खुल्यो कोरोला नाका, उत्साही पोखरली

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०८०
IMG_6139

पोखरा । नेपालको उत्तरी सिमानाका कोरोला सोमबारदेखि सञ्चालनमा आएको छ । निकै लामो समयको प्रतीक्षा पछि उत्तरी क्षेत्रको सबैभन्दा ठुलो र व्यापारिक दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिएको सो नाका नेपाल र चीनका प्रतिनिधिहरूको उपस्थितिमा सञ्चालन गरिएको हो ।

नेपालको तर्फबाट प्रतिनिधि सभा सदस्य योगेश गौचन, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्र बहादुर थापा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रदेश सभा सदस्य नम्डु गुरुङ तथा चिनियाँ सरकारको तर्फबाट चिनियाँ प्रतिनिधिहरूले संयुक्त रूपमा नाकाको शुभारम्भ गर्नुभएको हो ।

मुस्ताङ र डोल्पा जिल्लाका ४ वटा गाउँपालिकाका लागि सहायता सामाग्री बोकेका ४ वटा गाडीहरूलाई भन्सार पास गराएर नाकाको शुभारम्भ गरिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । चिन सरकारको तर्फबाट नाका शुभारम्भ गरिएको अवसरमा नेपालका ती गाउँपालिकाहरूलाई सहायता सामाग्रीहरू उपलब्ध गराइएको हो ।

लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका स्थानीयहरूका लागि नाकामा आवतजावतका गर्न अनुमति पत्र वितरण गरिएको छ । लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका ९ सय ८० जनालाई नेपाल चीन सीमा क्षेत्रमा प्रस्थानका लागि प्रवेश अनुुमतिपत्र वितरण गरिएको हो । सोही अनुमति पत्रका आधारमा माथिल्लो मुस्ताङका सर्वसाधारण कोरला नाकामा आवतजावत गर्न पाउने छन् । कोरोना महामारीका कारण बन्द भएको नाका चार वर्षपछि खुल्ला गरिएको हो । नाका सञ्चालन नहुँदा माथिल्लो मुस्ताङका स्थानीयहरूको जनजीवन प्रभावित हुँदै आएको थियो । नाका सञ्चालन भएपछि स्थानीयहरू उत्साहित भएका छन् ।

नाकामा चीनको तर्फबाट आवश्यक पूर्वाधारहरू निर्माण गरिएको भए पनि नेपाल तर्फ भने कुनै पूर्वाधार निर्माण गरिएको छैन । जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्ची सडकको पहुँच पुगेको भए पनि त्यसको स्तरोन्नति हुन सकिरहेको छैन । कोरोला नाकासम्म पुग्ने सडकको स्तरोन्नति र नाकामा आवश्यक पूर्वाधारहरू तत्काल बनाउनु पर्नेमा नगरप्रमुख धनराज आचार्यले जोड दिनुभयो ।

उहाँले लाइफालाईन बन्न सक्ने सम्भावना बोकेको नाकालाई स्थायी रूपमा सञ्चालनमा ल्याई दुई पक्षीय व्यापार तथा सिमापार आवतजावतलाई सहज बनाउन थप पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउनुभयो । सामान बोकेका कन्टेनरहरू नेपाल प्रवेश गरे पनि आउन सक्ने अवस्था नरहेको भन्दै तत्काल सडक पूर्वाधार निर्माणमा उहाँले प्रदेश र सङ्घ सरकारलाई अनुरोध गर्नुभयो ।

नाका सञ्चालनमा आएपछि नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मी लगायतका व्यवसयाीहरुले खुसी व्यक्त गरेका छन् । नाका सञ्चालनमा आएपछि माथिल्लो मुस्ताङका सर्वसाधरणहरुले दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, इलेकट्रोनिक्स सामग्री, लत्ताकपडा लगायत आयात गर्न पाउने छन् भने यताबाट पस्मिना, कृषि उत्पादन र यार्सागुम्बाको निर्यात हुने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width