चन्दा लिन्न, राजनीतिको परिभाषा बदल्छुः इन्जिनियर धर्मराज

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७६
dharmaraj (4)

पोखरा ५, मंसिर । समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङ पोखरा –२० लामडाँडा पुगेर चन्दा नलिने घोषणा गरेका छन् ।

इन्जिनियर धर्मराजले वर्षौं देशमा शासन गरेर राजनीतिक दलले राजनीति र संसदको परिभाषा नै बिगारेको बताए । ‘म भ्रष्टाचार गर्दिन् । आफ्नो स्वार्थ हेर्दिन । तपाईंहरुले औंला उठाउने अवस्था होइन, अंगालो मार्ने वातावरण बनाउँछु,’ समाजवादी पार्टीका उम्मेदवार इन्जिनियर धर्मराजले मतदातासामु भने, ‘वर्षौंसम्म सत्तामा राजकाज गरेका पार्टीले राजनीतिको अर्थ नै बिगा¥यो । म राजनीतिक संस्कार र संसदप्रतिको नजर बदल्न चाहन्छु ।’

घरदैलोमा गुरुङलाई मतदाताले शुभकामना दिए । देशका लागि चाहिने नेता नै धर्मराजजस्तै भएको स्थानीयले प्रतिक्रिया दिए । स्थानीयले भने, ‘तपाईंले उठाएका कुरा राम्रा लाग्यो । यसपटक भोट तपाईंलाई भयो ।’ अरु राजनीतिक पार्टीले भोट माग्न आउँदा यो गर्छु, त्यो गर्छु भन्ने, चन्दा उठाउने र सांसद भएपछि पैसा कमाउनतिर लाग्दा राजनीति नै खराब भएको धर्मराजले बताए । उनले सांसद भइसकेपछि जनतासँग संवाद गरेर आवश्यकताका आधारमा विकास निर्माणको पहल गर्ने प्रतिवद्धता जनाए ।

‘चुनावमा म ठूलो कुरा गर्दिनँ । पहिले हातमा भोट हालेर जिताउनुस्, अनि सांसदले गर्ने काम के हो भन्ने देखाउँछु,’ धर्मराजले भने, ‘म कसैसँग चन्दा मागेर चुनाव प्रचार र तपाईंहरुको घरदैलोमा आएको होइन । चन्दा माग्ने, ऋण खोजेर चुनाव लड्ने र सांसद भएपछि त्यो असुल गर्न लाग्दा सांसदप्रतिको हेराई खराब बनेको छ । म फोहोरी भनिएको राजनीतिलाई सफा गर्न चाहन्छु ।’

काण्डकाण्डमा देश फसिरहेको देखेपछि दुख लागेको र अब आफैं राजनीतिलाई सफा गर्नुपर्छ भनेर उम्मेदवार भएको उम्मेदवार गुरुङले बताए । ‘निर्मलाका आमाहरुको आँखु रोकिएको छैन । सुन काण्डदेखि बालुवाटारसम्मका काण्डमा देश फस्यो । सांसद र नेताले गर्ने त्यस्तो हो त ?’ वडा नम्बर २० मा घरदैलो गर्दै धर्मराजले भने, ‘यो देखेपछि मलाई दुख लाग्यो र राजनीतिमा आयो ।’

लामो समय सयुक्त राष्ट्र संघमा इन्जिनियरका रुपमा काम गरेको अनुभव देशमा लगाउने दृढ संकल्पका साथ चुनावमा होमिएको गुरुङले बताए । ‘गोर्खा सैनिक र राष्ट्र संघमा मैले सिकेको के हो भने भाषण धेरै नगर्ने, काम गर्ने,’ गुरुङले भने, ‘सँग अहिले नै ठूला ठूला विकासको सूची छैन । तर, सांसद भएपछि कुन सिस्टमले काम गर्नुपर्छ भन्ने देखाउँछु ।’

उनले देश सुधार्न विज्ञ र दूरदर्शी नेता नहुँदा बिग्रिएको बताए । अहिले सबैभन्दा बढी सरकारी कार्यालयको हालत र पूर्वाधार विकास निर्माणको तरिका बदल्नुपर्ने उनको भनाइ थियो । ‘हाम्रो हालत के छ भनेर बुझ्न यहाँको सरकारी कार्यालय हेरे पुग्छ ।

पोखराको बाटो र अव्यवस्थित पार्किङ हेरे पुग्छ । महानगर भएर पनि सुविधा कस्तो छ भन्ने लालडाँडा र मौजालाई हेरे पुग्छ,’ गुरुङले भने, ‘यस्तो अव्यवस्थित कार्यालय, यस्तो दुख र असुविधा अहिलेसम्मका नेता र सांसदले विचार नपु¥याएकै कारण भएको हो । म यो तरिका बदल्न चाहन्छु ।’उम्मेदवार गुरुङले चुनावी सारगर्मी बढेसँगै घरदैलो अभियानलाई पनि तीव्र पारेका छन् । जनताको साथ, समर्थन र उत्साहका कारण आफ्नो जीत पक्का रहेको उम्मेदवार गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width