घान्द्रुक पर्यटन महोत्सव सुरु

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०८०
ghandruk mahotsab day 1

पोखरा । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । मंगलबारदेखि सुरु महोत्सव यही ३० चैतसम्म चल्नेछ ।

अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले महोत्सवको उद्घाटन गर्दै घान्द्रुकको मौलिकता र संस्कृति जोगाउने कर्तव्य सबैको रहेको बताए । ‘अन्नपूर्ण गाउँपालिकाको ७ देखि ११ नम्बर वडा हामीले पर्यटकीय क्षेत्रको रुपमा अगाडि सारेका छौं,’ अध्यक्ष केसीले भने, ‘गाउँपालिकाको पर्यटकीय क्षेत्रको रुपमा १०÷११ मा पर्ने घान्द्रुक पर्यटकको रोजाइको केन्द्र हो । त्यसैले घान्द्रुकको मौलिकता र संस्कृति जोगाउनु हामी सबैको कर्तव्य हो ।’

अध्यक्ष केसीले आफ्नो कार्यकालमा घान्द्रुक आउने सडक कालोपत्र गर्ने बताउँदै घान्द्रुकमा पर्यटकको बसाई लम्बाउने विषयमा केन्द्रित हुनुपर्ने बताए । ‘हाम्रो कार्यकालभित्र घान्द्रुकसम्म आउने सडक कालोपत्र गर्छौ । सडक कालोपत्र भएपछि पोखराबाट केही घण्टामै पर्यटक घान्द्रुक आउन सक्छन्,’ अध्यक्ष केसीले भने, ‘घान्द्रुक आएका पर्यटकको बसाइँ लम्बाउन स्थानीय सरकार, व्यवसायी र स्थानीय त्यस विषयमा केन्द्रित हुनुपर्छ ।’

अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङले घान्द्रुक पर्यटकका लागि स्थापित भइसकेकाले चुनौतीसमेत थपिँदै गएको बताए । ‘घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकको लागि स्थापित भइसकेको छ । हिजोको घान्द्रुक र आजको घान्द्रुकमा परिवर्तन भएको छ,’ वडाध्यक्ष गुरुङले भने, ‘पर्यटकका लागि स्थापित भइसकेको घान्द्रुकलाई जीवन्त राख्न घान्द्रुकको मौलिकता जोगाइराख्न सबैले हातेमालो गर्न आवश्यक छ ।’

कार्यक्रममा अन्नपूर्ण–७ का वडाध्यक्ष भरत गुरुङ, तमु प्हे ल्हु संघ घान्द्रुकका अध्यक्ष प्रेम गुरुङ लगायतले बोलेका थिए । घान्द्रुक पर्यटक व्यवस्थापन समिति अध्यक्ष विक्रम गुरुङको अध्यक्षता भएको उद्घाटन समारोहलाई लामा अमृत फाउण्डेसन संस्थापक अमृत गुरुङले सञ्चालन गरेका थिए ।

यही ३० चैतसम्म चल्ने महोत्सवमा पर्यटकलाई ३० प्रतिशत छुट व्यवस्था

यसैबीच, खुला क्लबस्तरीय बास्केटबल प्रतियोगितामा दाङले घान्द्रुकलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । बास्केटबलतर्फ १२ टिमले भाग लिएका छन् ।

बुधबारदेखि नै भलिबल प्रतियोगिता पनि सुरु हुनेछ । क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ७० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिलातर्फको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

¬पुरुष भलिबलतर्फ विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, उदीयमान खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच) पुरस्कृत गरिनेछ । यस्तै महिलातर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेण्डर, सेटर हुने खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच) पुरस्कृत गरिने अध्यक्ष गुरुङले बताए ।

घोडा दौड प्रतियोगिता विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २७ हजार ७ सय ७७ र तेस्रो हुनेले ११ हजार ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यस्तै चक्रीय पदमार्ग दौड प्रतियोगिताको विजेताले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

ठेलो प्रतियोगितातर्फ विजेताले ८ हजार र उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । महोत्सव अवधिमा ह्विलचियर बास्केटबलको समेत प्रर्दशन गरिने छ ।

बेलुकी विभिन्न जातिका प्रचलित नृत्य तथा सांगीतिक कार्यक्रम प्रस्तुत हुने संयोजक गुरुङले बताए । महोत्सवमा आदिम कला केन्द्रले नृत्यहरु प्रस्तुत गर्नेछन् ।

महोत्सव अवधिभर पर्यटकलाई ३० प्रतिशत छुट व्यवस्था गरिएको छ । घान्द्रुकमा अहिले ७० व्यवस्थित होटल र १७ होमस्टे सञ्चालनमा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width