तिहारमा पोखराकै फूल पर्याप्त

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०८०
flower 22

पोखरामा शुक्रबार सातौं गोदाबारी पुष्प प्रदर्शनी तथा चौंथो गण्डकी प्रादेशिक पुष्पमेला उद्घाटन गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्य । तस्बिर : आदर्श समाज

पोखरा । पोखरा १९, तल्लोडाँडाका विन्दुप्रसाद पौडेलले गत वर्ष १ रोपनी बारीमा सयपत्री फूल रोपे । ५० हजार हाराहारी खर्च गरेका उनले ८० हजारभन्दा बढी कमाए । त्यसपछि पौडेलले आफ्नो स्वामित्वमा रहेको ६ रोपनीमा यो वर्ष सयपत्री मात्रै फुलाएका छन् । पितापुर्खाले कोदो रोप्दै आएको बारीमा उनले फूल रोपे । ‘पोहोर साल त राम्रै आम्दानी गरेको हो । कमाइ हुने देखेर अहिले कोदो रोप्नै छोडेर फूलमात्रै रोपें,’ उनी भन्छन्, ‘यो वर्ष ६ रोपनीमा फूल फुलेको छ । डेढ दुई लाख बचाउने लक्ष्य छ ।’ कोदो रोपेर खासै आम्दानी नभएको ठाउँमा पौडेलले फूल रोपेपछि राम्रो कमाइ गरेका छन् । ‘हेर्दा पनि बारी नै उज्यालो देखिने । दुख पनि खासै नहुने । फूलखेतीले बजार पाएन भन्ने चिन्ता पनि भएन,’ उनी भन्छन्, ‘किसानलाई साह्रै सुखको खेती रहेछ फूल ।’

उनलाई परिवारको पनि साथ छ । बुहारी नमिता अधिकारी प्रायः फूलबारीमै व्यस्त हुन्छिन् । तर तिहार अघि नै फूल फुलेपछि भने उनीहरु चिन्तित छ । ‘तिहार आउन बाँकी नै छ । फूल फुलिसक्यो । तिहारसम्म जोगाउन सकिन्न कि भन्ने चिन्ता छ,’ नमिताले भनिन्, ‘तिहारसम्म रह्यो भने त कमाइ राम्रो हुन्छ ।’ उनीहरुलाई फूलखेतीका लागि पोखरा महानगरपालिकाले सघाएको छ । बिउ खरिद महँगो हुने भएकोले ५० प्रतिशतसम्म अनुदान दिइएको महानगरले जनाएको छ । तिहार लक्षित गरेर फूलखेतीमा किसानलाई आकर्षित गरिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरिया बताउँछन् । ‘गत साल तिहारभन्दा पछि फूल फुल्यो । तिहारमा फूलको हाहाकार भयो । यसपालि अलि छिटो खेती गर्न भन्यौं तर तिहार पछि भयो,’ उनी भन्छन्, ‘फूल नरहने समस्या देखिएको छ तर कोल्डस्टोरमा राखेर भए पनि जोगाउने योजनामा छौं ।’

यस क्षेत्रमा करिब ३ सय प्रजातिका फूलको व्यावसायिक खेती हुँदै आएको छ

तिहारमा माग बढेपछि किसान पनि फूलखेतीमा लागेका हुन् । पोखरामा तिहारका बेला ३ करोडभन्दा बढीको फूलको कारोबार हुन्छ । ८० प्रतिशत फूल पोखरा आसपासबाटै आउँछ भने बाँकी भारतबाट आयात हुन्छ । भारतीय फूलको आयात रोक्न पोखराकै किसान कस्सिएका छन् । यो वर्ष महानगरको सहयोगमा थप १ सय रोपनीमा फूलखेती बिस्तार भएको कडरियाले बताए । १ सय २० जना किसानलाई ५ लाख फूलका बिरुवामा ५० प्रतिशत अनुदान दिइएको उनको भनाइ छ । ‘बिउदेखि प्राविधिक सहयोगसम्म महानगरले गरेको छ । किसानहरु पनि खुसी छन्,’ उनी अघि भन्छन्, ‘यो वर्ष बाहिरको फूल ल्याउनुपर्ने अवस्था छैन । पोखराकै उत्पादनले माग धान्छ ।’ किसानले उत्पादन गरेका फूल एउटै थुंगाको ५ रुपैयाँमा बिक्री हुन्छ । अघिल्लो वर्ष तिहारमा फूल अभाव भएकाले एउटै मालाको ५ सय रुपैयाँसम्म परेको थियो ।

