सार्वजनिक खरिद प्रक्रिया अघि बढाइएकामा निर्माण व्यववसायी महासंघको विरोध   

आदर्श समाज सम्वाददाता
जेठ ७, २०७८
nirman-bebasayee

काठमाडौं । कोभिड–१९ का कारण दैनिक मानवीय क्षति बढ्दै गइरहेको परिस्थितिमा महामारीसँग सम्बन्धित खरिद प्रक्रियाबाहेक निर्माणका सार्वजनिक खरिद प्रक्रिया अघि बढाइएकामा नेपाल निर्माण व्यवसायी महासङ्घले विरोध जनाएको छ । जनताको स्वास्थ्यमा ध्यान नदिई सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका विभिन्न कार्यालबाट खरिद प्रक्रिया अघि बढाइनु स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको मापदण्डविपरीतको गैरजिम्मेवार कार्य भएको महासङ्घको भनाइ छ । राज्य आफँैले जारी गरेको निषेधाज्ञाको आदेशविपरीत जटिल अवस्थामा बोलपत्र आह्वान गरी महामारीकै समयमा निर्माण व्यवसायीलाई काममा सहभागी गराउन खोज्नु न्यूनतम मानवअधिकार र मानवीय संवेदनशलीताको उल्लङ्घन भएको महासङ्घका महासचिव रोशन दाहालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

निषेधाज्ञाको समयमा बैंक जमानत जारी गर्न नमिल्ने गरी आएको बैंकहरूको सूचनाले बोलपत्रको प्रक्रियामा व्यवसायी सहभागी हुनै नसक्ने अवस्था जगजाहेर हुँदाहुँदै बोलपत्रको सूचना प्रकाशन गर्नुको पछाडि आर्थिक आर्थिक मिलोमतो भएको हुनसक्ने देखिएको महासङ्घको भनाइ छ । बोलपत्र प्रकाशित भएपछि सम्बन्धित ‘साइट भिजिट’ गर्नु अनिवार्य हुने र हाल जारी निषेधाज्ञाका कारण ‘साइट भिजिट’ गर्न सक्ने अवस्था नै नरहेको विज्ञप्तिमा उल्लेख छ ।

‘‘बोलपत्र प्रकाशित गर्ने सार्वजनिक निकायले बीचमा ‘प्रिबिड मिटिङ’ राख्नुपर्नेमा राख्न नसक्ने अवस्था विद्यमान हुँदाहुँदै बोलपत्र प्रक्रियामा जानु सार्वजनिक खरिद ऐन तथा नियमको ठाडो उल्लघङ्न भएको स्पष्ट छ”, विज्ञप्तिमा लेखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयलगायत सरकारी निकायले आर्थिक वर्षको अन्तिममा बजेट ‘ल्याप्स’ हुने आशङ्काले बोलपत्रको म्याद थप नगर्ने कार्यउपर पनि गम्भीर आपत्ति रहेको महासङ्घले जनाएको छ । महामारीको समयमा लोक कल्याणकारी राज्यले जनताको जीउधनको सुरक्षामा ध्यान दिनुपर्नेमा सार्वजनिक खरिदका लागि बोलपत्र आह्वान गर्नै नहुने महासङ्घको ठहर छ ।

अधिकांश सार्वजनिक निकाय र स्थानीय तहबाट बोलपत्र प्रक्रिया अघि बढाइरहेको सूचना महासङ्घलाई प्राप्त भएको विज्ञप्तिमा जनाइएको छ । निषेधाज्ञा अवधिभरका लागि खरिद प्रक्रिया स्थगन गर्न र उक्त बोलपत्र पेश गर्ने म्याद निषेधाज्ञा समाप्त भएको मितिले कम्तीमा १५ दिनसम्मका लागि अत्यावश्यक सेवाबाहेकका सबै खरिद प्रक्रियाको म्याद थप गर्न महासङ्घले सम्बन्धित सबैमा जोडदार माग गरेको छ । रासस
–––

Related News

सम्बन्धित समाचार

  • गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति…
  • पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य

    आदर्श समाज सम्वाददाता माघ १८, २०८१
    पोखरा । भारतको राजस्थान राज्यको उदयपुर संभाग क्षेत्रका महिलाहरु परम्परागत रुपले टाउकोमा ८/९ वटा पानीको घडा (माटोको गाग्री) राखेर नाच्छन्…
  • पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति

    आदर्श समाज सम्वाददाता माघ १६, २०८१
    पोखरा । गण्डकी प्रदेश सरकारको गौरवको आयोजना हो–प्रदेश औद्योगिक क्षेत्र निर्माण । २०७४ सालमा सरकार गठन भएकै समयमा नवलपुरको लोकाहाखोला…
  • नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नदीपुरस्थित नेपाल भारतमैत्री पुस्तकालय सहजरुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री…
  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…

hero news full width