बाबु–छोरीको मार्मिक कथा ‘चित्रा’

विजय नेपाल
पौष २७, २०८०
chitra

पोखरा । घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ । पारिवारिक कथामा आधारित यो फिल्मले बाबु–छोरीको मार्मिक कथा देखाएको छ । सस्तो मायाप्रेममा आधारित फिल्मभन्दा फरकधारको यो फिल्मले दर्शक तान्न सक्ने सम्भावना देखिन्छ ।

शुक्रबार पोखराको मिड टाउन फिल्म हलमा दर्शकले कलाकारसँगै फिल्म हेरेका छन् । पोखरेली निर्देशक लामिछानेले फिल्म राम्रो बनेको र पोखराबाट बनेको फिल्मलाई विगतमा झैं माया गरिदिन अनुरोध गरे । चलचित्र पत्रकार संघ कास्कीको संयोजनमा पत्रकार भेटघाटमा उनले फिल्मको कथा पारिवारिक कथाबस्तुमा आधारित रहेको बताए ।

निर्माता आशीष थापामगरले कथाबस्तु राम्रो भयो भने नेपालमा अझै फिल्मको बजार सुखद रहेको बताए । ओझेलमा परेका कलाकार समटेर राम्रो कथामा फिल्म बनाए सम्भावना रहेको उनको भनाइ थियो । ‘चित्रा’ को कथाले आफूलाई प्रभाव पारेकोले पहिलो पल्ट फिल्ममा लगानी गरेको प्रस्ट पारे ।

यही फिल्मबाट डेब्यु गरेका सन्तोष अधिकारी दर्शकको माया पाउनेमा आशावादी देखिन्छन् । करिब २ घण्टा लामो यो फिल्मको कथा ‘चित्रा’ पात्र वरिपरि घुम्छ । बालकलाकार सिम्रन खड्काको अभिनय लोभलाग्दो छ । उनले अग्रजसँग काम गर्न पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिइन् । सन्तोष अधिकारी बाबु र आयुषी ढकालसँगै सिम्रन छोरी पात्रमा छन् ।

पोखरा र यसआसपास क्षेत्रमा खिचिएको ‘चित्रा’ मा बाबुले छोरीलाई बचाउन गर्ने संघर्षमात्रै नभएर पारिवारिक उतारचढाव, स्नेह, प्रेम, मित्रता, द्वन्द्व लगायत समेटिएको छ ।

फिल्ममा प्रमोद अग्रहरिको अभिनयले दर्शकलाई अड्याएर राख्छ । यस्तै, शुभेच्छा खड्का, अर्पण थापा, मेनुका प्रधान, प्रकाश घिमिरे, अञ्जना बराइली, कुमार गुरुङ, उज्ज्वल ढकाल, कपिल शर्मा, विनोद पौडेल, दीपेश गजुरेल लगायतको अभिनय देख्न सकिन्छ ।

महेश पौडेलको छायांकन रहेको फिल्ममा राजनराज शिवाकोटीको संगीत, अजय अधिकारीको कथा र मनीष गौतमको पटकथा एवं संवाद छ । सन्तोष अधिकारी आफैं कार्यकारी निर्माता एवं एसोसिएट निर्माता राज श्रेष्ठ हुन् । बनिश शाह र सन्देश शाहको संयुक्त सम्पादन रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ ।

पारिवारिक कथामा आधारित यो फिल्मले मन छोएको पोखरेली दर्शकले प्रतिक्रिया दिएका छन् ।

सन्तोष अधिकारी फिल्म्स्को ब्यानर एवं एएसएपी इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा बनेको ‘चित्रा’ १० वर्षमुनिका बालबालिकाले सित्तैमा हेर्न पाउने फिल्म युनिटले घोषणा गरेको छ ।

फिल्म नेपालभरको वितरणको जिम्मा पोखराकै केदार पराजुलीको श्रीकृष्ण फिल्म्स्ले लिएको छ । फिल्मको अस्ट्रेलियाको अधिकार अविनाश रोका मगरले लिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग