२३ औं आहा रारा पोखरा गोल्डकप : पुलिसद्वारा एपिएफ पराजित

आदर्श समाज सम्वाददाता
माघ १२, २०८०
Aaha Rara Police Win News

तस्बिर : दुर्गाप्रसाद पाैडेल

पोखरा । २३ औं आहा रारा पोखरा गोल्डकपमा नेपाल पुलिस क्लब क्वाटरफाइनल प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा चौथो तथा अन्तिम प्रिक्वाटरफाइनलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २–० गोलले पराजित गर्दै विजयी यात्रा सुरुआत गरेको हो ।

आहा रारामा सर्वाधिक सफल पुलिसलाई अघि बढाउन मानबहादुर परियारले २ गोलको योगदान दिए । उनले खेलको १९ र ७० औं मिनेटमा हेडमार्फत गोल गरेका हुन् ।
सुरुआति समयदेखि दुवै टिम निकै प्रतिस्पर्धामा थिए । तेस्रो मिनेटमा नै पुलिसका दीपेन्द्र बिकले दिएको पासमा प्रताप गुरुङले एपिएफका डिफेन्डर बिट भइसकेको अवस्थामा ढिला प्रहार गरे । १२ औं मिनेटमा पुलिसका हेम तामाङले एपिएफका बिके तामाङलाई लगाएपछि पाएको फ्रिकिक मणि लामाले पोस्टको दिशा दिन सकेनन् । १९ औं मिनेटमा प्रताप गुरुङको फ्रिकिकमा मानबहादुरले हेड गोल गर्दै टिमलाई अघि बढाए । ३३ औं मिनेटमा एपिएफले बराबरी गोल गर्ने सुनौलो मौका गुमायो । डि–एरियाका ३ डिफन्डर बिट गर्दै प्रहार गरेको बल क्रसबारमा लागेर फर्कियो ।

आज पहिलो क्वाटरफाइनलमा भुटानको पारो फुटबल क्लबसँग थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुने

३३ औं मिनेटपछि मणि लामाको फ्रिकिक बल पुलिसका गोलरक्षक शत्रूधन चौधरीले पञ्च गर्दै कर्नरका लागि बाहिर फालिदिए । सो कर्नरमा बुद्धिमान राईले हानेको हेड बल रिबान्ड भएपछि सुमन श्रेष्ठले प्रहार गरेको बलले पोस्टको दिशा नलिँदा एपिएफले पहिलो हाफमा बराबरी गर्ने अर्को अवसर गुमायो ।

दोस्रो हाफमा अधिकांश समय एपिएफले बल आफ्नो नियन्त्रणमा राखेको थियो । तर, गोल भने गर्न सकेन । पुलिसले पाएको अवसर सदुपयोग गर्दै अग्रता दोब्बर बनायो । ५३ औं मिनेटमा मणिको प्रहार बाहिरियो । ६५ औं मिनेटमा मणिले नै प्रहार गरेको फ्रिकिकमा दीपेश हमालले जाली चुमाउन सकेनन् । ७० औं मिनेटमा पुलिसले पाएको कर्नरको अवसरलाई सदुपयोग गर्न पुनः मानबहादुरले नै हेड गोल गरे । ७६ औं मिनेटमा एपिएफका युवराज खड्काले प्रहार गरेको बल पोस्ट माथिबाट बाहिरियो । उनले पुलिसका गोलरक्षक शत्रूधनले नियन्त्रणमा लिन खोजेको रिबाउन्ड बल प्रहार गरेका थिए । ८३ औं मिनेटमा पुलिसका प्रवीण थापाले एपीएफका गोल रक्षक उज्वल श्रेष्ठसँग वन भर्सेस वनको अवस्थामा बिट गर्दै भली प्रहार फितलो रह्यो । उनको प्रहार एपीएफका खेलाडीले बचाए । ८९ औं मिनेटमा एपीएफले गोल गर्ने राम्रो अवसर गुमायो । पुलिसका गोलकिपर शत्रूघनले रोक्न नसकेको बल रिबाउन्डमा दीपेश धिमालले प्रहार गरेको बल बाहिरियो ।

पुलिसका प्रशिक्षक चेतन घिमिरे केही नयाँ खेलाडी लिएर खेल्दा समन्वय अभावबीच पनि जित निस्केको बताए । ‘खेल जित्नका लागि गोल आवश्यक त पर्छ नै । हामीले २÷४ जना नयाँ खेलाडी ल्याएर परिक्षण गरेका थियौं । त्यही कारण केही एड्जस्ट नभएको जस्तो देखियो,’ उनले भने, ‘तर पनि केही पाएको अवसर खेलाडीले सदुपयोग गरे ।’
एपिएफका प्रशिक्षक सुमन श्रेष्ठले फिनिसिङ गर्न नसक्दा हार व्यहोर्नु परेको बताए । पुलिसले क्वाटरफाइनलमा चर्च व्बाईजसँग खेल्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग