पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०८१
pcc 1

मतदान प्रक्रियामा अध्यक्षका प्रत्यार्सी गोकर्ण कार्की र अर्जुन पोखरेल लगायत ।

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि शनिबार मतदान भएको छ । पोखराको सबैभन्दा जेठो संस्थाको ३५ औं महाधिवेशनअन्तर्गत बिहान ८ देखि साँझ ५ बजेसम्म गैह्रापाटनस्थित संघ परिसरमा मतदान समय तोकिएको थियो ।
जसमा २ हजार २ सय ५१ मत खसेको निर्वाचन समितिले जनाएको छ । कुल २ हजार ९ सय ७ जना मतदातामध्ये करिब ७ सय जना अनुपस्थित रहे । मतगणना आइतबार बिहान ८ बजेदेखि हुने समितिले जनाएको छ ।

संघको आगामी नेतृत्वका लागि अर्जुन पोखरेल र गोकर्ण कार्की प्रतिस्पर्धामा छन् । पूर्व महासचिव समेत रहेका पोखरेल यसअघि ३४ औं महाधिवेशनमा अध्यक्षमा पराजित भएका थिए । कार्की वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पदमा कार्यरत् छन् ।

चुनावमा पोखरेल आफ्नो प्यानलसहित होमिएका छन् । अघिल्लो कार्यसमितिका पदाधिकारीलाई सम्हाल्न नसक्दा कार्की भने एक्लै चुनावमा छन् । वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोज श्रेष्ठ निर्विरोध निर्वाचित भैसकेका छन् । पदाधिकारीतर्फ अध्यक्षसहित उपमहासचिवमा मात्रै मतदान भएको हो । उपमहासचिवमा पोखरेल प्यानलबाट बालकृष्ण कोइराला प्रतिस्पर्धामा छन् भने हालका सदस्य सुदीप प्रधानाङ्गले उनलाई चुनौती दिएका छन् ।

कार्य समिति सदस्यतर्फ खुला १० सदस्यका लागि १४ जना प्रतिस्पर्धी छन् । जसमा देवेन्द्र प्रजु, टीकाराम सुवेदी (माधव), ललितजंग कुँवर, भीम गौतम, प्रेमप्रसाद सुवेदी, सौगात थापा, यादवप्रसाद पोखरेल, जीवनप्रकाश श्रेष्ठ, दूधमान गुरुङ (आशीष), लेखनाथ सुवेदी, रामचन्द्र तिमिल्सिना, विष्णुप्रसाद तिमिल्सिना, विनोद केसी र प्रदीपराज राजभण्डारी चुनावी मैदानमा छन् ।

वस्तुगततर्फ ४ जनाका लागि दुर्गा बराल, नवीन नापित, पूर्णशोभा गुरुङ, पृथ्वीराज तिमिल्सिना, सूर्यराज घिमिरे (सुरेश), दीपेन्द्र कोइराला र लालप्रसाद ढकाल गरी ७ जनाबीच प्रतिस्पर्धा छ ।

आगामी २ वर्षे कार्यकालका लागि कार्यसमितिको पदाधिकारीमा अध्यक्षसहित ७ जना, सदस्यतर्फ खुला १०, वस्तुगत ४, एसोसियट २ र उद्योगतर्फ १ सदस्य निर्वाचित हुने व्यवस्था छ ।

शुक्रबारदेखि सुरु महाधिवेशनको उद्घाटन गर्दै पोखराका मेयर धनराज आचार्यले महानगरपालिका उद्योग वाणिज्य संघसँग सहकार्य गर्न तयार रहेको बताएका थिए । ‘पोखराको व्यवसाय प्रवद्र्धन गर्न र बजारलाई चलायमान बनाउन महानगरपालिका तपाईंहरुको साथमै छ,’ उनले भने, ‘अहिले जुन समस्या छ, यसलाई निराकरण गर्नका लागि नयाँ टिमले प्रस्ताव लिएर आयो भने सहकार्यका लागि तयार छ । संघले गर्ने हरेक गतिविधिमा महानगरले साथ दिन्छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै