नयाँ सत्ता समीकरणका ४ दलबीच ८ बुँदे सहमति, राष्ट्रियसभा अध्यक्ष माओवादीलाई

आदर्श समाज सम्वाददाता
फागुन २१, २०८०
new-satta-samikaran

पोखरा ।  नयाँ सत्ता गठबन्धनका लागि नजिक आएका चार दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले आठबुँदे सहमति गर्दै भागबण्डाका आधारमा नयाँ संयुक्त सरकार गठन गर्ने उद्घोष गरेका छन्।

चार दलका प्रमुखले हस्ताक्षर गरेको सहमतिमा सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलसँग पनि संवाद अगाडि बढाउने बताइएको छ भने राष्ट्रिय सभा अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेलाई समर्थन गर्ने सहमति गरिएको छ।

चार दलले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अविलम्ब टुंग्याउन पनि सहमति गरेका छन्। माओवादीको चाहनाअनुरुप नेकपा एमालेले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका अधिकांश बुँदामा सहमति जनाइसकेको छ।

त्यस्तै, सरकारको काम अघि बढाउन संयुक्त तीन तथा कार्यक्रम बनाउने सहमति पनि चार दलले गरेका छन्।

यस्तो छ चार दलको विज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालका बीच जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकांक्षा पूरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको संविधानको मर्म र भावनाअनुरूप संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढंगले अघि बढ्न सहमत भई निम्नअनुसार निष्कर्षमा पुगेका छौं :

१्र . राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य आवश्यक रहेको महशुस गरी नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालको सहभागितामा नयाँ संयुक्त सरकार गठन गर्ने । सरकारको नेतृत्व नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्डले गर्ने ।

२. रिक्त रहेको राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार र उपाध्यक्षमा नेकपा एमालेका उम्मेद्वारलाई समर्थन गर्ने ।

३. सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने । त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने । नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने ।

४. सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुङ्ग्याउने ।

५. संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने ।

६. सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने ।

७. यो सहमति कार्यान्वयनका लागि वर्तमान मन्त्रिपरिषद् पुनर्गठन गरी सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गर्ने ।

८. हामी चार राजनीतिक दल राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिक सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न सहमत भएका छौं।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग