‘मेरो जिम्मेवारी जनताको सेवा हो’

आदर्श समाज सम्वाददाता
असार ५, २०७८
ps subba

पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले आफ्नो मूल जिम्मेवारी जनताको सेवा भएको बताएका छन् । शुक्रबार प्रदेशवासीको नाउँमा आभारपत्र सार्वजनिक गर्दै उनले मूल जिम्मेवारी मुख्यमन्त्री भएर प्रदेशको नेतृत्व गर्नु नभई, मूल जिम्मेवारी त जनताको सेवा नै हो भनेका छन् । उनले मुख्यमन्त्रीबाट बिदाइ हुँदा पनि त्यो जिम्मेवारीबाट आफू बिचलित नहुने स्पष्ट पारेका छन् ।
उनले सरकारको नेतृत्वमा हुँदा र नहुँदा आफ्नो निष्ठा, आदर्श र अठोटमा कुनै फेरबदल नहुने पनि दोहो¥याए । ‘आज गण्डकी प्रदेशले जुन उचाइ हाँसिल गरेको छ, संघीयता जनताका निम्ति सहज, सुलभ र नजिकको शासन प्रणाली हो भनेर विश्वास आर्जन भएको छ, त्यो सबै यहाँहरुकै साथ, समर्थन र सहयोगबाट सम्भव भएको हो,’ उनले भनेका छन्, ‘कार्यालय, जनशक्ति, कानुन केही नभएको शून्य अवस्थाबाट सुरु गरेर प्रदेशलाई आज जुन अवस्थामा तपाईं हामीले पाएका छौं, यहाँ ल्याइपु¥याउन, थिति बसाल्न हामी सफल भएका छौं भन्ने मेरो विश्वास हो । फेरि पनि मूल्यांकन अभिभारा आदरणीय जनसमुदायकै काँधमा सुम्पन्छु ।’
उनले भनेका छन्, ‘कार्यकालभरि मेरो अर्जुनदृष्टि गण्डकी प्रदेश र जनताको हितबाहेक केही भएन तर त्यसको मूल्यांकनको अभिभारा तपाईंहरुकै हो । आफ्नो जन्मभूमि माटोको कसम खाएर भन्छु, मैले आफ्नो क्षमताले भ्याएसम्म प्रदेशका लागि योगदान गर्न एक निमेष पनि खेर जान दिइनँ । आफ्नो कार्यकालभरि मैले संघीयता, गण्डकी प्रदेश र यो प्रदेशका मेरा प्यारा जनसमुदायका हितमा काम गर्दागर्दै गण्डकी प्रदेश सभामा निर्मित अराजनीतिक गठबन्धनका कारण गण्डकी प्रदेश सरकारको नेतृत्वबाट विस्थापन गराइएँ । २०७४ फागुन ४ देखि २०७८ जेठ २९ सम्म मुख्यमन्त्री हैसियतमा रहे र काम गर्ने अवसरका लागि जनसमुदायप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।’
उनले मुलुकमा संघीयता संस्थागत हुने दिशामा रहेको उल्लेख गर्दै लोकतान्त्रिक संघीय गणतन्त्र बलियो बनाउँदै लगेको दाबी गरे ।
यसैबीच, संसदमा विश्वासका मत लिन मुख्यमन्त्री पोखरेलले गरेको प्रस्तावमा प्रमुख प्रतिपक्षी दलको हैशियतमा छलफलमा भाग लिँदै अहिले नै सरकारलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारे । आफ्नो कार्यकालमा कोरिएका रोडम्याप भोलिका दिनमा कार्यान्वयन भए सरकारलाई सहयोग र समर्थन हुन सक्ने उल्लेख गर्दै उनले तर अहिले नै पोखरेल सरकारलाई विश्वासको मत दिने बेला नभएको बताएका हुन् ।
‘निष्ठा, आदर्श र सिद्धान्तलाई भत्काएर गरिने यात्रा, जहिले पनि भत्किन सक्छ,’ उनले भने, ‘स्ट्रक्चर बदलियो तर हाम्रो व्यवहार बदलिएन ।’
प्रदेशमा ७ बटा बढाएर ११ वटासम्म मन्त्रालय बिस्तार गरेकोमा तत्कालीन विपक्षी दलबाट टीकाटिप्पणी खेपेको स्मरण गर्दै उनले अहिले भने आफ्नो कार्यबाट अहिलेको सरकारलाई सजिलो भएका बताए । उनले भने, ‘प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ । मैले चाहेको भए जाँदाजाँदै एउटै निर्णयले मन्त्रालय संख्या घटाउन सक्थेँ तर त्यसो गरिनँ । त्यो भनेको मेरो निष्ठा हो ।’
उनले भने, ‘अहिलेको अवस्थासम्म आउन पनि केन्द्रसँग लामो लडाइ गरेर स्थापना गरेका हौं । कानुन नबन्दा, स्रोत र भौतिक पूर्वाधार नहुँदा गाह्रो थियो । अहिलेको अवस्था त्यत्तिकै आएको होइन ।’
उनले गण्डकी प्रदेशलाई समृद्धि बनाउने, सुखी नेपाली बनाउने र संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउने रोडम्यापमा आफ्नो दल सधैँ प्रतिबद्ध रहेको बताए । जातीय अहंकारको कुरा बेलाबखतमा आइरहन्छन् भन्दै उनले जातीय सद्भाव कायम गर्न आफूले नै पहल गरी ‘गण्डकी’ नामकरण गरेको उनको दाबी थियो । आफ्नो सरकारले निरन्तरता पाएको भए चालू आवको पुँजीगत खर्च ९५ प्रतिशत कटाउने उनको दाबी थियो ।
नेकपा (एमाले) स्थायी कमिटी सदस्य उनी २०७४ मंसिर १० मा प्रदेशसभाको निर्वाचनमा लमजुङ (ख) बाट निर्वाचित भएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width