पोखरामा तोकियो सयपत्री फूलको मूल्य, थुंगाको २ देखि ५ रुपैयाँ

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०८०
Pokhara Flower Fest Photo

पोखरा । पोखरा महानगरपालिकाले तिहारका लागि सयपत्री फूलको भाउ तोकेको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखाले पोखरामा क्रियाशील पुष्प व्यवसायी र स्थानीय कृषकहरूको समन्वयमा फूलको भाउ तोकिएको हो ।

आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार सयपत्री फूलको १५ देखि २० ग्रामको एक थुंगालाई ५ रुपैयाँ पर्छ । १० देखि १५ ग्राम तौल भएको एक थुंगाको ४ रुपैयाँ र ५ देखि १० ग्रामको २ रुपैयाँ तोकिएको छ । यस्तै मालाको क्रमशः २ सय, १ सय ८० र १ सय ५० रुपैयाँ तोकिएको छ भने । सयपत्री फूल १ किलोको ४ सय रुपैयाँ तोकिएको कडरियाले बताए ।

किसान र व्यवसायीको हित र उपभोक्ताको सहजताका लागि पोखरा महानगरले शनिबारदेखि ३ दिन सयपत्री फूल मेला–२०८० गर्ने भएको छ । श्री कम्प्लेक्समा हुने मेलामा स्थानीय कृषकहरूसँगको साझेदारीमा उत्पादित सत्रपत्री फूलहरू बिक्रीमा राखिने कडरियाले बताए ।

सयपत्री फूलमा पोखरा महानगरपालिका आत्मनिर्भर भएको उनले बताए । पोखरा महानगरपालिकाले स्थानीय कृषकहरूसँग साझेदारी गरेर १ सय ६५ रोपनी भन्दा बढी क्षेत्रफलमा सयपत्री फूल लगाइएको छ । यसपालिको तिहारमा सयपत्री फुल पोखरामा बाहिरबाट ल्याउनु पर्ने अवस्था छैन ।

यसैगरी पोखरामा रैथाने हाटबजार सञ्चालनमा आउने भएको छ । पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रालिको साझेदारीमा शनिबारदेखि ३ दिन हाटबजार सञ्चालन गर्न लागिएको हो ।
हाटबजारमा स्थानीय उत्पादनका १० बढी स्टलहरू रहनेछन् । मन खुसी फाउन्डेसनले तयार गरेको ह्यान्डीक्राफ्ट (मोजा, टोपी), प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो प्रडक्टका स्थानीय उत्पादनका कृषि उपजहरू, सगुन हस्तकलाले तयार गरेको धागोका सामानहरू हाटबजारमा राखिनेछन् ।

यस्तै पुष्पान्जलीद्धारा तयार गरिएको विवाहका लागि चाहिने सामान (साइपाटा), विधाता हस्तकला उद्योगद्वारा उत्पादित हस्तकलाका सामग्रीहरू, कृषि सञ्जाल वडा नम्बर ६ ले उत्पादन गरेका कृषि उपजहरू र महिला सीप विकास संस्थाद्वारा उत्पादित स्थानीय हस्तकलाका सामाग्रीहरू हाटबजारमा बिक्रीका लागि राखिनेछन् ।

रैथाने हाटबजारमा तिहार लक्षित खानाका परिकारहरूजस्तै सेल रोटी, झिलिंगा, चिनिरोटी लगायत स्थानीयस्तरमा उत्पादित खाद्य वस्तुहरू कोदो, मकै, गहुँ, फापर लगायत तरकारी जन्य वस्तुहरू बिक्रीका लागि राखिने श्री कम्प्लेक्सका सञ्चालक झलकलाल श्रेष्ठले बताए ।

मेलामा स्थानीय तथा रैथाने उत्पादन प्रवद्र्धन, विकास र बजारीकरणका सम्बन्धमा थप छलफल तथा अन्तरक्रियात्मक कार्यक्रमहरू गरिनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width