हिमचितुवा फोटोग्राफीमा टासीको मोह

धनबहादुर गुरुङ
चैत्र २३, २०८०
Tashi R Ghale Photo Main (2)

पोखरा । डाँडापाखामा फाप्रेको डंगुर कम हुदैछ, हिमालले रुप फेर्दैछ अनि हिउँले आफ्नो मात्रा घटाउँदैछ । सँगै मनाङ बस्ने टासी आर घलेको क्यामेरा र लेन्सले पनि फुर्सद विश्राम लिने दिन नजिकिदैछ । तर, घलेको व्यस्तता झनै बढ्ने वाला छ । अब माथिल्लो मनाङस्थित उनको होटल माउन्टेन लेकमा अब पर्यटकको सिजन सुरु हुँदैछ ।

माथिल्लो मनाङ पुग्ने पर्यटकले उनलाई होटल व्यवसायी भनेर चिने पनि उनी प्रख्यात ‘वाइल्ड लाइफ फोटोग्राफर’ हुन् । वसन्त र शरद ऋतुबाहेक अरु बेला उनको समय क्यामेरासँगै बित्ने गर्छ । अर्थात् अफसिजनमा क्यामेरा । सिजनमा व्यवसाय उनको सेड्युल हो ।

उनले होटल व्यवसाय थालेको जति समय बित्यो, उति नै भयो लेन्ससँगको साइनो । यतिबेला उनको होटलमा पाहुना आउनेक्रम सुरु भइसकेको छ । अबको केही महिना उनी होटलमै व्यस्त हुन्छन् । पाहुनाले मनाङ टेक्न छाडेसी उनी हिमचितुवाको खाजीमा लेकतिर लाग्छन् ।

टासीले मनाङमा बसेर हिमचितुवा र हिमजनावरको फोटो खिच्न थालेको २५ वर्ष पुग्यो । तर, उनले क्यामेरा समाउन सुरु गरेको ३३ वर्ष अघिदेखि हो । मनाङमा २०२५ सालमा जन्मिएका उनको पूरा नाम टासी राप्ते घले हो । चिन्नेले उनलाई टासी आर घलेका रुपमा चिन्छन् । मनाङका उनी शिक्षाका लागि काठमाडौं पुगे ।

पढाइकै क्रममा चित्रकलामा उनको मन गयो । २०४८ सालमा काठमाडौंमा सिर्जना आर्ट ग्यालरीमा २ वर्षको ललितकलाको कक्षा लिए । त्यही कक्षा नै फोटोग्राफीको ‘टर्निङ प्वाइन्ट’ भएको उनी सम्झन्छन् । ‘मैले क्यामेरा समाउने टर्निङ प्वाइन्ट नै चित्रकला हो । सिर्जना आर्ट ग्यालरीमा कक्षा लिएपछि फोटोतिर लागेको हुँ,’ उनले भने, ‘प्रत्येक शनिबार क्यानभासका लागि बाहिर जानुपथ्र्यो । त्यहीबेला फोटो पनि खिच्थेँ । यसरी बिस्तारै फोटोतिर मन मोडिएको हो ।’

सुरुमा हिमाल, पहाड, तालतलैया खिच्दै गर्दा प्रकृतिमा उनको मोह बस्यो । अनि चित्रकला छाडेर फोटोग्राफीमै लागे । ‘दसैंको बिदामा कहिले मनाङ अनि कहिले घान्द्रुकलगायत अन्य गाउँको हिमाल, पहाड, तालतलैयाको फोटो खिचियो,’ उनले भने, ‘त्यतिबेला रुचिको विषय थियो । पछि हिमजनावरको फोटो खिच्न थालेँ ।’

२०५६÷५७ सालतिर उनी माथिल्लो मनाङमा नै होटल व्यवसाय चलाउने गरी काठमाडौंबाट फर्किएँ । उनले भने, ‘म पढाइका लागि काठमाडौं गएको हो । मनाङमा टुरिज्म राम्रो भएपछि २०५७ सालतिर फर्किएर होटल सञ्चालन गरेर बसेको हुँ ।’ मनाङ नै बस्न थालेपछि उनको सम्पर्क वाइल्ड लाइफ फोटोग्राफरहरुसँग बढ्यो ।

समयसँगै उनको अहिलेको रुचि हिमचितुवा फोटोग्राफीमा छ । आजभन्दा २० वर्षदेखि हिमचितुवाको फोटो महत्व बुझ्न थालेको उनले सुनाए । ‘अलिअलि देखेको जीवजन्तुहरु त खिचिरहेको थिएँ । वास्तविक रुपमै लागेको भनेको सन् २००४ देखि हो,’ उनले भने, ‘त्यो बेलामा मनाङमा एक्याप र प्रकृति संरक्षण कोषले नेचर गाइड ट्रेनिङ गरेको थियो । तालिममा भाग लिएपछि वन्यजन्तुको महत्व अझ बुझेँ । आफ्नै क्षेत्रमा पाइने हिमचितुवा, कस्तुरी, नाउर खिच्न सुरु गरेँ ।’

मनाङका टासी आर घले सिजनमा होटल व्यवसाय गर्छन् भने अफसिजनमा क्यामेरा लिएर हिमचितुवा खोज्न हिंड्छन्

सन् २००६ मार्च १९ मा हिमचितुवाको पहिलो फोटो खिच्न सफल भएको उनले बताए । ‘त्यसदिन हिमचितुवाको लाइभ फोटो लिएको हुँ,’ उनले सम्झिए, ‘बिस्तारै सुरु गरेँ । अनि डिप्ली यसैमा लागेको २०१४ देखि हो ।’

