सहकारीका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली पक्राउ

आदर्श समाज सम्वाददाता
पौष ११, २०८०
udaya bahadur parajuli

पोखरा । सहकारी ठगी प्रकरणमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । उनलाई पर्वत प्रहरीले बुधबार दिउँसो उनको कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।

जिल्ला अदालतबाट पक्राउका लागि उनलाई यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पूर्जी जारी गरेकोमा उनी फरार थिए । पक्राउपछि उनलाई पोखरा ल्याउने तयारी भइरहेको छ ।

पोखरामा सहकारीको रजिष्ट्रार हुँदा उनले करोड भन्दा बढी रकम घूस लिएको आरोप छ । पोखराकै मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र बिस्तार गर्ने क्रममा यसअघि नै पक्राउ परेका प्रतिवादीहरुले पोखरामा तत्कालीन रजिष्ट्रार पराजुलीलाई करोडभन्दा बढी रकम घूस दिएको बयानका आधारमा पक्राउ पूर्जी काटिएको थियो ।

यसैबीच, मित्रमिलन बचत तथा ऋण सहकारी संस्थामा आर्थिक अपचलनमा संलग्नसँग झण्डै ३२ करोड बिगो असुल गर्ने तयारी भएको छ । सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम सजाय र बिगो माग दाबीसहित अनुसन्धान फाइल जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ ।

३२ जनाविरुद्ध कुल ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ बिगो माग दाबी गरिएको हो । उक्त रकम विज्ञ प्रतिवेदनबाट खुलेको बिगो मागभन्दा केही रकम थपेर प्रहरीले माग दाबी पेस गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग