ख्रिस्टीयन समुदायमा ‘क्रिस्मस डे’ रौनक

आदर्श समाज सम्वाददाता
पौष ९, २०८०
Christmas story (2)

पोखरा । डिसेम्बर २५ अर्थात् क्रिसमस डे अवसरमा टर्कीका सान्टा क्लसले बच्चाहरुलाई चक्लेट बाँड्दै हिंड्थे । रातोसेतो रंगको सुट र टोपी लगाएका । मोटोघाटो । सेताम्मे कपाल र दाह्रीजुँगा भएका उनले यसरी क्रिसमस गिफ्ट बाँड्दै हिंड्दा बालबालिका पनि उनलाई खुब मन पराउँथे । उनको निधनपछि छोराछोरीले पनि सोही सिको गरे ।

अहिले सान्टा क्लस बन्ने प्रचलन क्रमशः फैलिदो छ । सान्टा क्लस पहिरनधारी भेटिएपछि नेपालीहरु ख्रिस्टीयनको महान चाड ‘क्रिस्मस डे’ आगमनको आंकलन गर्छन् । क्रिसमस डे आएसँगै ठूला ठूला होटल, रेस्टुरेन्ट र सपिङ मलतिर देखिने अर्को चिज हो–क्रिसमस ट्रि । क्रिस्मस ट्रिको पनि छुट्टै कथा छ । पोखरेली ख्रिस्टीयन समुदाय पोखराका अध्यक्ष एल्डर रामप्रसाद शर्माका अनुसार डिसेम्बर हिउँ पर्ने सिजन भएकाले रुखमुनि गएर मनाएकाले क्रिसमस ट्रीको विकास भएको हो । ‘क्रिस्टमसको समयमा हिउँ पर्छ । त्यसबेला जर्मनीका नागरिकले हिउँ परेको समयमा नै रुखमुनि गएर क्रिसमस मनाएका थिए,’ उनले भने, ‘हिउँ पर्ने ठाउँका रुखहरु चुच्चो परेको छाता आकारमा हुन्छन् । त्यसैमा हिउँ परेको बेला सजाएर क्रिसमस डे मनाएकाले त्यसैको नक्कल गरेर क्रिसमस ट्रि प्रचलनमा आएको हो ।’ पछिल्लो समय नेपालमा पनि क्रिसमस डे निकै महत्वका साथ मनाइन्छ । यो पर्व नजिकिँदा पसलमा देखिने सान्टा क्लसको लुगा र टोपी, क्रिसमस ट्री र त्यसलाई सजाउने सामग्री आदिले यसको पुष्टि गर्दछन् ।

सन् २८० मा टर्कीमा जन्मिएका सेन्ट निकोलस नामक इसाइ भिक्षु आफ्नो उदारताका लागि निकै लोकप्रिय थिए । आफ्नो सबै सम्पत्ति दान गरेर गरिब, रोगी तथा बालबालिकाको मद्दतका लागि गाउँगाउँ चहार्थे । उनले महिलालाई दासत्वबाट मुक्त गराएको पनि बताइन्छ । विस्तारै उनको उदारताको उदाहरण यूरोप, अमेरिकातिर पनि फैलियो । डच भाषामा उनलाई सिन्टर क्लास भनेर बोलाइन्थ्यो । यही नामको अपभ्रंस भएर ‘सान्टा क्लस’ भन्न थालिएको हो । अहिले पनि सान्टा क्लसलाई दानी, उदार र सफा हृदय भएको पात्रका रुपमा चिनिन्छ । बालबालिकाहरु सान्टा क्लसलाई खुब मन पराउँछन् । र, उनको सिको गर्न खोज्छन् ।

यसबाहेक असली ख्रिस्टीयन समुदायले आफन्त, साथीभाइसँग भेटघाट गर्ने, मीठोमसिनो खाने, क्रिसमस ट्रीले घर सजाउने, उपहार आदानप्रदान गरी जिजस क्राइस्टको जन्मोत्सवरुपमा मनाउँदै आएका छन् । नेपालमा सान्टा क्लस र क्रिसमस ट्रीले क्रिसमस डे आएको भान गराए पनि यो देखासिकी संस्कृति बनेको पोखरेली ख्रिस्टीयन समुदाय पोखरा अध्यक्ष एल्डर रामप्रसाद शर्माले बताए । ‘यो कल्चरमात्र हो । यसले कुनै बाइबलीय अर्थ र येशूसँग केही सम्बन्ध राख्छजस्तो लाग्दैन,’ उनले भने, ‘तर क्रिसमस डेमा सान्टा क्लस र क्रिसमस ट्री बनाउँदै आएकाले यो गलत पनि होइन, केवल रमाइलोका लागि हो ।’

तत्कालीन रोमन सम्राट कोन्स्टान्टिनले पहिलो पटक २५ डिसेम्बरमा क्रिसमस मनाएको पाइन्छ

क्रिसमस कुनै निश्चित धर्म वा भूगोलको परिधिमा सीमित नरहेको उनी बताउँछन् । नेपाल घुम्न आउने विदेशी पर्यटकका लागि पर्यटकीय क्षेत्रमा यसलाई अँगाल्ने प्रयास भएको अध्यक्ष एल्डर शर्मा बताउँछन् ।

