मदरल्यान्डबाट ४ जिपिए ल्याउनेलाई ५० हजारसहित सम्मान

दुवैले प्लस टु पनि मदरल्यान्डमै पढ्ने

आदर्श समाज सम्वाददाता
असार २३, २०८०
motherland final

एसइईमा ४ जिपिए ल्याउने जोन राना र सुदेश आचार्यलाई ५० हजारसहित सम्मान गरिँदै ।

पोखरा । मदरल्यान्ड माध्यमिक विद्यालय, पोखराबाट एसइई परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको छ ।

विद्यालयले शनिबार आयोजना गरेको दीक्षान्त समारोहमा जोन राना र सुदेश आचार्यलाई जनही ५० हजार र सम्मानपत्रसहित सम्मान गरिएको हो । सम्मानित दुवै विद्यार्थीले निरन्तर अभ्यासमा जुट्न सके आशातीत नतिजा हासिल गर्न सकिने बताए । उनीहरुले प्लस टु विज्ञान मदरल्यान्डमै पढी उच्च शिक्षाको ढोका खोल्ने चाहना व्यक्त गरे ।

दस जोड दुईका इन्चार्ज नारायण आचार्यले विद्यालयको विज्ञान र व्यवस्थापन समूहबारे जानकारी गराएका थिए । विद्यालय निर्देशक त्रिभुवन शर्माले जीवनमा आइपर्ने परिस्थितिसँग सहजरूपमा जुँध्नन सक्ने बन्नुपर्ने सुझाव दिँदै शिक्षाले असल आचरण र चरित्र निर्माणमा विशेष भूमिका खेल्ने बताए ।

कार्यक्रममा कक्षा १० मा अध्यापनरत् शिक्षक शिक्षिकाहरुलाई सम्मान गरिएको थियो । साथै वर्ष २०७९ मा एसइई उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई मेडल, सम्मानपत्रसहित सम्मान गरियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमनारायण पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अंग्रेजी विभागका विभागीय प्रमुख तथा वैदेशिक अध्ययन विद्यार्थी परामर्शकर्ता बामनकुमार घिमिरेले गरेका थिए । कार्यक्रममा विद्यालय प्राचार्य नारायण बराल, शिक्षक तथा विद्यालयका सञ्चार प्रमुख होमनाथ भट्टराई लगायतले बोलेका थिए ।

विद्यालयबाट एसइईमा सम्मिलित १ सय ५१ विद्यार्थीमध्ये २ जना ४ जिपिए सहित ७२ जनाले ए प्लस, ४६ जनाले ए, ३१ जनाले बि प्लस र २ जनाले बि ग्रेड ल्याएका हुन् । यस वर्षको एसइईमा कास्कीबाट मदरल्यान्डसहित ३ विद्यार्थीको मात्र ४ जिपिए आएको हो । फिस्टेल एकेडेमीकी प्रनिशा तुलाचनले पनि जिपिए ४ ल्याइन्।

कास्कीमा १० हजार १ सय ८९ जना (प्राविधिकबाहेक) सम्मिलित भएकोमा माथिल्लो ग्रेड ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थी ७ सय ६२ जना रहेको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width