ढोरपाटनका मेयर देवकुमार भन्छन्: बचतकर्तालाई घरजग्गा हस्तान्तरण गर्न तयार छु- सम्पति विवरणसहित

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०८०
Dhorpatan-mayor

पोखरा । सहकारीको रकम अपचलको आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयर तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीले सहकारीको समस्या हल गर्न बचतकर्तालाई घरजग्गा हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।

६ महिनादेखि फरार उनले मंगरबार फेसबुक लाइभमै आएर वक्तव्य जारी गरी आफूले जोडेकोे सम्पत्ति इमेज सहकारीको नभएको समेत स्पष्टीकरण दिएका छन् । उनले भनेका छन्, ‘सहकारी र बचतकर्ताको समस्या समाधानका लागि मेरो र मेरो श्रीमतीको नाममा भएको घरजग्गा विभिन्न मालपोत कार्यालयमा गई हस्तान्तरण बचतकर्ताका नाममा गर्न चाहन्छु ।’ उनले हस्तान्तरण गर्नका लागि वातावरण मिलाइदिन कानुनी निकाय, राजनीतिक दल, नागरिक समाज, पत्रकार र विभिन्न सरोकारवालासँग आग्रह गरेका छन् ।

आफ्नो जिउधनको सुरक्षा नभएपछि ‘केही समय टाढा’ बस्नुपरेकोे उनको भनाइ छ । उनले आफूलाई हतियारसहित घरै आएर मार्ने धम्की दिइएकोसमेत दाबी गरेका छन् । ‘केही साथीहरु मेरो घरमा हतियारसहित आई म लगायत मेरो श्रीमती अनि मेरो सानो छोरीको ज्यान मार्ने धम्कीसमेत दिएपछि म केही समयको लागि घरबाहिर बस्न बाध्य भएँ ।’ ६ लाख बचत भएको व्यक्तिहरुले ५ करोडको घर जग्गा मेरो नाममा पास गरिदेउ, भनेर दबाब दिएको समेत उनको दाबी छ ।

अरु सहकारी पनि डुबेको भन्दै उनले आफू सम्पत्ति नभएको मान्छे नभएको बताए । ‘मैले भन्नुभन्दा सबैलाई थाहा भएको कुरा हो । हामी घरजग्गा सम्पति नभएको मान्छे हैनौं, हामीहरुले चलअचल सम्पत्ति नुनदेखि सुनसम्म त्यहाँ नै राखिछाडेको छौंं । हामी केही पनि लिएर हिंडेको छैनौं ।’

आफ्नो जिउधनको सुरक्षा नभएपछि ‘केही समय टाढा’ बस्नुपरेकोे मेयर नेपालीको भनाइ

नगर प्रमुख नेपालीले आफू ७ वर्षदेखि ढोरपाटनको नगर प्रमुख जिम्मेवारीमा रहेकाले सहकारीमा समय दिन नसकेको र एकै पटक धेरै जना बचतकर्ताले बचत फिर्ता माग्न आउँदा सहकारी समस्यामा परेको समेत दाबी गरे । आफ्नो र पत्नीका नाममा भएको घरजग्गाको विवरण समेत उनले सार्वजनिक गरेका छन् ।

उनले गण्डकी प्रदेश राजधानी पोखरासँगै बागलुङ, बुर्तीबाङ, गल्कोटमा गरी १ अर्ब ५४ करोड बढी रकम बचतकर्ताबाट उठाएर हिनामिना गरेको सहकारी रजिस्ट्रारको कार्यालयले गरेको अध्ययनमा उल्लेख छ ।

रकम हिनामिना भएपछि पीडितले सहकारी अध्यक्ष नेपालीविरुद्ध बागलुङ र कास्की प्रहरीमा जाहेरी दिएका छन् । प्रहरीले सहकारी सञ्चालक चित्रबहादुर भण्डारी, कर्मचारी लालमती रोका र सहकारीका बागलुङ शाखाका प्रबन्धक शक्ति किसानलाई पक्राउ गरेको छ । सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरु चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गृह मन्त्रालयले यात्रा अनुमतिमा समेत रोक लगाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width