सन् २०१३ मा ‘पाल्लास क्याट’ को फोटोका लागि ‘ग्रान्ड’ पाएकाहरुसँग उनको भेट भयो । ‘नेपालमा पाल्लास क्याटका लागि ग्रान्ड पाएका साथीहरु अरुअरु ठाउँमा खोज्दै हिंडेका रहेछन्,’ उनले भने, ‘मनाङमा छ भन्ने पत्ता लागेपछि हाम्रो टिम बन्यो । अनि त्यसको फोटो खिच्न सक्यौं ।’ त्यतिबेलाको टिममा गंगाराम रेग्मी, रिनजिन फुन्चोक लामा र घलेको टिमले ‘पाल्लास क्याट’ को फोटो लिएपछि सहज भएको उनले बताए । रिनजिन फुन्चोक लामाको मास्टरका लागि हिमचितुवा र मनाङ रोजेपछि गहिराइमा लागेको उनको भनाइ थियो ।

अहिले उनी व्यवसायसँगै हिमचितुवाको संरक्षण र फोटोग्राफीमा तल्लीन छन् । केही समयअघि अमेरिकी फोटोग्राफर किटिया पवलोभ्स्कीले सगरमाथा क्षेत्र खुम्बुमा खिचेको हिमचितुवाको फोटो चर्चामा आएपछि नेपाली फोटोग्राफरले खिचेको फोटो सेयर हुन थालेको थियो । सामाजिक सञ्जाल प्रयोगकर्ताबाट नेपालको हिमचितुवाको फोटो खिच्न पनि विदेशी नै आउनुपर्ने आशयका थुप्रै टिप्पणी सामाजिक सञ्जालमा देखिएको थियो । योभन्दा अगाडि नै नेपाली फोटोग्राफरले नै हिमचितुवाको सुन्दर फोटोहरू खिचेका थिए । उनै टासीले खिचेको हिमचितुवाको फोटो झनै प्रस्ट र आकर्षक देखिन्छ । उनीसँगै चुङ्बा शेर्पाले निकै नजिकबाट जोखिम मोलेरै फोटो खिचेको देख्न पाइन्छ ।

हिमचितुवाको फोटो खिच्न भौगोलिकताको जोखिमसँगै उनीहरुको पनि डर हुने घलेले बताए । ‘स्नो लेपर्डको फोटो लिँदा ७/८ मिटरको नजिक भेटेको क्षण त बिर्सनै सकिन्न नि । त्यसरी २ पटक जम्काभेट भएको छ,’ उनले भने, ‘हिमचितुवा अहिलेसम्म १२ देशमा पाइन्छ भनेर प्रमाणित भएको छ । यो भनेको एकदमै लजालु हुन्छ । त्यसैले मानिसलाई आक्रमण गरेको थाहा छैन । त्यसैले पनि त्यो सामीप्यता मेरो लागि अविष्मरणीय छ ।’

उनले हिमचितुवाको फोटो खिच्ने उत्तम समय जनवरीदेखि मार्चसम्मलाई ठान्छन् । त्यसबेला होटलमा पाहुना पनि नहुने फुर्सदिलो समय भएकाले उनका लागि पनि निकै मिलेको छ । ‘यसको फोटोका लागि हिउँद नै सबैभन्दा उत्तम हो । हिउँ परेपछि आहारा (घोरल, झारल) तलतिर झर्छ । हिउँमा उसको पाइला पच्छाउँदै जान सजिलो हुन्छ,’ उनले भने, ‘जनवरीदेखि मार्चसम्म यिनीहरुको मेटिङ सिजन पनि हो । यो समयमा उनीहरु कराउँदै हिंड्छन्, जसले गर्दा देख्नका लागि सहज पनि हुन्छ ।’

त्यसैले पनि उनले सिजनमा व्यवसाय गर्छन् । अफसिजनमा क्यामेरा लिएर हिमचितुवा खोज्दै हिंड्छन् । यसको संरक्षणमा लागि पनि नेपालकै अन्य क्षेत्रमा पनि पुगेको उनले सम्झिए । ‘हिमाली क्षेत्रमा पूर्वको कञ्चनजंघा पुगेको छु । इलाममा रेडपाण्डाको फोटो खिच्न गएको छु,’ उनले भने, ‘यस्तै सगरमाथा बेस क्याम्प, मकालु, बरुण, डोप्ला, हुम्लालगायत हिमाली क्षेत्रमा पुगेको छु ।’

वन्यजन्तु दस्तावेज र संरक्षणमा उल्लेख्य योगदान पुर्‍याएकोमा उनले डब्लुडब्लुएफ नेपालबाट अब्राहम संरक्षण एवार्ड र २०१८ मा डिज्नी संरक्षण हिरो पुरस्कार अवार्डलगायत थुप्रै पुरस्कार पाएका छन् । सन् २००६ मा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवमा नेपालबाट तेस्रो, २००७ मा राष्ट्रिय फोटो पत्रकार मञ्च नेपालबाट प्रेस फोटो प्रतियोगितामा दोस्रो, नेपाल हिमालयमा हिमचितुवा र अन्य उच्च उचाइमा रहेको पुरस्कारबाट सम्मानित भएका छन् ।

हिमचितुवा संरक्षणका लागि फोटोग्राफीले सहयोग गर्ने उनी बताउँछन् । ‘मेरो व्यवसाय भनेको होटल नै हो । होटलमा श्रीमती, दिदीभेना अनि स्टाफले काम गरिहाल्छन् नै यसमा समस्या छैन,’ उनले भने, ‘मनाङको हिमाली भेगमा पाइने हिमचितुवाको संरक्षण गर्नुपर्छ भनेर लागिरहेको छु । अफसिजनमा हुन्छ या अरु बेला समय मिलाएर अझै यही क्षेत्रमा लाग्नेछु ।’

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग