‘चुनावी प्रतिबद्धताअनुसार काम हुँदैछ’

आदर्श समाज सम्वाददाता
वैशाख १, २०८१
Mayor Madan

मदनभक्त अधिकारी नगरप्रमुख, गैंडाकोट नगरपालिका

दोस्रोपटक भएको स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित भएर आएपछि हामीले गैँडाकोट नगरपालिका क्षेत्रभित्र पूर्वाधारका कामहरू तीव्र रुपमा गरिरहेका छौं । निर्वाचित भएर आएपछिको करिब यो २ वर्षमा हामीले सडक कालोपत्रसहित, उच्चस्तरीय ग्राबेल, सडकको नयाँ ट्रयाक खोल्ने, ग्राबेल गर्ने तथा सडकमा मोज्याक टायल बिच्छाउने काम गरेका छौं । सडकसँगै विद्यालय भवन, सामुदायिक भवन, सत्तल, किरियापुत्री भवन आदि संरचनाहरु निर्माण गरिएको छ । नगरपालिकाले कक्षा ५ सम्म निशुल्क शिक्षा पु¥याउने भनेर गरेको घोषणा हामीले पूर्णरुपमा कार्यान्वयन गरेका छौं । यस अवधिमा कक्षा ४, ५ र ७ मा स्थानीय पाठ्यपुस्तक छपाइ गरी वितरण गरिएको छ ।

हामीले चुनावताका गरेको प्रतिबद्धताअनुसार कामलाई निरन्तरता दिएका छौं । हामीले सक्ने काम गरिरहेका छौं भने केही काम संघीय सरकारको नीति नियमका कारण पूरा गर्न सकेका छैनौं । कृषितर्फ किसान सूचीकरण कार्यक्रम सञ्चालन गरि गैंडाकोट ७, ८ र ९ मा कार्य आरम्भ गरिएको छ । गैंडाकोट स्वास्थ्य चौकी र नगर अस्पतालमा प्रसूति सेवालाई प्रभावकारी बनाइएको छ । हामीले घरघरमा वृद्धभत्ता पु¥याउने भनेर चुनावी घोषणापत्रमा उल्लेख गरेका थियौं । तर, सरकारको नीतिका कारण त्यो पूरा गर्न सकेनौं ।

नगरपालिकाभित्रका सुकुमबासीलाई जग्गा प्रदान गर्ने गरी काम भइरहेको छ । भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थितहरु बसेकै ठाउँमा जग्गा दिने तयारी गरेर बसेका थियौँ तर केन्द्रमा सरकारको समीकरण परिवर्तन हुँदा जग्गा दिने काम अहिले नै पूरा हुने सकेको छैन । तर, उनीहरुलाई जग्गा दिनका लागि गर्नुपर्ने सबै प्रक्रिया पूरा भएर जग्गा नापजाँच गर्नमात्रै बाँकी छ । अब आउने आयोगले जग्गाको नापजाँच गरेर १८ वटै वडाका सुकुमबासीलाई जग्गा दिनसक्ने गरी तयारी गरेका छौं ।

धार्मिक र पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले समन्वय गरेर काम भइरहेको छ

नगरभित्रका सामुदायिक विद्यालय भवन निर्माणको काम भइरहेको छ । विकास निर्माणको काम द्रुत गतिमा भइरहेको छ । नगरपालिकासँगै रहेको आधारभूत स्वास्थ्य केन्द्रलाई ५ शय्याको अस्पताल बनाउने गरी काम भइरहेको छ । अस्पताल बनाउनका लागि भवनको शिलान्यास गरेर काम अघि बढिसकेको छ । भेडाबारीको नगर अस्पतालबाट नगरवासीहरुले बिमाको सेवा प्राप्त गर्ने वातावरण सिर्जना गरेका छौं । नगर अस्पतालमा गर्भवतीलाई राख्न आमा घर सञ्चालन गरिएको छ । सुत्केरी हुनुभन्दा केही दिन अगाडि गर्भवतीहरु त्यहाँ आएर बस्ने र सुत्केरी भएपछि ५ हजार रुपैयाँ दिएर पठाउने गरिएको छ ।

