पर्यटन दिवसमा पोखराभरि कार्यक्रम

आदर्श समाज सम्वाददाता
असाेज ११, २०८०
tourism day 2

पोखरा । पोखराले ४४ औं विश्व पर्यटन दिवस भव्य कार्यक्रमका साथ मनाएको छ । पर्यटनसम्बद्ध यहाँका विभिन्न संघसंस्थाहरुले छुट्टाछुट्टै इभेन्टको आयोजना गरे ।

विश्व पर्यटन दिवस २०२३ उद्घाटन समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई हनिमुन मनाउने सहररुपमा विकास गर्ने बताए । उनले पर्यटन क्षेत्रको नीतिगत सबै समस्या समाधान गर्न गण्डकी सरकार तयार रहेको पनि बताए । नेपाल र भारतबीच धेरै कुरामा समान छन् भन्दै मुख्यमन्त्री पाण्डेले दुई देशबीचको सदियौंदेखिको सम्बन्ध पर्यटन क्षेत्रबाट पनि बढ्ने विश्वास व्यक्त गरे । ‘सडकमार्ग स्तरोन्नति गर्छौं, हवाई कनेक्सनबाट पनि पोखरा र भारत जोडिने विश्वास छ,’ उनले भने, ‘हाम्रा बोर्डर खुला छन् । अरु सबैलाई नेपाल आउँदा भिसा चाहिन्छ, नेपाल र भारत आऊजाऊमा भिसा चाहिँदैन । अब अझै भारतीय पर्यटकको संख्या बढ्नेछ । धार्मिक पर्यटकलाई गण्डकी ल्याउन हाम्रो कार्यक्रम छ ।’

गण्डकी प्रदेशका पर्यटन मन्त्री दीपेन्द्रबहादुर थापाले निकट भविष्यमा भारतबाट धेरै क्षेत्रमा सहयोग हुने विश्वास गरे । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन भारत सरकारसँग आग्रह गरे । ‘पर्यटन व्यवसायी व्याज र कोभिडले थला परेको समयमा आजको कार्यक्रमले विशेष सहयोग पुग्छ । धेरैभन्दा धेरै पर्यटक भित्र्याउन प्रयासरत छौं,’ उनले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी आएपछि मुक्तिनाथमा पर्यटक बढेका छन् ।’ गाउँमा होमस्टे खुले पनि पर्यटक खासै नभएको बताउँदै उनले नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्नुपर्नेमा जोड दिए ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सडक स्तरोन्नति गर्न नेपाल सरकारलाई सुझाव दिए ।

उनले भने, ‘विश्वमा कुनै दुई देश यस्ता छैनन्, जुन नेपाल र भारतबीचको सम्बन्ध छ ।’ नेपाल आउनेमध्ये ४० प्रतिशत पर्यटक भारतका छन् भन्दै उनले अगाडि भने, ‘जनस्तरको सम्बन्ध बढाउनुपर्छ । भारतीय पर्यटकलाई बढाउन डिजिटल पेमेन्टको सुरुआत गर्नुपर्छ । रामायण सर्किटसँग जोड्न सके नेपालमा भारतबाट धेरै भारतीय पर्यटक बढ्न सक्छन् ।’

सडक स्तरोन्नति गर्न नेपाल सरकारलाई भारतीय राजदूत नवीन श्रीवास्तवको सुझाव

बुधबार जहाज र बसबाट पहिलो पटक पोखरा ओर्लिएका पर्यटकलाई दिवस अवसरमा फूलमालासहित स्वागत गरियो । बुद्ध एयरबाट पोखरा ओर्लिएका पाहुनालाई विमानस्थलमा पञ्चेबाजासहित खादा र माला लगाएर स्वागत गरिएको पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

पर्यटकको स्वागतार्थ पोखरा महानगरपालिकाका कावा मेयर मञ्जुदेवी गुरुङसहितको टोली विमानस्थल पुगेको थियो । पर्यटन व्यवसायीको समन्वयमा सबैभन्दा पहिलो पर्यटकलाई दोर्जेज रिसोर्टमा एकरातको प्याकेज र दोस्रो पर्यटकलाई प्याराग्लाइडिङ प्याकेज तथा अन्य पर्यटकलाई पोखरा अन्तर्राष्ट्रिय संग्रहालयमा निशुल्क प्रवेशको सुविधा दिइएको छ ।

दिवस अवसरमा नाट्टा गण्डकीले पोखरा पर्यटन बसपार्कमा वृक्षरोपण गरेको छ । बसपार्कमा मात्रै १ सय ११ वटा बिरुवा रोपिएको नाट्टा अध्यक्ष हरिराम अधिकारीले बताए । उनका अनुसार समी, धुपी, पारिजात लगायतका बिरुवा रोपण गरिएको हो ।

यस्तै, सोही ठाउँमा खुला रक्तदान कार्यक्रम पनि भयो । गण्डकीका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले पहिलो रक्तदाता अमृत सुवेदीलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरेका थिए ।

उता, रेवान पोखराले बुधबार साँझ मिनी स्ट्रिट फेस्टिभल गरेको छ । वाराहीचोकदेखि खहरेसम्म मिनी सडक महोत्सव आयोजना गरिएको अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । महोत्सवमा नेपाल र भारतका विभिन्न सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो भने सडकमै स्टल झारेर खानाका परिकार पस्किएको थियो ।

आन्तरिक तथा बाह्य पर्यटक पोखरा भित्र्याउन यस्ता इभेन्टले विशेष भूमिका खेल्ने पोखरा पर्यटन परिषद् अध्यक्ष श्रेष्ठ बताउँछन् ।

पोखराको पर्यटन प्रवद्र्धनका लागि छिमेकी मित्रराष्ट्र भारतबाट भारतीय टूर अपरेटर र भारतीय मिडियाकर्मी यहाँ आएका थिए । पर्यटन दिवसको पूर्व सन्ध्यामा असोज ९ मा टान गण्डकी आयोजनामा व्यवसायीहरू, पर्यटक र पत्रकारसहितको टोलीले मार्कीदेखि पुम्दीकोटसम्मको एकदिने पदयात्रा गरेको थियो ।

यस्तै, पृथ्वी होटल समितिले प्रभातफेरी र सरसफाइ गरेको छ । मानवअधिकार चोकबाट सुरु र्‍याली पृथ्वीचोक हुँदै पोखरा बसपार्कमा सरसफाइ गरेपछि सकिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width