कांग्रेस गण्डकीले ‘लोकतन्त्र’ नमान्ने

आदर्श समाज सम्वाददाता
पौष १२, २०८०
nc gandaki

पोखरा । नेपाली कांग्रेस गण्डकीले कांग्रेसको विधानमा रहेको ‘लोकतन्त्र’ शब्द नमान्ने घोषणा गरेको छ । पार्टीको प्रदेश समिति गठन भएकै समयदेखि आफ्ना ब्यानर र डकुमेन्टमा ‘प्रजातन्त्र’ उल्लेख गरेको गण्डकी कांग्रेसले पहिलो सम्मेलनबाट लिखितरुपमै लोकतन्त्र हटाएर प्रजातन्त्र उल्लेख गर्न केन्द्रलाई आग्रह गरेको छ ।

पार्टीको विधानमा भएको लोकतन्त्रको ठाउँमा प्रजातन्त्र लेखेर संशोधन गर्न केन्द्रीय समितिसँग गण्डकीको माग छ । पुस ३ र ४ मा भएको पहिलो सम्मेलनक्रममा उक्त प्रस्ताव बन्दसत्रमा प्रस्तुत भएको थियो । सभापति शुक्रराज शर्माले लोकतन्त्र कांग्रेसको एजेन्डा नभएकोले प्रजातन्त्र नै राम्रो शब्द हुने बताए । सम्मेलन कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उक्त सम्मेलनको ब्यानरमै प्रजातन्त्र राखेर कार्यक्रम गरिएको हो । यस्तै, नेपालको संविधानमा रहेको धर्म निरपेक्षको ठाउँमा वैदिक सनातन, धार्मिक स्वतन्त्रता राख्ने गरी संविधान संशोधनमा नेपाली कांग्रेसले नेतृत्व लिन सुझाव पठाइएको छ ।

पोखरामा पुस ३ र ४ मा भएको पहिलो सम्मेलनक्रममा उक्त प्रस्ताव बन्दसत्रमा प्रस्तुत भएको थियो

संविधानमा व्यवस्था भएको समानुपातिक प्रतिनिधित्व रहने निर्वाचन प्रणाली पनि खारेज हुनुपर्ने गण्डकीको माग छ । एक व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था राख्न सुझाव पठाइएको छ भने अधिकांश सुझाव पार्टीको पारदर्शीता र सक्रियतामा केन्द्रित छ । सम्मेलनमा केन्द्रीय सदस्यको पदावधि सकिएपछि स्वतः महाधिवेशन प्रतिनिधि हुने अहिलेको प्रावधान हटाएर वडाबाटै चुनाव लड्नुपर्ने व्यवस्था कायम गर्नुपर्ने, पार्टीमा रहेको बहुपदीय पदाधिकारी व्यवस्था खारेज गर्नुपर्ने, प्रदेश संरचनाका टिकट प्रदेश समितिबाट वितरण गर्न पाउनुपर्ने माग पनि छ ।

पार्टीको साख जोगाउन राष्ट्रिय, प्रादेशिक र स्थानीय निर्वाचनमा कुनै हालतमा गठबन्धन नगर्न सुझाव पठाइएको शर्माले बताए । प्रदेशका सभापतिहरुको मर्यादाक्रमलाई केन्द्रीय पदाधिकारीसँगै राख्नुपर्ने, निर्वाचन क्षेत्र प्रदेश सभाका सभापतिहरुलाई महाधिवेशन प्रतिनिधिसरह मान्यता दिनुपर्ने र प्रदेश प्रतिनिधिहरुलाई मात्र प्रदेश कार्यसमितिमा उम्मेदवार बन्न पाउने व्यक्त मिलाउनुपर्ने सुझाव दिइएको छ ।

नैतिक शिक्षा, निशुल्क स्वास्थ्य, भ्रष्टाचार अन्त्य र रोजगारी तथा सुशासनलाई पहिलो प्रथमिकता दिन सुझाइएको छ भने कांग्रेस सरकारमा हुँदा वा नहुँदा भएका सबै गल्तीको आत्मालोचना कांग्रेसले गर्नुपर्ने, लाभको पदमा सधैं सीमित व्यक्तिको हावी रोक्नुपर्ने, जनप्रतिनिधि र पार्टीबीच सम्बन्ध प्रगाढ हुने कार्यक्रम ल्याउनुपर्ने र युवापुस्तालाई नेपालमै रोक्न प्याकेज कार्यक्रम ल्याउनुपर्ने माग कांग्रेसको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग