२५ विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०७८
Corona Banner

पोखरा । बागलुङमा एकै विद्यालयका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै समुदायस्तरमा बिहीबार नै ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
बागलुङ नगरपालिकाको बलेवास्थित एक विद्यालयमा कोरोनाको लक्षणपछि ८२ जनाको परीक्षण गर्दा एकसाथ २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए । उक्त विद्यालय व्यवस्थापन समितिको निर्णयानुसार अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विद्यालयमा पुनः शुक्रबार थप विद्यार्थीको कोरोना परीक्षणपछि मात्रै विद्यालयको नाम खुलाइने छ ।
घिमिरेका अनुसार विद्यालय भएको समुदायको ३ जनामा समेत कोरोना पुष्टि भएकाले धेरै मात्रमा समुदायमा कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालयको अनुमान छ । त्यस क्षेत्रमा स्वास्थ्य कार्यालयको टोली शुक्रबार जाने र अवस्था बुझेपछि जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समितिले निर्णय गर्ने जनस्वास्थ्य निरीक्षक घिमिरेले बताए । कोरोना पुनः बढेसँगै स्वास्थ्य सचेतना अपनाउन कार्यालयले अनुरोध गरेको छ । बागलुङमा बुधबारसम्म जम्मा १३ सक्रिय संक्रमित रहेकामा बिहीबारमात्रै सक्रिय संक्रमित संख्या ४१ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width