रवि लामिछानेमाथि पाेखरामा खोइला प्रहार

आदर्श समाज सम्वाददाता
पौष ७, २०८०
ravi lamichhane

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि पोखरामा आयोजित सभामा मकैको खोइला प्रहार भएको छ । शनिबार दिउँसो अमरसिंहचौरस्थित खुला सभालाई सम्बोधन गरिरहेको बेला उनीमाथि एक दर्शकले खोइला प्रहार गरेका हुन् । उक्त कार्यमा संलग्न लमजुङ घर बताउने २८ वर्षीय सन्तोष रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाही थालेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनबहादुर थापाले ती युवकसँग सोधपुछ भएकाे बताए । ती युवक सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितमध्ये एक बचतकर्ता हुन सक्ने सम्भावना रहे पनि उनको परिचय खुल्ने कागजात नभएको एसपी थापाले बताए ।

शनिबार पोखराको जिरो किमीमा प्रदेश कार्यालय उद्घाटनपछि रास्वपा सभापति लामिछानेले अमरसिंहमा आयोजित सभालाई सम्बोधन गरेका हुन् । सम्बोधनकै क्रममा एक्कासि खोइला प्रहार भएपछि लामिछानेले उक्त घटनालाई आफ्नो जीवनकै स्मरणीय क्षण भएको प्रतिक्रिया दिए र आफ्नो विकासको वाचा पूरा नभएसम्म जोगाएर प्रतिबद्धता गरे । उनले भने, ‘तपाईं र मैले देखेको सपना जबसम्म पूरा हुँदैन, तबसम्म यसलाई (खोइला) सजाएर राख्नेछु । मैले जति काम गरें, त्यसको मूल्यांकन तपाईंले गर्नुहोला । मैले गरेको हिसाबको प्रतिफल पाएको छु ।’

‘सञ्चारकर्मी भएर गरेको सेवा, अनवरत नेपालीलाई गरेको सेवा, चाहे भूकम्प जाओस्, विदेशमा बेचिएका नारीको उद्धार होस्, बाढीपीडितको उद्धार होस्, अस्पताल बनाएको होस्, कोरोनाको बेला बिरामीलाई अक्सिजन उपलब्ध गराएको होस् त्यसको जवाफ मैले पाएको छु, त्यसको फल म पाएको छु,’ उनले भने, ‘मुटुको अन्तरकुनामा जोगाएर राख्नेछु । सिंचाइ, सडक, पूर्वाधार, रोजगारी सिर्जना, व्यापार व्यवसाय फस्टाएसम्म, पर्यटनको विकासले आकाश नछोडएसम्म मनमा सजाएर राखेछु । कर्मको माध्यमबाट जवाफ दिनेछु ।’

त्यसअघि उनले सम्बोधनका क्रममा यो देशमा राम्रा नीति बनाएर, ती नीति पालना गर्ने नेतृत्वलाई लिएर समाधान गर्नुबाहेक आफूहरुसँग कुनै पनि उपाय नभएको बताएका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग