कास्कीमा मनाइयो ६७ औं स्थापना दिवस

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०८०
Sahakari Photo 1

पोखरा । नेपालमा सहकारी स्थापना भएको ६७ वर्ष पुगेको छ । २०१३ चैत २० मा बखानपुर ऋण सहकारी संस्था लिमिटेड स्थापनापछि सुरु सहकारी अभियान अहिलेसम्म निरन्तर छ । सोही दिनको सम्झना गर्दै नेपालमा हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउँदै आइएको छ । राष्ट्रिय सहकारी महासंघको अगुवाइमा यो दिवस मनाउने प्रचलन छ ।
कास्कीमा तीसको दशकतिर सहकारी प्रवेश आयो । शिशुवाचोकको चक्रदेवी बहुउद्देश्यीय सहकारी कास्कीको पहिलो सहकारी संस्था हो । त्यसपछि जिल्ला सहकारी लिमिटेड संघ कास्की स्थापना भयो । कास्कीमा रहेका ७ सयभन्दा बढी सहकारीहरु संस्थामा आवद्ध छन् । जिल्लाभरको सहकारीहरुको छाता संस्थाले मूल समारोह समिति, कास्की गठन गरी विविध कार्यक्रम गरी मंगलबार ६७ औं सहकारी दिवस मनाएको छ ।

आइतबार रक्तदान, सोमबार सरसफाइ र मंगलबार प्रभातफेरी कार्यक्रम गरेको थियो । रक्तदान कार्यक्रममा २ सय युनिट रगत संकलन गरिएको संस्थाका महासचिव दीपक बास्तोलाले जानकारी दिए । मंगलबार बिहान सुरु भएको प्रभातफेरी दिउँसो सभागृह हलमा मूल समारोहमा परिणत भएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले सहकारीहरु सुशासनमा चल्नुपर्ने बताए । सहकारी क्षेत्रमा संख्यात्मक विकास भए पनि सहकारीको गुणस्तर बढ्न नसक्दा तथा विविध विकृति र विसगंतिका कारण यसको लोकप्रियता पछिल्लो समय खस्कँदै गइरहेको उनको भनाइ थियो । यसलाई चिर्न सहकारीहरु पारदर्शी र सुशासनमा चल्नुपर्नेमा उनको जोड थियो ।

पोखरा महानगरपालिका सहकारी समिति अध्यक्ष रविरमण तिवारीले सहकारीमा सेयर सदस्यबीच सहकार्य जरुरी रहेको बताए । उनले भने, ‘सहकारी भनेकै सहकार्य हो । सेयर सदस्यबीच सहमति र सहकार्य भयो भने संस्था राम्रो हुने हो ।’ पछिल्ला समय केही सहकारीका कारण धेरैलाई गाह्रो भएको उनले बताए । सहकारीले ७ सिद्धान्तसँगै मूल्य र मान्यतामा रही काम गरे सदस्यको विश्वास जित्न सक्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघ महासंघ केन्द्रीय सञ्चालक कमलादेवी गिरी, जिल्ला सहकारी लिमिटेड संघ पूर्व अध्यक्ष प्रभा कोइराला, मूल समारोह समिति अध्यक्ष सावित्रा कोइराला, जिल्ला शाखाका महासचिव दीपक बास्तोला, उपाध्यक्ष छवि लामिछाने लगायतले सहकारीमा जनताको विश्वास घट्दै गएकोले यसको साख जोगाउनुपर्नेमा जोड दिए ।

प्रभातफेरीमा उत्कृष्ट झाँकी प्रदर्शन गर्नेमा शुभसौगात बचत तथा ऋण सहकारी संस्था प्रथम, समग्र बहुउद्देश्यीय सहकारी द्वितीय, सत्रपत्री बचत तथा ऋण सहकारी तृतीय र ढिकालेथर बचत तथा ऋण सहकारी सान्त्वना भए ।

रक्तदानतर्फ फेवा बहुउद्देश्यीय प्रथम, शुभसौगात द्वितीय, समग्र बहुद्देश्यीय तृतीय भयो । साइकल ¥यालीमा संगम बचत तथा ऋण सहकारी संस्था भएको महासचिव बास्तोलाले जानकारी दिए । विजेतालाई सम्मानपत्रले सम्मान गरिएको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width