खासगरी तिहार र प्रणय दिवसमा पोखरामा फूलको माग बढी हुन्छ । केही फूल स्याङ्जा, बागलुङ, गोरखा लगायत जिल्लाबाट आउँछ भने बाँकी भारतबाट नै आउने गरेको छ । यस क्षेत्रमा करिब ३ सय प्रजातिका पूmलको व्यावसायिक खेती हँुदै आएको छ । महानगरको सहयोगमा फूलखेती गर्ने बाहेक व्यावसायिक किसान पनि छन् । उनीहरुले वर्षौंदेखि फूलखेती गर्दै आएका छन् । तर फ्लोरिकल्चर एसोसिएसन नेपाल (फान) कास्कीका अनुसार भाइटीका बाहेकका फूल यो वर्ष पनि भारतसँग निर्भर हुनुपर्ने अवस्था छ ।

मौसम प्रतिकूलताका कारण फूल खेतीलाई असर परेको फानका पूर्व अध्यक्ष दयाकुमार द्वाले जानकारी दिए । ‘बिउ उमार्ने बेलामा नै पानी प¥यो । केही ठाउँमा तिहार अगाडि नै फूल्यो,’ उनले भने, ‘पूर्ण रुपमा आत्मनिर्भर हुन गाह्रै छ । तर विगतमा भन्दा फूलखेती गर्नेहरु बढेका छन् । खुसीको कुरा हो ।’ कुनै समय ९० प्रतिशतसम्म भारतीय फूल आयात हुने गरेकोमा अहिले १० प्रतिशतसम्म मात्रै आयात हुन थालेको छ । गण्डकीका ४८ व्यावसायिक किसान फानमा आवद्ध छन् । फानले तिहारकै छेकोमा पोखरामा पुष्प प्रदर्शनी आयोजना गरेको छ । सातौं संस्करणको गोदावरी पुष्प प्रदर्शनी तथा चौंथो गण्डकी प्रादेशिक पुष्प मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रबार उद्घाटन गरे ।

उनले पुष्प व्यवसायको प्रबद्र्धनमा महानगरपालिका प्रतिबद्ध रहेको बताउँदै पोखरालाई आवश्यक पर्ने फूल उत्पादन बढाउन लगानीको सहकार्य गर्न महानगर तयार रहेको जनाए ।

पुष्प मेलामा विभिन्न २० प्रजातिका फूलका स्टल राखिएको छ । २ स्टल कृषि सामाग्रीका छन् । पोखरा रंगशालामा सुरु मेला सोमबारसम्म चल्नेछ ।

आयातित फूलमालालाई कडाइ
पोखरा महानगरपालिकाले स्थानीय फूलमाला प्रयोगमा जोड दिएको छ । महानगरतर्फबाट आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले सूचना जारी गर्दै महानगरमा स्थानीय फूलमात्रै बिक्री वितरण र उपभोग गर्न आग्रह गरेका हुन् । सरकारले गत वर्षदेखि प्लाष्टिकजन्य फूलगच्छाको बिक्रीवितरण वा भण्डारण निषेध गरेको र यही ऐनको प्रयोग गरी यस्ता प्लाष्टिकजन्य फूलगुच्छाको बिक्रीवतरण रोक लगाउने गत साउन १२ को राजपत्रको सूचनाअनुसार तथा गत कात्तिक १ देखि पोखरामा आयातित सयपत्री माला बन्द गरेकोले सोको प्रभावकारी अनुगमन भइरहेको पनि महानगरले जनाएको छ ।

‘२०८० कात्तिक १ देखि आतातित सयपत्री माला बन्द गरेकोले उक्त निर्णयको प्रभावकारी कार्यान्वयनका लागि विगतमा पनि महानगरपालिको अनुगमन गर्दै आएको सर्वविदितै छ,’ सूचनामा भनिएको छ, ‘पोखरा महागरपालिकाको स्थानीय उत्पादन प्रवद्र्धन नीतिअनुसार प्लाष्टिकजन्य पूmलमाया बिक्री, वितरण तथा प्रयोग नगर्न, नगराउनहुन सम्पूर्ण व्यवसायी, सरकारी, गैरसरकारी संघसंस्था, उपभोक्ता तथा सर्वसाधारणलाई हार्दिक अनुरोध गर्दछौं ।’

पोखरामा यस वर्ष स्थानीय पुष्प व्यवसायीहरूसँग सहकार्य गरी थप १ सय ६५ रोपनीमा सयपत्री फूलखेती गरिएको महाशाखाका प्रमुख कडरियाले बताए । जसबाट कृषकलाई सयपत्री फूलखेती प्रवद्र्धन गरिएकोले आवश्यक फूलको लागि वडास्तरीय कृषि सञ्जाल, किसान बजार, साझेदार बजार तथा कृषि विकास शाखामा सम्पर्क गर्नु हुन अनुरोधसमेत गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width