औद्योगिक व्यापार मेला पुरानै नाममा पुसमा

आदर्श समाज सम्वाददाता
असार ४, २०७६
pcc_Fotor

सफल एक्स्पो पोखरा एवं तेस्रो मोबाइल मेला–२०७५ नाममा गत वर्ष मंसिरमा पोखरामा आयोजित मेला पुनः पूर्ववत् राष्ट्रिय औद्योगिक व्यापार मेलाको नामले आगामी पुसमा हुने भएको छ।

एक्स्पोको हिसाब सार्वजनिक गर्न मंगलवार आयोजित कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले सो जानकारी दिएका हुन्। एक्स्पो वा मेला दुवैको उद्देश्य उत्पादक र उपभोक्तालाई एउटै थलोमा जम्मा गराउने रहेको स्मरण गराउँदै संघले पोखरेलीको सुझावलाई मनन गर्दै पुरानै नाममा फर्कने निर्णय गरिएको बताए। मेला पुस १८ देखि २८ सम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुनेछ।

गत मंसिर १३ देखि २४ सम्म पोखराको प्रदर्शनी केन्द्रमा आयोजित एक्स्पोबाट ३ लाख ८७ हजार २ सय २ रुपैयाँ बचत भएको जानकारी पनि संघले दिएको छ। एक्स्पोमा भएको प्रायोजन, टिकट बिक्री तथा स्टल भाडाबाट कुल ९२ लाख ४३ हजार ६ सय ७० रुपैयाँ आम्दानी भएकोमा विभिन्न शीर्षकमा गरी ८८ लाख ५६ हजार ४ सय ६७ रुपैयाँ खर्च हुन पुगेको हिसाब दिइएको छ।

एक्स्पो करिब १ लाख २० हजारले अवलोकन गरेको अनुमान गरिएकोमा टिकट नै काटेर अवलोकन गनेर्को संख्या २३ हजार ५ सय ५ रहेको जानकारी दिइएको छ। बचत रकम सामाजिक कार्यमा खर्च गर्ने जनाएको हो। संघले सामाजिक उत्तरदायित्व बहनको जिम्मेवारीबोध गर्दै बालश्रम न्यूनिकरण कार्यक्रमको लागि टिकटमा नै छुट्याइएको १ रुपैयाँले बालश्रम न्यूनिकरणमा टेवा पुग्ने विश्वास संघले व्यक्त गरेको छ।

पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादन प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पुर्याउने उद्देश्य एक्स्पोले लिएको थियो।

पोखराको औद्योगिक घराना लक्ष्मी समूहको सफल ब्राण्ड उक्त एक्स्पोको टाइटल स्पोन्सर रहेको थियो भने नेपाल मोवाइल वितरक संघ, पोखराले एक्स्पोमा सहकार्य गरेको थियो। संघको आयोजना एवं पोखरा महानगरपालिका, पोखरा उपत्यका नगर विकास समितिको सहयोग, लक्ष्मी समूहको मूख्य प्रायोजन, नेपाल पर्यटन वोर्डसहित आइएमई ग्रुपको प्रवद्र्धनमा एक्स्पो आयोजना भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width