करिडोरका होटल व्यवसायीलाई तालिम

आदर्श समाज सम्वाददाता
चैत्र २४, २०८०
Tourism gandaki

पोखरा । होटल व्यवसायी महासंघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले होटल व्यवसायी र मजुदरलाई स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहका सम्बन्धमा तालिम दिन सुरु गरेको छ ।

तालिम पहिलो चरणमा कालीगण्डकी करिडोर अन्तर्गतका होटल क्षेत्रका जनशक्तिका लागि आयोजना गरिएको हो । त्यसैगरी मस्र्याङ्दी करिडोरका व्यवसायीलाई समेत तालिमको योजना रहेको छ ।

होटल व्यवसायी महासंघ गण्डकीले शुक्रबार नवलपरासीको गैँडाकोटमा पत्रकार सम्मेलन आयोजना गरी चैत २४ र २५ गते गैंडाकोटमा कालीगण्डकी करिडोरका होटल व्यवसायी तथा त्यसमा काम गर्ने कामदारलाई स्वच्छता र पर्यटकमैत्री सेवा प्रवाहका सम्बन्धमा तालिम दिन लागिएको जनाएको छ ।

महासंघका अध्यक्ष अर्जुन चोखालका अनुसार तालिममा करिडोरअन्तर्गत गैंडाकोट, बुलिङटार, बौदीकालीका गाउँपालिकालगायत नवलपुर जिल्लाभरिका होटल तथा पर्यटन व्यवसायी र कामदा समेत गरी ७० जनाको सहभागिता रहनेछ ।

पोखरा गण्डकी प्रदेशको राजधानी सहर घोषणा भइसकेको सन्दर्भमा पर्यटन क्षेत्रलाई थप पर्यटकमैत्री बनाउने र यस क्षेत्रमा कार्यरत जनशक्तिलाई खाद्य स्वच्छताका बारेमा जानकारी गराउन कार्यक्रम महत्वपूर्ण हुने बताइन्छ ।

सहभागीहरुलाई खाद्य स्वच्छता, सरसफाइ र पोसाक, पर्यटकमैत्री व्यवहार तथा आचरण, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारीबीच सम्बन्ध, व्यवसायको प्रचारप्रसार र प्रवद्र्धन, स्थानीय उत्पादनको व्यावसायीकरण लगायत विषयमा सिकाइने महासंघका महासचिव देवेन्द्र लम्सालले जानकारी दिए ।

तालिमका प्रमुख प्रशिक्षकमा नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मी तथा प्रशिक्षकहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँका प्रमुख ज्योति आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका अधिकृत कुन्दन मिश्र लगायत विषय विज्ञहरु रहेका छन् ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमित्त प्रमुख नवीन पोखरेलले कालीगण्डकी र मस्र्याङ्दी करिडोरमा रहेका साना तथा मझौला व्यवसायी तथा कामदारलाई समेत स्वच्छता र पर्यटकमैत्री व्यवहारका बारेमा सिकाउनु महत्वपूर्ण रहेकाले तालिम आयोजना गरिएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width