राष्ट्रिय सभा सदस्य चुनावको आज मतदान

आदर्श समाज सम्वाददाता
माघ ११, २०८०
Election

पोखरा । राष्ट्रिय सभा सदस्य चुन्न बिहीबार मतदान हुँदैछ । गण्डकी प्रदेशमा रिक्त ३ सदस्यका लागि ४ दलबाट ८ जना उम्मेदवार चुनावी मैदानमा छन् । कांग्रेस–माओवादीसहितको गठबन्धनका कारण गण्डकीमा गठबन्धनको जित सुनिश्चित झैं छ ।

पोखरास्थित प्रदेश निर्वाचन कार्यालयमा बिहीबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवार पनि मनोनयनपछि विभिन्न जिल्लामा मतदाता भेट्दै प्रचारप्रसार टुंगाएर मतदानसँगै चुनावी परिणामको व्यग्र प्रतीक्षामा छन् ।

निर्वाचन कार्यालयका सूचना अधिकृत रुद्रप्रसाद न्यौपानेले मतदान तयारी पूरा भएको बताए । मतदानका लागि २ वटा मतदान केन्द्र तोकिएको छ । तीमध्ये एउटा केन्द्रमा ९ जना खटिने छन् । जसमा निर्वाचन अधिकृत १, मतदान अधिकृत १, सहायक मतदान अधिकृत १, कर्मचारी ४, सहयोगी २ जना हुने छन् । चुनावका लागि गण्डकीमा जिल्ला न्यायाधीश ऋषिराम आचार्यलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।

यसपालि देशभर १९ सिटका लागि हुने राष्ट्रिय सभा चुनावअन्तर्गत गण्डकी प्रदेशमा ३ सिट (महिला, अपांग र अन्य) खाली रहन गएको हो । गण्डकीबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका नेकपा (एमाले) का गणेशप्रसाद तिमिल्सिना, एमालेकै दीपा गुरुङ र नेपाली कांग्रेसका प्रकाश पन्थको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ ।

गठबन्धनबाट अन्य क्लस्टरमा गोरखाका किरणबाबु श्रेष्ठ, अपांगता र अल्पसंख्यकमा तनहुँका पदमबहादुर परियार र महिलामा पर्वतकी मनरुपा शर्माले मनोनयन दर्ता गराएका हुन् । तीमध्ये श्रेष्ठ र परियार कांग्रेसका हुन् भने शर्मा माओवादी नेतृ हुन् ।

बिहान ९ देखि ३ बजेसम्म निर्वाचन कार्यालय परिसरमा मतदान समय तोकिएको छ

एमालेबाट अन्य क्लष्टरतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, अपांगता र अल्पसंख्यकबाट मुस्ताङका हेमन्द्र शेरचन र महिलातर्फ गोरखाकी सम्झना देवकोटा उम्मेदवार छन् ।

राप्रपाले अपांगताबाहेक अन्य २ सिटमा मनोनयन दिएको छ । कास्कीका राप्रपा नेता रोमबहादुर भण्डारीले अन्यतर्फ र तनहुँकी गौमाया श्रेष्ठ महिला क्लष्टरबाट उम्मेदवार छिन् ।

गण्डकीबाट कुल २ सय ३० जना मतदाता छन् । तीमध्ये ६० सदस्यीय प्रदेश सभा (सदस्य) बाट ६० र ८५ पालिकाका (प्रमुख/उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष) गरी १ सय ७० जना मतदाता हुन् ।

गण्डकीमा १ महानगरपालिका (पोखरा) सहित २६ नगरपालिका र ५८ गाउँपालिका छन् । निर्वाचन आयोगले प्रदेश सभाको सांसदको मतभार ५३ र पालिकातर्पm मतभार १९ तोकेको छ । यसरी गण्डकीमा दुवै तहका गरी जनप्रतिनिधिको कुल मतभार ६ हजार ४ सय १० हुन आउँछ ।

कांग्रेसको प्रदेश सभातर्फ २७ र पालिकातर्फ ६७ जना मतदाता गरी कुल मतभार २ हजार ७ सय ४ मतभार हुन आउँछ ।

सत्तारुढ दल माओवादी केन्द्रको संसदमा ८ सिट र पालिकातर्फ ३० गरी कुल मतभार ९ सय ९४ छ भने राष्ट्रिय जनमोर्चाको पालिकातर्फका गरी ५७ मतभार छ । उसको संसदमा उपस्थिति छैन । एकीकृत समाजवादीको संसदमा १ र पालिकामा १ गरी उसको मतभार ७२ मात्र छ ।

यस्तै, एमालेको प्रदेशसभामा २२ सिटको प्रतिनिधित्व छ । उसको मतभार यहाँ १ हजार १ सय ६६ र पालिकातर्फ ६८ को मतभार १ हजार २ सय ९२ गरी कुल मतभार २ हजार ४ सय ५८ हुन आउँछ ।

तर, एमालेबाट ढोरपाटनको मेयर जितेका देवकुमार नेपाली सहकारी ठगीकाण्डका कारण बेपत्ता छन् । उनको अनुपस्थिति भए एमालेको मतभार घटेर २ हजार ४ सय ३९ मात्र हुनेछ । प्रदेश सभामा २ सिट जितेको राप्रपाको १ सय ६ मतभार कायम छ ।

यसरी हेर्दा गठबन्धनको कुल मतभार ३ हजार ८ सय २७ हुनेछ भने निकटतम् प्रतिस्पर्धी दल एमालेको २ हजार ४ सय ३९ मतभार छ । मनाङको निस्याङ गाउँपालिका उपाध्यक्ष जितेका छिरिङ गुरुङ स्वतन्त्र हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width