महानगरस्तरीय रनिङ सिल्डमा ३ हजार विद्यार्थी

आदर्श समाज सम्वाददाता
पौष ७, २०८०
pokhara mahanagar MAIN (2)

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरा महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड तथा मेयर कप विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि पोखरा रंगशलामा सुरू हुँदैछ ।

४ विधाअन्तर्गतका विभिन्न खेलमा २ सय ३६ पदकका लागि ३ हजार २ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार ६६ स्वर्ण, ६६ रजत र १०४ कास्य पदकका लागि १ सय १० विद्यालयको प्रतिस्पर्धा हुनेछ ।

भलिबल छात्र/छात्रा, कबड्डी छात्र/छात्रा, एथ्लेटिक्सअन्तर्गत ट्रयाक र रिले, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, मार्सल आर्टस्अन्तर्गत कराते, तेक्वान्दो, उसुलगायत खेल अध्यक्ष गोदारले बताए । भलिबलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमश २० हजार, १५ हजार र १० हजार रुपैयाँ, कबड्डीमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमश; १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित पदक र प्रमाणपत्र पाउने समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । छात्र र छात्रा दुवैतर्फका विजेतालाई समान पुरस्कार प्रदान गरिने छ ।

एथ्लेटिक्स एकल छात्र—छात्रामा ११ जनाले ३/३ हजार, त्यसपछिका ११ जनाले २/२ हजार र बाँकी ११ जनाले १/१ हजार पाउने छन् । कराते, उसु र मार्सल आर्टस्मा १२ जनाले ३/३ हजार, त्यसपछिका १२ जनाले २/२ हजार र बाँकी १२ जनाले १/१ हजार पाउने छन् । अन्य विधाका खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

६६ स्वर्ण, ६६ रजत र १०४ कास्य पदकका लागि आइतबारदेखि प्रतिस्पर्धा हुनेछ

एक विद्यालयबाट टिम खेलमा (भलिबल र कबड्डी) एक टिम र एकल खेल (एथ्लेटिक्स र मार्सल आर्ट) मा एक इभेन्ट÷तौल समुहमा एक÷एक जना खेलाडी सहभागी गराउन पाइने नियम छ । एक जना खेलाडी एक खेलमा मात्रै सहभागी हुन पाउने छन् तथा एथ्लेटिक्स इभेन्ट्सका प्रत्येक खेलाडीले बढीमा एक फिल्ड २ ट्याक वा २ फिल्ड एक ट्रयाक इभेन्टमा भाग लिन पाउँछन् ।

पुरस्कार, अफिसियलसहित यो प्रतियोगिता सम्पन्न गर्न सबै गरेर २३ लाख रुपैयाँ खर्च हुने अनुमान छ । मेयर धनराज आचार्यले गर्ने उद्घाटन समारोहमा मार्च पास हुनेछ । उत्कृष्ट मार्च पास गर्ने तीन विद्यालयलाई क्रमश; १२ हजार, ९ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । पहिलो दिन एथ्लेटिक्स, भलिबल र कबड्डी हुने सदस्य सचिव खड्काले जानकारी दिए ।

खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले खेलाडी उत्पादनको मुख्य स्रोत विद्यालय भएको र यो प्रतियोगिताले राम्रा खेलाडीको पहिचानमा सहयोग पुग्ने बताए । उनले प्रदेशभरका पालिकामध्ये गत वर्ष पोखरा महानगरपालिकाको टिम उत्कृष्ट बनेको र त्यसलाई निरन्तरता दिन आफूहरूले सक्दो प्रयास गरिरहेको बताए ।

महानगरका शिक्षा अधिकृत सोम सुवेदीले निजीभन्दा पनि पोखराका सरकारी विद्यालयको प्रदर्शन सुधारिँदो रहेको सुनाए । उनले शिक्षासँगै खेल आवश्यक रहेकाले त्यसमा महानगरपालिकाले आफ्नो बजेटले भ्याएसम्म लगानी गरिरहेको बताए ।

गत वर्षको ७ स्वर्ण, २ रजत र ४ कास्य गरी कुल १३ पदकसहित टप्स मावि च्याम्पियन बनेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग