ओटेफद्वारा ४ महिलाको सम्मान

आदर्श समाज सम्वाददाता
भाद्र १५, २०८०
otef

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले समाज रुपान्तरणमा योगदान पु¥याएकोमा पोखराका ४ जना महिलालाई सम्मान गरेको छ । सम्मानित हुनेमा हिंसापीडित महिला एवं मानसिक स्वास्थ्यको क्षेत्रमा क्रियाशील अधिकारकर्मी विना सिलवाल, पर्यापर्यावरण संरक्षण एवं महिला र बालबालिकाको न्यायका पक्षमा आवाज उठाउँदै आएकोमा अधिवक्ता भगवती पहारी, पर्यटन व्यवसायी एवं बालबालिकाको क्षेत्रमा क्रियाशील गोमा ढकाल र क्यान्सरविरुद्ध जुधेर पनि उद्यममा क्रियाशील लक्ष्मी शर्मा भट्टराई हुन् ।
गण्डकी प्रदेशको दिगो पर्यटन, सांस्कृतिक पर्वहरुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको ‘तीज विशेष नारी सम्मान कार्यक्रम–२०८०’ मा प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले उनीहरुलाई सम्मान गरेकी हुन् ।
सांसद भट्टराईले समाज रुपान्तरणमा महिलाको योगदानको चर्चा गर्दै तीज पर्व पछिल्लो समय महिलाको महान पर्वको रुपमा विकसित हुँदै स्वतन्त्रताको पर्वको रुपमा स्थापित हुँदै गएको बताइन् । उनले सामाजिक विकासक्रमसँगै संस्कृतिहरु पनि हस्तान्तरण हुँदै जाने र समुदायले अपनत्व लिने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिइन् । तीज पर्वका विषयमा विभिन्न टीकाटिप्पणी आइरहेको सन्दर्भलाई जोड्दै तीज पर्व पनि सरकारसँग जोडिन पुगेको बताइन् । समुदायको भावना र सद्भावलाई कायम राख्न सरकारले नियन्त्रणकारी सोच नराखी सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । उनले पोखरा पर्यटकीय गन्तव्यसँगै आर्थिक रुपमा गतिशील सहरको रुपमा विकास गर्न सबैको साझा र स्पष्ट दृष्टिकोण हुनुपर्नेमा जोड दिइन् ।
गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले पर्यटन क्षेत्रमा महिला पर्यटन व्यवसायीको योगदान उल्लेखनीय रहेको बताउँदै चाडपर्वलाई महिला सशक्तीकरणसँग जोडेर अगाडि लैजानुपर्नेमा जोड दिइन् । सामाजिक समानताको अभियानमा यस्ता पर्वलाई माध्यम बनाएर समग्र विकासका लागि साझा धारणा र दृष्टिकोणको आवश्यकता रहेको उनको भनाइ थियो ।
सम्मानित व्यक्तिहरुले सामाजिक क्षेत्रका लाग्दा भोग्नुपरेको अनुभव सुनाउँदै सम्मानले थप ऊर्जा मिलेको बताए महिलालाई साँघुरो घेरामा नभइ बृहत्रुपमा स्वतन्त्र र खुला रुपमा बहस गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा उनीहरुको थियो ।
पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्माले तीज पर्वको गलत व्याख्या नगरी महिला अधिकार स्वतन्त्रताको पर्वको रुपमा मनाउनुपर्नेमा जोड दिइन् ।संस्थाका अध्यक्ष उमा भण्डारीले तीज पर्वले महिलामा उत्साह उमंग र ऊर्जा दिने भएकाले पर्वको महत्व र महिमा लागि सकारात्मकरुपमा लिएर कार्यक्रमको आयोजना गरिएको बताइन् । कार्यक्रममा संस्थाका महासचिव लक्ष्मी लामिछाने सञ्चालन र कार्यक्रम संयोजक विकल्प बोगटीले स्वागत मन्तव्यसहित कार्यक्रम उद्देश्यमाथि प्रकाश पारेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width