वडाध्यक्षको तलबबाट विश्वशान्तिका विद्यार्थीलाई पोसाक

आदर्श समाज सम्वाददाता
माघ १०, २०८०
Posak bitarans

पोखरा । कास्कीको रूपा–५, देउरालीका ५० जना विपन्न समुदायका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ । रूपा २ का अध्यक्ष राजन सुवेदीले विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यार्थीहरूलाई पोसाक वितरण गरेका हुन् । सुवेदीले जनप्रतिनिधि भएबापत् आफूले पाउने सम्पूर्ण रकम जनसेवामा खर्च गर्ने प्रतिबद्धता जनाएअनुसार विद्यार्थीहरूलाई पोसाक वितरण गरेको स्पष्ट पारे । उनले यसअघि चण्डी आधारभूत विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरेका थिए ।

गत आर्थिक वर्षमा आमा समूह, युवा क्लब, टोल सुधार समिति, युवा समूह, विद्यालयलाई सहयोग, बिरामीको औषधीलगायत ७० भन्दा बढी योजनामा ७ लाख रुपैयाँभन्दा बढी उनले खर्च गरेका थिए । चालु आर्थिक वर्षमा जनस्वास्थ्यमा ५० हजार, खेलकुद तथा युवा प्रोत्साहनमा १ लाख र विद्यार्थी प्रोत्साहन कार्यक्रमअन्तर्गत डेढ लाखभन्दा बढी रकम खर्च गरिसकेका छन् भने केही विद्यालयमा सहयोगको तयारी भइरहेको वडाध्यक्ष सुवेदीले जानकारी दिए ।

सुवेदीले राजनीतिलाई पेसाका रूपमा नभई समाजसेवाका रूपमा अघि बढाउनुपर्ने मान्यता आफ्नो रहेको बताउँदै जीविकोपार्जनका लागि जनप्रतिनिधिले पनि कुनै उत्पादनमूलक काम गर्नुपर्ने धारणा राखे । आफूले पाएको सबै रकम जनताकै सेवामा खर्च गर्ने उनले प्रतिबद्धता दोहो¥याए । ‘कुनै पनि गरिब जनता उपचारको अभावमा मर्नुनपरोस्,’ सुवेदीले भने, ‘जनप्रतिनिधि भइन्जेल सधैं म जनताको दुखमा साथमै रहने छु ।’ उनले आफ्नो कामलाई आन्दोलनको संज्ञा दिँदै जनप्रतिनिधि जागिरे होइन भन्ने प्रमाणित गर्नुपर्नेमा जोड दिए ।

पोसाक वितरण कार्यक्रममा साविक रूपाकोट गाविसका पूर्व अध्यक्ष टीकाराम पंगेनीले राजन जस्ता युवाको राजनीतिक चेतनासहितको कार्यशैलीले आशाको किरण देखापरेको बताए । नेकपा एमाले कास्की क्षेत्र नम्बर १ इन्चार्ज र गण्डकी प्रदेश सदस्यसमेत रहेका पंगेनीले अबको विकासको मोडल उत्पादनमा आधारित हुनुपर्नेमा जोड दिए ।

नेकपा एमाले गण्डकी प्रदेशका सदस्य विष्णु पुनले समृद्धिको अभियान वडाध्यष सुवेदी जस्ता त्यागी र सकारात्मक सोच भएका युवा राजनेताहरूबाट मात्रै सफल हुन सक्ने धारणा राखे । जनताको सेवामा लाग्ने राजन र राजन जस्ता युवाहरूका पक्षमा आफू सधैं लागिरहने पुनको भनाइ थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्तकुमार श्रेष्ठले आफ्नो आम्दानी विद्यार्थीका लागि खर्चेर सुवेदीले असल जनप्रतिनिधिको परिचय दिएको बताए । रूपाका विद्यालयमा मात्र नभई हरेक बस्ती र कुनामा पुगेर सेवा गर्दै आएका

राजनबाट अन्य जनप्रतिनिधिले पनि पाठ सिक्नुपर्ने बताउँदै श्रेष्ठले विश्वशान्तिका विद्यार्थीका लागि गरेका सहयोगप्रति धन्यवाद दिए ।
विद्यालयका प्रधानाध्यापक बुद्धिसागर अधिकारीको स्वागत तथा शिक्षक बाबुराम सुवेदीको सञ्चालनमा भएको कार्यक्रममा राष्ट्रिय युवा संघ, रूपाका अध्यक्ष सुजन श्रेष्ठ, उपाध्यक्ष हिमाल गुरुङ, खेलकुद महासंघ, कास्कीका सदस्य खेम गुरुङलगायत सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग