गण्डकीको पर्यटन : योजनामा पहिलो नम्बर, बजेट भने नगन्य

आदर्श समाज सम्वाददाता
असाेज ३, २०८०
tourism

पोखरा । गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले पर्यटनलाई समृद्धिको पहिलो आधार मानेको छ । त्यसै अनुसार सुरुको सरकारले पर्यटनका नाममा होमस्टेतिर बजेट खन्यायो । महालेखाको परीक्षणका क्रममा होमस्टेको बजेट हिनामिना भएको पाइयो । पर्यटकीय क्षेत्रको पहिचान गर्ने भनेर बजेट छुट्याइयो, खर्च पनि गरियो । पदमार्गका नाममा पनि बजेट गइरहेको छ ।

अहिले पदमार्ग निर्माण र चौतारी संरक्षणजस्ता काममा बजेट छुट्याए पनि उल्लेखनीय काम भने हुन सकेको छैन । समग्रमा भन्ने हो भने योजनाको किताबमा पर्यटन पहिलो नम्बरमा राखिए पनि सरकारको प्राथमिकतामा भने कहिल्यै पर्न सकेको छैन ।

प्रदेश सरकार दोस्रो पञ्चवर्षीय योजनाको निर्माणमा जुटेको छ । त्यहि सिलसिलामा मंगलबार गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ‘पर्यटन व्यवसायीहरूसँग पर्यटकीय सम्भावना, अवसर र चुनौती’ विषयक अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध भएको बताए । प्रदेशका पर्यटकीय सम्भावनालाई उजागर गर्दै देखिएका समस्याहरू सम्बद्ध पक्षसँग सहकार्य गर्दै समाधान गरिने उनको भनाइ थियो ।

प्रदेशभित्रका केही स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताउँदै मुख्यमन्त्री पाण्डेले पदमार्ग क्षेत्रको संरक्षणसँगै नयाँ पदमार्गहरू खोजिनुपर्नेमा जोड दिए । पोखराबाट सबै प्रदेशमा हवाई सञ्जाल जोड्ने कुरालाई प्राथमिकतामा राखिएको बताउँदै उनले पृथ्वीराजमार्गको सडक निर्माणमा भइरहेको ढिलाइ सम्बन्धमा पनि सम्बद्ध निकायसँग निरन्तर छलफल गरिरहेको बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन सम्बन्धमा आफूले निरन्तर प्रधानमन्त्रीसँग छलफल गरिरहेको बताउँदै उनले यस सम्बन्धमा चाँडै नै सकारात्मक संकेत आउने विश्वास व्यक्त गरे । पर्यटकीय क्षेत्रमा राति पनि बजार खोल्ने सम्बन्धमा आफू सकारात्मक भएको बताउँदै उनले यस सम्बन्धमा सम्बद्ध पक्षसँग छलफल गरी निष्कर्षमा पुग्न सकिने भनाइ राखे ।

गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले पर्यटनमा गुणस्तरीयतालाई जोड दिनुपर्ने बताए । गण्डकी प्रदेश सरकारले तयार गर्न लागेको दोस्रो पञ्चवर्षीय योजनामा समेटिनुपर्ने विषयलाई जानकारी गराउन उनले सबैसँग आग्रह गरे । आयोगले अनलाइनबाट सुझाव प्रस्तुत गर्न सक्ने व्यवस्था मिलाएको बताउँदै उनले प्राप्त सुझावका आधारमा पटक–पटक छलफल गरी पञ्चवर्षीय योजनालाई अन्तिम रुप दिइने उनको भनाइ छ । साहसिक पर्यटनको विकासका साथै सडक, बाटोघाटो तथा पूर्वाधार सरकारको प्राथमिकतामा रहेको उनले बताए ।

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले दिगो पर्यटनमा जोड दिनुपर्ने आवश्यकता औँल्याए । पर्यटन क्षेत्रमा जनशक्तिको अभाव समस्या रहेको बताउँदै उनले पोखरा आउने बाटोघाटोलगायतका कारण पनि यहाँको पर्यटन प्रभावित बनेको उल्लेख गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोभिड, आर्थिक मन्दीलगायतका कारण प्रभावित पर्यटनको पुनरुत्थान अहिलेको आवश्यकता भएको धारणा राखे । पर्यटकको आगमन वृद्धि गर्नु जरुरी रहेको बताउँदै उनले भारतीय ५ सय रुपैयाँ दरको नोट सटही नहुँदा भारतीय पर्यटकको आगमन प्रभावित बनेको जनाए । पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनुपर्ने बताउँदैै उनले नेपाल एयरलाइन्सबाट उडान सुरु गर्न सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष सोमबहादुर थापा, टान गण्डकीका अध्यक्ष धर्मराज पन्थी, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारी, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)का अध्यक्ष उदय सुवेदी, पर्यटन मजदुर शालिकराम तिमल्सिना, लक्ष्मण सुवेदी, वासु त्रिपाठी लगायतले सरकारको अनुभूति हुने गरी पर्यटन क्षेत्रको विकासमा लाग्न सरकारको ध्यानाकर्षण गराए ।

Related News

सम्बन्धित समाचार

hero news full width