क्रिस्चियन धर्मका प्रवर्तक यशु अर्थात् जिजसको जन्मदिन कहिले हो भन्ने यकिन छैन । तर, सन् ३३६ मा तत्कालीन रोमन सम्राट कोन्स्टान्टिनले पहिलो पटक २५ डिसेम्बरमा क्रिसमस मनाएको इतिहासले देखाउँछ । त्यही समयदेखि क्रिसमस २५ डिसेम्बरमा मनाउन थालिएको हो । संसारभर मनाइने क्रिसमस डे पोखरेली ख्रिस्टीयन समुदायले पनि विभिन्न कार्यक्रम गरी मनाउने गरेको पोखरेली ख्रिस्टीयन समुदायका पूर्व अध्यक्ष पास्टर गृष्मकेशव पराजुलीले बताए । पोखरामा क्रिसमस मनाउने प्रक्रिया लगभग सबै चर्चको एउटै रहेको उनले बताए । ‘हामीले हप्तादश दिन अघिदेखि नै स्तूतिगान गाउँछौं अनि २५ डिसेम्बरमा मुख्य कार्यक्रम हुन्छ,’ उनले भने, ‘यस दिन शुभकामना आदानप्रदान गर्ने, प्रवचन, नाचगान, खानपान र उपहार साटासाट गरेर मनाइन्छ ।’

ख्रिस्टीयन समुदायले विशेषगरी ३ चाड मनाउँछन् । तीमध्ये सबैभन्दा महत्वका साथ क्रिसमस डे मनाउने गरिएको पूर्व अध्यक्ष पास्टर पराजुलीले बताए । उनले भने, ‘हामीले क्रिसमस डे, गुड फ्राइ डे (यशूको क्रसमा मृत्यु भएको दिन) र इस्टर सन्डे (यशूको पुनर्उत्थान भएको दिन) मनाउँछौं । यसमा सबैभन्दा बढी क्रिसमस डेलाई महत्व दिइन्छ ।’

२५ डिसेम्बर प्रायजसो १० पुसमा पर्ने भए पनि यसपालि ९ गते नै परेकाले भोलिपल्टलाई विशेष कार्यक्रम राखिएको अध्यक्ष एल्डर शर्माले बताए । ‘पुसको ९ गते प्रत्येक चर्चमा कार्यक्रम हुन्छ । त्यसका अलावा अहिले हामी पोखरा आसपासका सम्पूर्ण मण्डलीहरु मिलेर क्रिसमसमा एउटा बृहत् महोत्सव नै गरौं भन्ने उद्देश्य छ,’ उनले भने, ‘पोखरा प्रदर्शनी केन्द्रमा बृहत् सुसमाचारीय महोत्सव गर्दैछौं । बिहान १० देखि ४ बजेसम्म शुभकामना आदानप्रदानसहित सांस्कृतिक कार्यक्रम हुनेछ ।’

पोखरामा पहिलो पल्ट विसं २००९ सालमा रामघाट चर्च स्थापना भएको उनले बताए । बिस्तारै चर्च स्थापना हुनेक्रम बढ्दै जाँदा २०२५ सालमा बागबजार चर्च खुल्यो । ०४४ सालमा नयाँ गाउँ चर्च बनेको हो । यसरी बढ्दै जाँदा पोखरेली ख्रिस्टीयन समुदाय पोखरामा ५६ चर्च दर्ता रहेको उनले बताए । उनका अनुसार अझै १०÷१२ वटा दर्ता चरणमा छन् । दर्ता भएका तथा नभएका गरी पोखरा आसपापसमा १ सयभन्दा बढी चर्चा छन् । सबै चर्चका क्रिस्चियनको संख्या जोड्दा २० हजारभन्दा बढी मानिस संलग्न पाइन्छ ।

२०४८ सालमा पोखरा र आसपासका ख्रिस्टीयन समुदायको हकहितका लागि पोखरेली ख्रिस्टीयन समुदाय पोखरा स्थापना भएको अध्यक्ष एल्डर शर्माले बताए । ख्रिस्टीयन समुदायप्रति सरकारले हेर्ने नजरप्रति उनको गुनासो छ । ‘संविधानमा आफ्नो आस्था र धर्म अनुसार अभ्यास गर्न पाउने स्वतन्त्र अधिकार उल्लेख छ,’ उनले भने, ‘तर, स्वतन्त्ररुपमा हामीले आफ्नो आस्थाअनुसार अभ्यास गर्न पाएका छैनौं । धर्म बुझाउन पर्चा बाँड्दा सरकारले अपराधी जस्तो व्यवहार गर्छ ।’

क्रिस्चियन भएकै भरमा नेपाल हुने दैवीप्रकोपमा सहयोग गर्न नपाएको उनले सुनाए । ‘दुख सबैको एउटै हो, नेपालमा दुख पर्दा सहयोग गर्ने हो भने धर्मकै प्रचार गर्न लाग्यो भन्छन्,’ उनले भने, ‘जसरी पनि दुखमा साथ दिनुपर्छ भनेर असल छिमेकी नेपाल नामक संस्था दर्ता गरेर विभिन्न समस्याबीच शिक्षा, स्वास्थ्य क्षेत्रमा समाजसेवा गरिरहेका छौं ।’

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग