रुपा रिङरोड दोस्रो खण्ड शिलान्यास, लागत ४७ करोड १८ लाख

आदर्श समाज सम्वाददाता
असाेज ३, २०८१
rupa ringroad silanyas final MOPID

पोखरा । रूपा गाउँपालिकामा पर्ने रामकोट–ठूलीवेशी–देउपुरबेंसी–पोल्याङ (रुपा रिङरोड)को दोस्रो खण्डको काम अघि बढेको छ ।

गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बिहीबार रूपा–१ र ७ मा पर्ने उक्त रिङरोडको दोस्रो खण्डको संयुक्त शिलान्यास गरे ।

संघ र प्रदेश सरकारले बराबर आर्थिक भार व्यहोर्ने गरी (समपूरक योजना) ४७ करोड १८ लाख ९१ हजार लागतमा १६.१२९ किमीको उक्त सडक बन्नेछ ।  कार्यक्रममा निवर्तमान मुख्यमन्त्री अधिकारीले प्रदेश सरकार भएकैले यो सडक बन्न लागेकाले प्रदेश संरचनाको आवश्यकता पुष्टि भएको बताए ।

भौतिक पूर्वाधार मन्त्री केसीले समयमै काम सक्न र जनतालाई दुःख दिने काम नगर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले यो रिङरोडको काम सकिएपछि लमजुङ, तनहुँ र कास्कीको आवागमन धेरै सहज हुने विश्वास व्यक्त गरे ।

निर्माण कम्पनीका प्रतिनिधि भीमकुमार श्रेष्ठले काम गर्ने क्रममा स्थानीय स्तरबाट समस्या नभए समयभन्दा अघि नै काम सक्ने प्रतिबद्धता जनाए । सडक निर्माणको ठेक्का एम÷एस जिएनसिपीएल–बिबिआर कन्स्ट्रक्सन जेभी, हेटौंडाले पाएको छ । यसका लागि गत १७ साउनमा निर्माण कम्पनीसँग सम्झौता भएको हो । निर्माण २०८३ माघ १६ सम्म सक्नुपर्ने सम्झौता छ ।

रिङरोडको पहिलो खण्डअन्तर्गत फैंचोकदेखि पोल्याङसम्म १० किमी, रूपा परियोजनाअन्तर्गत ९ किमी सडक बनिसकेको छ । शिलान्यास कार्यक्रममा भौतिक मन्त्रालयका निमित्त सचिव रामकुमार श्रेष्ठ, गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरूङ, रूपा–१ का वडाध्यक्ष रामबहादुर गोदार, रूपा–७ का वडाध्यक्ष कृष्णराज सुवेदी, अन्य जनप्रतिनिधि, नेपाली कांग्रेस रूपा गाउँपालिका समिति सभापति विमल न्यौपाने, माओवादी केन्द्रका प्रतिनिधि माधव पौडेललगायत उपस्थित थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै