नाट्टाको प्रवद्र्धनात्मक कार्यक्रम

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०८०
natta news

पोखरा । नाट्टा गण्डकीको आयोजना एवं गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रवद्र्धनमा गन्तव्य पहिचान एवं प्रवद्र्धन कार्यक्रम भएको छ ।

पर्यटन व्यवसायी, सञ्चारकर्मीसहित १९ सदस्यीय टोलीले ३ दिनसम्म विभिन्न ठाउँको पहिचान एवं प्रवद्र्धन यात्रा गरेको हो । बागलुङ हुँदै कालीगण्डकी करिडोरबाट नवलपुरसम्मको यात्रा गरेको टोली फर्कदा दलदलेबाट डेढगाउँ भीमादको बाटो पोखरा फर्कियो ।

नाट्टा अध्यक्ष हरिराम अधिकारीले बागलुङ र नवलपुरका धार्मिक पर्यटकीय गन्तव्यको पहिचानसँगै तिनीहरूको पर्यटकीय उपयोगका लागि सरोकारवालासँग छलफल एवं अन्तरक्रिया गरिएको बताए ।

टोलीले जैमिनी ऋषिले तपस्या गरेको जैमिनी धामको अवलोकनका साथै उक्त नगरपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यका सम्बन्धमा सरोकारवालाबीच छलफल गरेको कार्यक्रम संयोजक एवं नाट्टा गण्डकी द्वितीय उपाध्यक्ष कमला गिरीले बताइन् । कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापा, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा लगायतले जैमिनी नगरपालिका क्षेत्रमा भएका पर्यटकीय गन्तव्यलाई पर्यटकीय रुपमा उपयोग गरिने बताए ।

गजेन्द्र मोक्षधाममा गरेको कार्यक्रममा गजेन्द्र मोक्षधाम धार्मिक पर्यटकीय स्थल विकास समितिका अध्यक्ष कृष्णप्रपन्नाचार्य, धामका प्रमुख कार्यकारी अधिकृत झपेन्द्र भुुषाल, विनय त्रिवेणी नगरपालिकाका प्रमुख घनश्याम गिरी लगायतले त्यहाँका पर्यटकीय सम्भावनाबारे बताए ।

वाल्मीकी आश्रम अवलोकनमा सीता पाताल प्रवेशस्थलका पुजारी शेखर सुवेदी, मुख्य मन्दिरका पुुजारी रामशरण गिरी लगायतले नेपाल सरकारले यस धार्मिक सम्पदाको संरक्षण र विकासमा बेवास्था गरेको भन्दै दुख व्यक्त गरे ।

प्रिप्रहर सामुदायिक होमस्टेमा भएको कार्यक्रममा देवचुुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपाने, पिप्रहर सामुदायिक होमस्टे ग्रामका अध्यक्ष चन्द्रमाया महत, रजहर सामुदायिक प्राकृतिक चिकित्सालयका निर्देशक डा. विनोद पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रममा धार्मिक पर्यटकीय सम्भावना, घरवास आदि सम्बन्धमा सरोकारवालाबीच छलफल एवम् अन्तरक्रिया गरिएको नाट्टा गण्डकी महासचिव संगीता पौडेलले बताइन् ।
गन्तव्य पहिचान एवं प्रवद्र्धन कार्यक्रमले यस क्षेत्रको पर्यटकीय सम्भावना, चुनौती लगायत विषयमा जानकारी प्राप्त भएको नाट्टा गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष एवं पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width