संचालन गर्नुअघि यहाँका स्थानीयले बर्दिया जिल्लामा रहेको डल्ला होमस्टे गएर व्यवस्थापकीय अवलोकन गरेका थिए । होमस्टे नं. ७ का नवीन महतोका अनुसार यस गाउँमा २४ वटा होमस्टे छन् । जसमा थारु समुदायको २१ र बोटे समुदायको ३ वटा होमस्टेहरु छन् । यी होमस्टेमा प्रत्येकमा २ वटा कोठा र ४ खाटहरु छन् । यी सबै होमस्टेले एकैदिन कम्तीमा ८० जनालाई सेवा दिन सक्छन् । अन्य ठाउँका होमस्टे जस्तो खाजा, खाना र बासको संयुक्त प्याकेज छैन । जे खाइन्छ त्यस्को मात्र रकम तिरे पुग्छ । कोठाको ६ सय, मासु खानाको २ सय ५० र सादा खानाको १ सय ५० तोकिएको छ । मासु खानामा लोकल कुखुरा, सुँगुर, हाँस, नारायणी नदीको माछा मध्ये रोजेर पाइन्छ । यस्तै, हाँडीमा बाफ दिएर पकाइने चिचर (अनदी चामलको भात) यहाँ दोहो¥याएर आउने पर्यटकले छुटाउँदैनन् । चिचर विशेष माघी पर्व, फागुण पूर्णिमाको एक दिन अगाडि केराको पातमा अथवा हाँडीमा बफाएर पकाउने गरिन्छ । सजुवा रोटी पनि होमस्टेको अर्को परिकार हो जसमा चामलको पिठोलाई लाम्चो बनाएपछि बफाएर पकाइन्छ । घोगी पनि यहाँको विशेष परिकार हो तर घोगी खान भने जानु अगाडि नै अर्डर दिनुपर्छ । केही होमस्टेहरुले आफ्नै होमस्टेको जग्गामा माछा पोखरी बनाएर कमन ग्रास, नैनीजस्ता माछाहरु पालेका छन् ।
यस होमस्टेमा समूहमा विद्यार्थीका भ्रमण, तालिम कार्यक्रम, सेमिनार, कार्यालहरुको वार्षिक कार्यक्रम लिएर आन्तरिक पर्यटक आउँछन् । पछिल्लो पटक कोराना भाइरसको कारण पर्यटक घटिरहेको बेला यहाँ भने स्वदेशी र विदेशी पर्यटक आएका छन् । पर्यटक दिउँसोभरि कार्यक्रम गरी राति क्याम्पफायर गर्छन् भने राति थारु सास्ंकृतिक कार्यक्रम हेर्ने गर्छन् । होमस्टेले संचालन गरेको सांस्कृतिक हलमा राति ८ बजे सांस्कृति नाच देखाइन्छ । एक सय रुपैयाँ तिरेर पर्यटकहरुले बोटे समुदायको बोटे नाच तथा थारु समुदायको झुमरा नाच, जोगेडा नाच तथा लाठी नाच हेर्न पाउँछन् ।
होमस्टे शुरुपछि हालसम्म ७० हजार बढी पर्यटक आएका छन् । जसमा विदेशी पर्यटकमात्र ७ हजार छन् ।
पर्यटकबाट एउटा होमस्टले कम्तीमा २५ हजारदेखि ६० हजार रुपैयाँ हजार आम्दानी गर्छन् । जसका कारण पछिल्लो केही वर्षयता विदेश पलायन हुने युवाको संख्यामा कमी आएको होमस्टेका संचालक नवीन महतो बताउछन् । होमस्टे बाहेक उनीहरुको खेत, पशुचौपायाँ समेत भएकोले थाप आम्दानी गर्न सफल छन् ।
होमस्टेबाट १ किमीको दुरीमा रहेको थारु संग्रहालयले थारुहरुको जन्मदेखि मृत्यसम्म प्रयोग हुने समग्रीबारे जानकारी दिन्छ । थारु समुदायका पुर्खाले लगाउने काठबाट बनाइएको चप्पल, उनीहरु पहिरन, लुगा तथा अन्न राख्ने अलगअलग भकारी, माछा मार्ने सामग्री संग्रहालयमा अवलोकन गर्न पाइन्छ ।

खर्च र बसाइँः
हरेक दिन दिउँसो १ः२० बजे नवलपुर डण्डाको लागि पोखराबाट बस छुट्छ । सो बस नपाइएमा बुटवल भैरहवा जाने बस चढेर डण्डा ओर्लिनुपर्छ । पोखराबाट डण्डा महेन्द्रराजमार्गसँग जोडिएको छ, जसको दुरी यहाँबाट १ सय ७५ किमी छ । डण्डाबाट ७ किमीभित्र टेम्पो लिएर गएपछि होमस्टे पुगिन्छ । २ दिनको खाना, बास, जिपसफारी, कल्चर नाच तथा यातायात खर्च गरि बढीमा ६ हजार रुपैयाँ लाग्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width