नगर अस्पतालको नयाँ भवन निर्माणको काम अहिले पुनः अघि बढेको छ । पैसा निकासा नहुँदा रोकिएको काम पैसा निकासा भएपछि भवन निर्माण काम अगाडि बढेको हो । अहिले भवनको भौतिक प्रगति ५० प्रतिशत भन्दा बढी भइसकेको छ । नगरलाई सफा र सुन्दर बनाउने हाम्रो तयारीस्वरुप गैंडाकोट–६ मा ल्यान्डफिल निर्माण गर्ने तयारी गरेका थियौँ । तर, फोहोर व्यवस्थापनमा राजनीतिक प्रतिशोध साँधियो । त्यहाँ स्थानीयले अवरोध गरेपछि हामीले ल्याण्डफिल बनाउने जग्गा अन्यत्र खोज्यौं । अहिले वडा नम्बर ७ मा ल्यान्डफिल साइट निर्माण गर्ने गरी तयारी अगाडि बढाएका छौं । त्यहाँ बन्ने ल्यान्डफिल साइटको लागि जनप्रतिनिधिको टोलीले कैलालीको धनगढी र रुपन्देहीको तिलोत्तमाको फोहोर व्यवस्थापनको काम अवलोकन गरेर आएका छन् । अब त्यहिँको सिको गरेर हामीले पनि फोहोरबाट मोहर प्राप्त गर्नेगरी काम गर्दैछौं ।

नारायणी नदीको किनारै किनार जैविक पर्यटकीय मार्ग निर्माण गर्नेगरी गुरुयोजना बनाएर काम अगाडि बढेको छ । नारायणी नदीकिनारमा तटबन्ध सहितको सडक निर्माणको काम सुरु गरिएको थियो तर, केन्द्रले बजेट नपठाउँदा काम अधुरो भएको छ । गैंडाकोटको वडा नम्बर ९ मा करिब ५ सय मिटर ड्यामसहितको सडक निर्माण भए पनि त्यो योजना निरन्तर भएको छैन । यद्यपि वहुवर्षीय योजना भएकाले बजेटको सुनिश्चितता भएर काम सुरु हुनेमा हामी विश्वस्त छौं । हाम्रो ऐतिहासिक धरोहर गैंडाकोट–११ मा पर्ने मुकुन्दसेन दरबार पुनः निर्माणका लागि बजेट विनियोजन गरेका छौं । गैंडाकोट–१ मा पर्ने मौलकालिका मन्दिरबाट पहाडको धुरी हुँदै बौदीकाली गाउँपालिकासम्म पदमार्ग निर्माणको तयारी थालिएको छ । आफ्नो पालिकामा पर्ने पदमार्ग आफैले निर्माण गर्न ८ वटै पालिकाबीच सहमति भएर महत्वपूर्ण योजना अगाडि सारेका छौं ।

गैंडाकोट नगरपालिकाभित्र समथर भागमात्रै नभएर सुन्तला फल्नेसम्मका पहाडी जमिन छन् । नगरभित्र सडकको सहज सञ्जाल विस्तारसँगै खानेपानी, कृषि, शिक्षा, रोजगारलगायतका विषयमा हामीले ध्यान दिएर काम गरेका छौं । यहाँको धार्मिक र पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले समन्वय गरेर काम गरिरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • एमाले नेता अर्जुन अधिकारीलाई मातृशोक

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सदस्य अर्जुन अधिकारीलाई मातृशोक परेको छ । उनका ६० वर्षीया ममतामयी माता दुर्गादेवी…
  • लेकसिटीमा विश्वकल्याण

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    पोखरा । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरको १७ औं साधारण सभा तथा अधिवेशनले संचालक समिति अध्यक्षमा प्राडा विश्वकल्याण पराजुलीलाई चयन…
  • कलाकार माओत्से गुरुङ सम्मानित

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    पोखरा । पोखरेली कलाकार एवं निर्देशक माओत्से गुरुङ सम्मानित भएका छन् । संविधान दिवस सन्दर्भमा चलचित्र विकास बोर्डद्वारा शुक्रबार आयोजित…
  • पोखरा उद्योग वाणिज्य संघ नवनिर्वाचित समितिलाई लेउवा संघको स्वागत

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    लेखनाथ । पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित टिमलाई लेखनाथ उद्योग वाणिज्य संघले शुक्रबार स्वागत तथा बधाई ज्ञापन गरेको छ ।…
  • अनेमसंघ (क्रान्तिकारी) गण्डकीमा गीता शाही

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    पोखरा । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गण्डकीको प्रथम सम्मेलनले गीता शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । बिहीबार राति…

hero news full width